Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ – चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पुस अन्तिम साता भएको नेपाल भ्रमण क्रममा विमानस्थलमा भएको अशोभनीय व्यवहारलाई सम्बद्ध अधिकारीले ‘अन्तर्राष्ट्रिय प्रचलन कायम गर्न त्यसो गर्नुपरेको’ जवाफ दिएका छन् ।
परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मुक्तिनाथ भट्टले बिहीबार व्यवस्थापिका संसद्को सुनुवाइ विशेष समितिमा प्रधानमन्त्री वेनमाथि भएको व्यवहारबारे जवाफ दिँदै ‘विशिष्ट अतिथिलाई प्रचलनअनुसार दाहिने पार्ने गरी तस्बिर खिच्ने व्यवस्था मिलाउन’ प्रधानमन्त्रीलाई तान्नु परेको स्पष्टीकरण दिएका थिए ।
डेनमार्कका लागि प्रस्तावित राजदूत भट्टलाई एमाले सभासद भीम आचार्यले जिज्ञासा राखेका थिए । त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा आगन्तुक प्रधानमन्त्रीलाई स्वागत गर्न लाग्दाको असहज स्थितिबारे भट्टले कुर्सीबाट उठेर हाउभाउसहित स्पष्टीकरण पेस गरेका थिए ।
‘शिष्टाचार मिलाउने क्रममा मैले हाम्रा प्रधानमन्त्री बाबुराम भट्टराईलाई पनि धकेलेको थिएँ, तर त्यो दृश्य भने मिडियामा नआएकाले चिनियाँ प्रधानमन्त्रीको हात तानिएको दृश्य मात्रै चर्चामा छायो,’ भट्टले भने । उनले विमानस्थलको विशिष्ट कक्षको बनोट गलत भएकाले पनि यो समस्या आएको भन्दै त्यो बनावट र प्राविधिक पक्षबारे सम्बद्ध पक्षसँग कुराकानी सुरु भएको जानकारीसमेत गराए । कतिपय अवस्थामा शिष्टाचार महापालले अत्यन्त छोटो अवस्थामा निर्णय गर्नुपर्ने बताउँदै उनले यही ‘प्रोटोकल’ मिलाउने क्रममा त्यस्तो स्थिति आइपरेको बताएका थिए ।
प्रधानमन्त्री वेन विमानबाट उत्रनासाथ चीन सरकारका शिष्टाचार महापालले आगन्तुक प्रधानमन्त्रीलाई दायाँपट्टी पारेर औपचारिक तस्बिर खिच्ने प्रबन्ध मिलाउन आफूलाई आग्रह गरेको उल्लेख गर्दै भट्टले भने, ‘कि मैले यो छोटो समयमा यसो गर्न सक्दिन भन्नुपथ्र्यो अथवा कि त म सकेसम्म सबै प्रयत्न गर्नेछु भन्नुपथ्र्यो । मैले दोस्रो जवाफ दिएर शिष्टाचार मिलाउन खोजेको हुँ ।’ प्रस्तावित राजदूतको प्रदर्शनीसहितको जवाफपछि सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङ, आमोदप्रसाद उपाध्यायसहितका सभासदहरूले हाँस्दै ‘भट्टको जवाफ चित्तबुझ्दो रहेको’ बताएका थिए ।
बिहीबार भट्टसहित परराष्ट्रका सहसचिवहरू शंकरदास बैरागी खनाल (जेनेभा) र रुद्रकुमार नेपाल (अस्ट्रेलिया) समेतको संसदीय सुनुवाइ पूरा भएको छ । गोर्खा मूल घर भएका ५५ वर्षीय भट्ट, पर्वतका ४६ वर्षीय बैरागी र पाल्पाका ५६ वर्षीय नेपालपछि बाँकी सात जना प्रस्तावित राजदूतको सुनुवाइ शुक्रबार हुने भएको छ ।
कान्तिपुरबाट
तपाईको प्रतिक्रिया