Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – जहाजबाट करोडौं मूल्यका पुर्जा र पांग्रा चोरी, ल्यान्डिङ गियर गायब, भारतीय नागरिकलाई नियुक्तिलगायतमा दोषी आरोपित कर्मचारीलाई नेपाल वायुसेवा निगमले निलम्बन गरेको छ। निगमले दोषी आरोपित आफ्ना १९ कर्मचारीमध्ये १६ लाई तत्काल निलम्बन गरी कारबाही सुरु गरेको हो। छानबिन समितिको प्रतिवेदनले तीन कर्मचारीलाई सामान्य दोषमात्र देखाएका कारण इन्जिनियरहरू राजेशप्रसाद श्रेष्ठ, प्रज्ज्वल श्रेष्ठ र शंकरराज करञ्जित निलम्बनबाट जोगिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका आरोपित अधिकृत रुद्रजंग बस्नेतलाई पनि प्राधिकरणले निलम्बन गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका चारलाई सामान्य प्रशासन र अर्थ मन्त्रालय तथा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका दुईलाई कम्पनीले नै कारबाही गर्नेछ। सरकारका उच्च अधिकारी सम्मिलिति छानबिन समितिद्वारा दोषी आरोपित २६ कर्मचारीका सम्बद्य निकायलाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कारबाही गर्न पत्राचार गरेपछि निगमले कारबाही स्वरूप आइतबार आफ्ना कर्मचारीलाई निलम्बन गरेको हो। ‘निलम्बनमा परेका कर्मचारीलाई अब छानबिनका लागि बोलाएर स्पष्टीकरण सोध्छौं,’ निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता राजुबहादुर केसीले भने, ‘त्यसका आधारमा कस्तो कारबाही गर्ने भन्ने टुंगो सेवा सर्तसम्बन्धी विनियमावली २०५८ अनुसार हुन्छ।’

निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले दोषी आरोपित कर्मचारीलाई निलम्बन र कारबाही गर्ने निर्णय गरेर व्यवस्थापनलाई प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। निलम्बनमा अधिकृत स्तरका १० र सहायक स्तरका ६ कर्मचारी परेका छन्। प्रवक्ता केसीका अनुसार निगमका तत्कालीन निर्देशक बद्रीनारायण झा, कार्यवाहक निर्देशक रवीन प्रधान, उपनिर्देशक दिगम्बर राजभण्डारी, तत्कालीन उपनिर्देशक अच्युतराज पहाडी, उपनिर्देशक सन्तोषकुमार खाती तथा इन्जिनियरहरू शंकरबहादुर थापा, अञ्जनदत्त कोइराला र रत्नकुमार मानन्धर निलम्बित भएका हुन्। झा, प्रधान, राजभण्डारी, पहाडी र खाती पनि इन्जिनियर हुन्।

त्यसैगरी वरिष्ठ अधिकृत सहदेवबहादुर क्षेत्री, स्टोर प्रमुख तथा इन्जिनियर कृष्णप्रसाद अर्याल, वरिष्ठ लोडर राजकुमार सञ्जेल, जुनियर असिस्टेन्ट कृष्णप्रसाद पुडासैनी, वरिष्ठ सहायक कन्हैया राजभण्डारी, वरिष्ठ लोडर सुशीलप्रसाद पौडेल, वरिष्ठ सहायक जनकबहादुर प्याकुरेल र वरिष्ठ लोडर ज्ञानीराजा रञ्जितकार पनि निलम्बित भएका छन्। ‘कारबाहीको टुंगो सकेसम्म चाँडै लाग्छ,’ प्रवक्ता केसीले भने, ‘निर्दोषले सफाइ पाउँछन, तर दोषीलाई कुनै हालतमा कारबाही हुन्छ।’ निगमका अनुसार छानबिन समितिको प्रतिवेदनले उपनिर्देशक पहाडी, उपनिर्देशक राजभण्डारी, कार्यवाहक निर्देशक प्रधान, उपनिर्देशक खाती, इन्जिनियरहरू कोइराला, मानन्धर र थापालाई साढे ४ करोड रुपैयाँ बराबरको ‘फ्लाइ अबे किट’ बाकस चोरी भएको विषयमा कारबाही सिफारिस गरेको छ।

जहाजका पांग्रा चोरी भएको विषयमा निगमका तत्कालीन इन्जिनियरिङ विभाग प्रमुख झा, इन्जिनियरहरू कोइराला, कारञ्जित, राजेशप्रसाद श्रेष्ठ र प्रज्ज्वल श्रेष्ठ तथा प्राधिकरणका अधिकृत बस्नेतलाई कारबाही सिफारिस गरिएको थियो। त्यसैगरी जहाजमा मुसा पसेको विषयमा वरिष्ठ अधिकृत क्षेत्री, वरिष्ठ लोडर पौडेल, वरिष्ठ सहायक प्याकुरेल र वरिष्ठ लोडर रञ्जितकार एवं भारतीय नागरिकलाई नक्कली नियुक्ति दिएको विषयमा उपनिर्देशक पहाडीलाई कारबाही सिफारिस गरिएको थियो। मन्त्रालयले गत मंसिर १८ मा महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता ठोकप्रसाद सिवाकोटीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो। ***

तपाईको प्रतिक्रिया