Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पटना- पूर्वी भारतको समथर गंगाभूमिमा फैलिएको बिहारलाई ‘बिचरो’ भनेर धेरै कथा बनाइएका छन्। हिंसा, गरिबी र भ्रष्टाचारको उर्वर भूमिको छवि यसले बनाएको छ। तर, नितिशकुमारले सन् २००५ मा सत्ताको बागडोर सम्हालेपछि यहाँ धेरै परिवर्तन भएका छन्। राज्यले नयाँ पहिचान निर्माण गर्न थालेको छ। धेरैले नितिशकुमारलाई देशकै भावी प्रधानमन्त्रीका रूपमा चित्रण गर्न थालेका छन्।
‘मेरो पहिलो प्राथमिकता शासन हो, दोस्रो प्राथमिकता शासन हो, र तेस्रो प्राथमिकता पनि शासन नै हो,’ बिहारको धुलाम्मे राजधानी पटनास्थित कार्यालयमा रोयटर्ससँग मुख्यमन्त्री नितिशकुमारले भने, ‘बिहार कुशासनले होइन, शासनकै सर्वथा अभावले पीडित हो।’
गरिब जनसंख्याको बाहुल्य रहे पनि पटनामा घरजग्गाको मूल्य केन्द्रीय राजधानी दिल्लीकै हाराहारी पुगेको छ। दुई दशकअघि सुधार कार्यक्रम सुरु गर्दा भारतको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा कम थियो। पश्चिमाहरूले अर्थतन्त्रको यो सुस्त गतिलाई ‘हिन्दु रेट अफ ग्रोथ’ नाम दिएका थिए। बिहारको वृद्धिदर त मुलुककै औसतभन्दा कम थियो।
बिहार अझै भारतका गरिब राज्यमा पर्छ। यो भूपरिवेष्ठित राज्यमा पर्याप्त स्रोत छैन। वर्षेनी बाढीको प्रकोप झेल्न बाध्य छ। यहाँको प्रतिव्यक्ति आय ४ सय अमेरिकी डलर छ, जुन राष्ट्रिय औसतको एक तिहाइ हो। दस करोड ४० लाख जनसंख्यामध्ये बहुसंख्यक कृषिमा निर्भर छन्। साक्षरता दर र प्रतिव्यक्ति बिजुली खपतका आधारमा यो अझै देशकै पिछडिएको राज्य हो। राष्ट्रसंघको मानव विकास सूचकांकमा पनि यसको स्थान सबभन्दा तल छ।
नितिशकुमार शासनमा आएपछि बिहारको आम्दानी २ सय ५० प्रतिशत बढेको छ। तीव्र आर्थिक वृद्धि गर्ने राज्यहरूको सूचीमा दोस्रो स्थान बनाएको यसको वृद्धिदर दोहोरो अंकमा रहन थालेको छ। सडक तथा आवास निर्माणमा राज्यले ठूलो लगानी गरेको छ। होटल, रेस्टुरेन्ट लगायत सेवा क्षेत्रको व्यापक विस्तार भइरहेको छ।
कमजोर आर्थिक आधार
हिंसा र अपराधमा कमी आउन थालेपछि बिहारमा लगानीको चासो बढ्न थालेको छ। प्राकृतिक स्रोतमा धनी झारखण्डलाई सन् २००० मा बिहारबाट अलग्याइयो। अहिले बिहारको ९० प्रतिशत जनसंख्या कृषिमा आश्रित छ।
बिहारमा स्थापना गरिएका उद्योगले १० वर्ष अवधिमा लगानी गरिएको पुँजीको तीन सय प्रतिशतसम्म भ्याट फिर्ता पाउन सक्छन्। यसबाहेक थुप्रै सुविधा लगानीकर्तालाई दिइएको छ।
‘उनले मरुभूमिमा घाँस उमार्न सकिन्छ भन्ने देखाएका छन्,’ पटना नजिकैको हाजीपुर औद्योगिक क्षेत्रमा बिस्कुट उद्योग स्थापना गरेका प्रेमकुमार अग्रवालले भने।
यो औद्योगिक क्षेत्रमा पछिल्लो ६ महिनामा आधा दर्जन उद्योग खुलेका छन्। तीन सय कामदारलाई रोजगार दिएको अग्रवालको उद्योगले दैनिक ७० देखि ७५ टन बिस्कुट उत्पादन गर्छ। ‘औद्योगिक नीतिमा म नितिशकुमारलाई १० मा ९ अंक दिन्छु,’ उनले भने, ‘बिहार बल्ल औद्योगिक नक्सामा देखा पर्न थालेको छ।’
