बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024
काठमाडौं– नारायणहिटी राजदरवार संग्रहालय राजतन्त्रको पतनपछि सबैका लागि खुला गरिएता पनि सो दरवार संग्रहालयमा शाहवंशका धरोहर श्रीपेच प्रदर्शन गरिएको छैन ।
सबैको चासो र उत्सुकताको रुपमा रहेको पूर्वराजाका मुकुट श्रीपेच एउटा बन्द बाक्स भित्र राखेर थन्काइएको छ । संग्रहालयमा प्रदर्शनका लागि राख्नु पर्ने सर्वसाधारणको मागलाई वेवास्ता गर्दै श्रीपेच खोल्न इन्कार गरिए पछि श्रीपेचका प्वाँख कुहिन लागेको थाहा भएको छ । सो प्वाँख संरक्षणका लागि विशेष प्रकारको केमिकल प्रयोग गरी श्रीपेचलाई हावामा राखी सुकाएर पुनः शिशाको बाकस भित्र राख्नु पर्ने सुझाव संरक्षणविद्हरुले दिएका छन् । सरकारी हेलचक्र्याईले गर्दा यो दुर्लभ श्रीपेच जसमा हिरा जुवाहरात पनि जडित छ चोरी हुने डर रहेको चर्चा छ ।
जनताका सम्पत्ति अब सरकारले संरक्षण र प्रदर्शन गर्न गम्भीर हुनुपर्ने खाँचो औंल्याइएको बेला सरकारले यसतर्फ ध्यान दिनै पर्ने जरुरी छ । संग्रहालय अवलोकन गर्न आउने सर्वसाधारणले शाहवंशीय राजाहरूले प्रयोग गर्दै आएको श्रीपेच हेर्न अभिरुची देखाउँदै आएका छन् । मासिक २० हजारले अवलोकन गर्ने संग्रहालय शुरुदेखि अहिलेसम्म १९ वटा कक्षमै सीमित छ । श्रीपेच बाहेक राजाको सचिवालय र दरवार हत्याकाण्ड भएको त्रिभुवन सदनको पुनर्निर्माण गर्ने सरकारी प्रतिवद्धतामा कुनै प्रगति हुन नसकेको त्यहाँका अधिकारी सुनाउँछन् ।
शुरूमा राजा बस्ने घर कस्तो हुन्छ भन्ने विज्ञासा अधिकांशमा थियो, कार्की भन्छन्, थप वस्तु नसमेटिएकाले त्यो जिज्ञासा कम हुँदै जान थालेको छ । संग्रहालयमै भेटिएका कीर्तिपुरका नारायण सापकोटा भने सुरक्षाको कारण श्रीपेचलाई राख्न नसकिएको लख काट्दै छन्  ।
पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी छाडेपछि २०६५ जेठ १९ गते दरबारकै सेलुन कक्षभित्र फलामको सेफमा श्रीपेच राखिएको संग्रहालय प्रमुख बताउँछन् । त्यसपछि सेफ खोलिएको छैन । कीराले नखाओस् भनेर फिनेल राखेर छाडेका थियौं, लाहाछाप लगाउने काममा सहभागी नारायणहिटीका संग्रहालयका अधिकृत भुवन बहादुर कार्की भन्छन्, सामान्य रुपमा श्रीपेचको प्वाँख झरे पनि त्यसमा धेरै क्षति हुने अवस्था छैन ।
उतिबेला विभिन्न मन्त्रालयका सचिव र दरवारका कर्मचारी सहित दर्जनको लाहाछाप लगाएर श्रीपेच सुरक्षित गरेका थिए । श्रीपेच राखिएको कोठाबाहिर २४ घण्टे सुरक्षाको बन्दोबस्त छ । गुरुयोजना निर्माण समितिका संयोजक तथा पुरातत्व विभागका महानिर्देशक विष्णुराज कार्कीका अनुसार लाहाछाप लगाउँदा सहभागी सबैको रोहवरमा खोलेपछि शुरूमा श्रीपेचको अध्ययन गरिनु पर्छ । यसका लागि समितिले महिना दिन अघि संस्कृति मन्त्रालयलाई पत्र पठाए पनि प्रतिक्रिया आएको छैन । प्रदर्शनीमा श्रीपेच राख्नु अघि सोकेस डिजाइन र सुरक्षा व्यवस्थाको बन्दोबस्त मिलाइने उनले बताए ।
शाहा राजाहरुले प्रयोग गर्दै आएको श्रीपेच अमूल्य हीरा, मोती, पन्ना, जवाहारत लगायत धातुका साथै दुर्लभ अफ्रिकी चरा कल्कीको पुच्छर जडित छ । करिव साढे २ किलो तौल अनुमान गरिएको श्रीपेच पृथ्वीनारायण शाहकै पालामा बनाइएको भए पनि पटक पटक परिमार्जित हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया