काठमाडौ- प्रहरी हिरासतमा रहेका ‘भीआईपी’ थुनुवाद्वय श्यामसुन्दर गुप्ता र सशस्त्र प्रहरीका डीआईजी रञ्जन कोइरालाबीचको चिनजानी पुरानो रहेछ । २०५१ सालतिर कोइराला रुपन्देहीको मर्चवार थानामा इन्स्पेक्टर छँदा गुप्ता त्यही क्षेत्रमा राजनीति गर्थे । ‘डीआईजी साबले मलाई बिर्सनुभएछ, तपाईं थाना इन्चार्ज हुँदा म त्यहाँ राजनीति गर्थे नि,’ गुप्ताले सम्झाएपछि कोइरालाले पुराना कुरा सम्भिmए ।
श्रीमती हत्याको अभियोगमा कोइराला र अपहरण अभियोगमा गुप्ता एउटै खोर पुगेपछि दुईबीच दोस्ती भएको छ । ‘गुप्ताका लागि घरबाट आउने रोटी दुवैले बाँडीचुँडी खाने गरेका छन्,’ ड्युटीका एक प्रहरी भन्छन् । सुरुमा क्यान्टिनको खाना खाएका कोइरालालाई २ दिनपछि गुप्ताले घरबाट आउने रोटी तरकारी खाने प्रस्ताव राखेका थिए ।
‘डीआईजी साब क्यान्टिनको खाना नखानुहोस्, मेरो घरमा पाकेको खाउँला,’ भनी गुप्ताले आग्रह गरेपछि दुवैले साथै खान थालेको ती प्रहरीले जनाए । कोइराला गुप्ताको कोठामा गएर रोटी, तरकारी र दाल गुप्तासँगै खाने गर्छन् । तर दुईबीच खासै गफ हुँदैन । किनकि गुप्ता नेताकै शैलीमा पटर-पटर बोलिरहन्छन् । तर कोइराला चुपचाप बसिरहन्छन्, हत्पत्ति बोल्दैनन् । माघ २ गते गुप्ता पक्राउ परेका थिए भने कोइराला ८ गते । दुवै उच्च रक्तचाप र मधुमेहका रोगी भएकाले साथै औषधि खान्छन् ।
राजनीतिमा धेरै वर्ष बिताएका गुप्ता हिरासतका पनि नेता बनेका छन् । बिहान ४ बजे उठेपछि आधा घन्टा जति ब्यायामका लागि साँघुरो खोरको फन्को लगाउँछन् । अरू थुनुवा जागेर भीडभाड हुनुअघि उनले नित्यकर्म सकाई सकेका हुन्छन् । भीड नहोस् पनि किन ? ११ वटा शौचालय ५ सय मान्छेले प्रयोग गर्नुपरेपछि ।
अघिल्लै दिन क्यान्टिनबाट थर्मसमा मगाएको चिया बिहानै पिउने गुप्ताको बानी छ । सँगै बस्ने अरू ९ जनालाई उठाएर चिया दिन्छन् । बिहान ७ बजे माइलो छोरा डाक्टर भाष्कर गुप्ताले १० वटा पत्रिका र लगाउने कपडा ल्याइदिने गर्छन् । ट्रयाकसुट लगाएर सुत्ने उनी सेता कमिज र पाइजामा र इस्टकोटमा ठाँटिएपछि पूरै नेता देखिन्छन् ।
आधा घन्टामा पत्रपत्रिका सर्सती हेरेर अरूलाई पढ्न दिने गरेका छन् । केही न केही गफ गरेर सबैलाई हँसाउनु उनको दिनचर्या बनेको छ । पहिला जेलमा बस्दाका, राजनीतिका कुरा गर्छन् । ‘गफ सुन्न थुनुवामात्र होइन हामी पनि उत्सुक हुन्छौं,’ प्रहरी भन्छन् । मनपर्ने नेताका रूपमा गिरिजाप्रसाद कोइराला र गजेन्द्रनारायण सिंहको चर्चा गुप्ता दोहोर्याइरहन्छन् । ‘यीबाहेक अरू कोही नेता नै होइनन्,’ गुप्तालाई उद्धृत गर्दै प्रहरी भन्छन् ।
गुप्ताको भेसमात्र होइन व्यवहार पनि नेताजस्तै छ । साह्रो गाह्रो परेकालाई उनी खाने कुरा दिन्छन् । सार्वजनिक मुद्दामा पक्राउ परी सानोतिनो रकम धरौटी तिर्न नसकेका चार जनालाई उनले पैसा हाल्दिएका छन् । कोही नयाँ व्यक्तिलाई पक्राउ गरेर ल्यायो भने गुप्ता कुन मुद्दामा किन ल्याएको भनेर सोध्छन् । ‘ल्याएको व्यक्तिले प्रहरीले फसायो, आफ्नो गल्ती छैन,’ भन्छन् । उनी तिनीहरूलाई ‘म मन्त्री त भित्र छु, किन चिन्ता गरेको भन्दै सम्झाउँछन् । माओवादीलाई ठेगान लगाउन अपहरणसम्बन्धी कानुन बनाइएको बताउने गुप्ता आफैं फसियो भनेर पछुतो पनि मान्छन् ।
खोरको अर्को कुनाको कोठामा बस्ने कोइराला दिनभर अंग्रेजी, हिन्दी र नेपाली भाषाका किताबमा घोत्लिरहेका हुन्छन् । उनको कोठाका अन्य १० थुनुवामा लागू औषध, कर्तव्य ज्यानलगायतका अभियुक्त छन् । तनावमा भइरहने कोइरालालाई गुप्ता सम्झाइरहेका हुन्छन् । ‘कारागार बस्नु ठूलो कुरो होइन, डीआईजी साब चिन्ता लिन पर्दैन, म बाहिर निस्केपछि तपाईंका लागि लड्छु,’ गुप्ता अर्ति दिँदै बोलिरहन्छन् ‘कोइराला मौन भएर सुनिरहन्छन् ।’
कान्छी श्रीमती भनिएकी तारा रेग्मीलाई पक्राउ गरेको खबर पढेका दिन कोइराला निकै तनावमा देखिए । समाचार पढेपछि उनको अनुहार रातो भयो । एकैछिनमा होसै गुमाएजस्ता भए । दिउँसो ३ बजेतिर उनले मुखबाट फिँज काढ्न थालेपछि प्रहरीले हतार-हतार वीर अस्पताल पुर्याएको थियो । डाक्टरले तुरुन्त गंगालाल अस्पताल लैजान सुझाए पनि उनी मानेनन् । तारालाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा राखिएको छ ।
हरेक दिन साँझ थुनुवा कक्षमा सबैलाई सामेल गराइन्छ । अदालत र अस्पताल गएका थुनुवा फर्किएर आएपछि बिरामी र अशक्तबाहेकलाई हिरासत भित्रकै साँघुरो ‘आँगन’ मा उभ्याइन्छ । अनि नाम लिएर बोलाइन्छ । गुप्ता हरेक दिन त्यो लाइनमा उभिन्छन् । हिरासत कक्ष इन्चार्जले श्यामसुन्दर गुप्ता भनेर नाम बोलाउँछन् । उनी हात उठाएर ‘यस सर’ भन्छन् । उनको नामको अगाडि पूर्वमन्त्री वा सभासद केही झुन्डिएको हँुदैन । तर पनि सबै थुनुवा उनको मुखमा हेर्छन् । कोइरालाचाहिँ बिरामी भएकाले उनलाई हाजिर गराइँदैन ।