नयाँ कारखानाले बिहारको औद्योगिक क्षेत्रको वास्तविक अवस्था भने दर्शाउँदैन। औद्योगिक क्षेत्रमा खाली छाडिएका थुप्रै भवन छन्। औद्योगिक क्षेत्र जोड्ने सडकका खाल्डाखुल्डीले चरम दुरावस्था देखाउँछ। सडकमा राखिएका फलामे डिभाइडरमा खिया परेका छन्।
उत्पादनमूलक क्षेत्रले बिहारको आर्थिक वृद्धिमा थोरै योगदान गर्छ। लोडसेडिङ, राजमार्गको जाम र मौलाएको घुसखोरीका कारण लगानीकर्ताहरू बिहारमा पुँजी हाल्न हच्किन्छन्। गत वर्षको आर्थिक स्वतन्त्रता श्रेणीमा बिहार सबभन्दा पछि परेको छ।
सरकारी तथ्यांकमा कृषि उत्पादन पनि पछिल्लो ६ वर्षकै सबभन्दा कम छ। बिहारको आर्थिक वृद्धि समावेशी छैन। ठूलो परिमाणको सरकारी खर्चले नै आर्थिक वृद्धि थेग्दै आएको छ। यसलाई दीगो बनाउने चुनौती नितिशकुमारसामु छ।
समुद्रसँग जोडिएका औद्योगिक राज्यका तुलनामा अरू राज्य पिछडिएका छन् भन्ने उदाहरण हो, बिहार। भूपरिवेष्ठित राज्यको आर्थिक आधार कमजोर भएको यसले देखाउँछ। एसियाली विकास बैंक (एडिबी) अनुसन्धान केन्द्रका सचिव सैबाल गुप्ताका अनुसार अहिलैकै दरमा आर्थिक वृद्धि गर्ने हो भने हालको महाराष्ट्र बराबर हुन बिहारलाई १८ वर्ष लाग्छ।
‘बिहारको उन्नतिलाई आश्चर्य भन्न सकिँदैन,’ उनले भने, ‘सकारात्मक विकासको प्रारम्भिक लक्षण देखा परेका छन्। यो ६० वर्षअघि देखिनुपर्थ्यो।’
विश्वास पुनर्स्थापना
नितिशकुमारले उच्च आर्थिक वृद्धि हासिल गर्नुभन्दा उच्च स्तरको काम गरेका छन्। पछिल्लो ६ वर्षमा उनले मध्यरातसम्म काम गर्दै आएका छन्। उनले अपराध र भ्रष्टाचारविरुद्ध युद्ध छेडेको घोषणै गरेका छन्। नागरिकले सार्वजनिक सेवा सुलभ रूपमा प्राप्त गर्ने ऐन लागु गरेका छन्। नौ कक्षा पुग्ने सबै छात्रालाई साइकलको व्यवस्था गरेका
छन्।
‘विगतका विकृति लगभग सुन्य भएका छन्,’ बलिउडका चर्चित फिल्मकर्मी प्रकाश झाले भने। झाले बिहारमा कुनै बेला फस्टाएको अपहरण उद्योगमा आधारित रहेर ‘अपहरण’ नामको फिल्म बनाएका थिए।
‘नितिशकुमारले बिहारी समाजमा विश्वास पुनर्स्थापना गरेका छन्,’ उनले भने, ‘हामीले हार मानिसकेका थियौं, तर अहिले केही गर्न सकिन्छ भन्ने लाग्न थालेको छ।’ झा आफैंले पटनाको पहिलो सपिङ मल र मल्टिप्लेक्स सिनेमामा झन्डै ६० करोड भारू लगानी गरेका छन्।
नितिशकुमारका आलोचक नभएका होइनन्। आलोचकहरू उनलाई ‘सबै अधिकार आफूमा केन्द्रित गरेको’ र ‘कामभन्दा कुरा धेरै गर्ने मान्छे हुन्’ भन्छन्। ‘यो डेन्टिङ-पेन्टिङ र साजसज्जा गर्नेहरूको सरकार हो,’ विपक्षी नेता अब्दुलबारी सिद्धिकी भन्छन्, ‘जे जति भएका छन् ती सबै सतही हुन्। नितिशकुमार पहिले नहर खन्छन् र त्यसैमा पुल बनाएर दुईचोटि उद्घाटन गर्छन्।’
मानवताः आदर्श 
मुख्यमन्त्रीको कार्यालयभित्र विभिन्न संघसंस्थाले उनलाई सम्मानस्वरुप दिएका थुप्रै ‘इन्डियन अफ दी इयर’ ट्रफी सजाइएका छन्। भित्तामा स्वतन्त्र भारतका पिता महात्मा गान्धीको एउटै मात्र चित्र टाँगिएको छ।
नितिशकुमारका पिता बेलायती शासनविरोधी स्वतन्त्रता सेनानी थिए। उनी भने स्वतन्त्रता संग्रामको नेतृत्व गरेको कंग्रेस र नेहरू-गान्धी परिवारवादको सधैं तीव्र आलोचक रहे। ‘उनले कुनै राजनीतिकवादलाई भन्दा मानवतालाई आदर्श बनाएर अगाडि बढे,’ वरिष्ठ सञ्चारकर्मी तथा राजनीतिक विश्लेषक एमजे अकबर भन्छन्। ६० वर्षीय नितिश पनि ‘जनमुखी’ र ‘गरिबमुखी’ नीतिलाई आफ्नो शासनको प्रमुख आधार भन्छन्।
