Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक २४, २०८१
Saturday, November 9, 2024

काठमाडौं । एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्नेमा सहमत भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सहमतिको सरकारको उचित विकल्प तयार नहुँदासम्म प्रधानमन्त्रीले राजीनामा दिन नहुने निष्कर्ष निकालिएको मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्ताले जानकारी दिनुभयो।

व्यवस्थापिका संसद्मा समावेशी विधेयक लैजाने तयारी भइरहेको जानकारी दिँदै मन्त्री गुप्ताले अब बस्ने मन्त्रिपरिषद्को बैठकले त्यो विधेयक पारित गर्ने सहमतिसमेत आजको बैठकमा भएको बताउनुभयो। नेपाली सेनामा मधेसी युवाको प्रवेशका विषयमा पनि सरकारले तयारी गरिरहेको र यसलाई अझै गति दिने बैठकमा सहमति भएको छ। यसैगरी, शान्तिप्रक्रिया अगाडि बढे पनि संविधान निर्माणको काम अगाडि बढ्न नसकेको भन्दै सत्ता साझेदार दलहरू संविधान निर्माणको विषयमा प्रतिबद्ध भएर लाग्ने र संविधान निर्माणको विषयलाई एउटै कायम गर्नेसमेत निर्णय गरिएको छ।

यसैगरी, सरकारको कामकारबाहीका विषयमा पनि बैठकमा समीक्षा भएको र सरकारको कामलाई अझ प्रभावकारी बनाउने र जनताका दैनिक उपभोग्य वस्तुहरूमा देखिएको संकट समाधान गर्ने विषयमा पनि प्रभावकारी कदम चाल्ने सहमति भएको छ।

बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. भट्टराई र मधेसी मोर्चाका तर्फबाट मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं गृहमन्त्री विजयकुमार गच्छदार, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष एवं सूचना तथा सञ्चारमन्त्री गुप्ता, सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष एवं सिँचाइमन्त्री महेन्द्र यादव सहभागी हुनुहुन्थ्यो। ***

तपाईको प्रतिक्रिया