इन्जिनियरिङका विद्यार्थी नितिशकुमार सुरुमा राज्य र त्यसपछि दिल्लीको संसदमा सदस्य चुनिएर राजनीतिमा स्थापित भएका हुन्। भारतीय जनता पार्टी (बिजेपी) नेतृत्वको संयुक्त सरकारमा उनी रेलमन्त्री थिए। राजनीतिक गठबन्धनमा उनको जनता दल अझै बिजेपी निकट छ। बिजेपीसँगको निकटताले उनलाई सन् २०१४ मा प्रधानमन्त्रीको बलियो उम्मेदवार बनाउने अनुमान गरिएको छ।
उनी आफैं भने यसलाई खुलेर स्वीकार गर्दैनन्। ‘साँचो होइन,’ उनले भने, ‘म मेरै जनतालाई सेवा गर्न पाउँदा सन्तुष्ट छु। मेरो कुनै महŒवाकांक्षा छैन। मेरो त्यस्तो कुनै चाहना छैन।’
पटनामा लामो समय बस्दा बेचैन हुने नितिशकुमार बिहारका ३८ जिल्लामा घुमिरहन्छन्। गाउँगाउँ र गल्लीगल्लीमा सर्वसाधारणसँग कुराकानी गर्छन्। यी कुराकानीपछि जिल्ला प्रमुखहरूसँग बैठक हुन्छ। उनी जनताका समस्या शीघ्र समाधान गर्न निर्देशन दिन्छन्।
‘बत्तीमुनिको यो अँध्यारो किन?’ हालैको यस्तो बैठकमा नितिशकुमारले जिल्लाका अधिकारीलाई सोधे। पटना वरपरका गाउँमा स्कुल जाने बालबालिकालाई निःशुल्क खानाको व्यवस्था प्रभावकारी नभएको रिपोर्ट आएपछि उनले यस्तो प्रश्न गरेका थिए। ‘यो राजधानी हो, तपाईं सबै यहाँ बस्नुहुन्छ, यो स्थितिमा सुधार हुनुपर्छ,’ उनले भनेका थिए।
जातीय राजनीति 
बिहार कुशासन, अपराध, भ्रष्टाचार र गरिबीसँगै जातीय राजनीतिमा गाँजिएको छ। माथिल्लो र तल्लो भनिएका जाति समूहले आफ्नै सुरक्षा दस्ता बनाएका छन्। एकले अर्कालाई हत्या गर्ने र आमसंहारका घटना यहाँ आम थिए।
जातीयतामा आधारित राजनीतिलाई लालुप्रसाद यादवले सन् १९९० देखि मलजल गरेका हुन्। पिछडिएको अल्पसंख्यक समुदायबाटै आएका नितिशकुमारले लामो समय यादवसँगै राजनीति गरेका हुन्। ‘जातीयता भारतीय समाजको यथार्थ हो,’ उनी भन्छन्, ‘मैले चुनावी नतिजा जातीयताले मात्रै निर्धारण गर्दैन भन्ने पुष्टि गरेको छु।’
नितिशकुमारको लाखौं प्रयासपछि पनि बिहारमा भ्रष्टाचार विकराल समस्याका रूपमा कायम छ। उनले दुई भ्रष्ट अधिकारीको घर खोसेर विद्यालय बनाए। यस्ताखाले थुप्रै कारबाही भएका छन्। आलोचक भने नितिश आफ्ना वरिपरि हुने भ्रष्टाचारप्रति सहनशील देखिएको आरोप लगाउँछन्।
विधिको शासनमा पनि बिहार पछाडि छ। सन् २०१० को एक सर्वेक्षणअनुसार हिंसात्मक घटनामा सबभन्दा धेरै मान्छे मारिने र अवैध हतियार जफत हुने आधारमा बिहार मुलुकको दोस्रो राज्य बनेको थियो। तथापि सर्वसाधारण ग्रामीण इलाका घुम्न र साँझ घरबाहिर निस्कन पहिलेभन्दा अहिले कम डराउँछन्।
‘पाँच वर्षअघि गयाबाट पटना आउनुपर्‍यो भने यहाँ आइपुग्दा रात नपरोस् भनेर दिउँसो तीन बजेअघि नै निस्कने गर्थ्यौं,’ निर्माण व्यवसायी नवेन्दुकुमार ठाकुरले भने, ‘अहिले रातको नौ बजे हिँड्दा पनि फरक पर्दैन।’
प्रहरी र अदालतप्रतिको विश्वास पुनर्स्थापना प्रमुख प्राथमिकतामा रहेको नितिशकुमार बताउँछन्। ‘बिहार जहिले पनि नकारात्मक समाचार बन्यो,’ उनी भन्छन्, ‘म विधिको शासन सुनिश्चित गर्न चाहन्छु।’
तपाईको प्रतिक्रिया