Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ- सार्वजनिक लेखा समितिले माओवादी सेनाको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिको सचिवालयलाई वर्गीकरणमा उपस्थित नहुने लडाकूको नाम, सङ्ख्यासहितको अद्यावधिक सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिको आजको बैठकमा विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा, सुर्खेत र कैलाली समेत सातवटा शिविरमा रहेका माओवादी सेनाका लडाकूको विवरण प्रस्तुत गरेका थिए।
विवरणमा सातवटा शिविरमा अनमिनले प्रमाणित गरेका लडाकूको सङ्ख्या १९ हजार ६०२ रहेकामा हालै भएको अद्यावधिक कार्यमा १७ हजार ७६ मात्र लडाकू संलग्न रहेको देखाइएको छ। त्यसमध्ये महिला तीन हजार ५६० जना र पुरुष १३ हजार ५१६ जना रहेका छन्। पछिल्लो अद्यावधिकसम्म आइपुग्दा अनमिनको प्रमाणितपछि ९४ जना लडाकूको मृत्यु भएको तथा दुई हजार ४३२ लडाकूको सङ्ख्यामा कमी आएको विवरणमा उल्लेख छ।
पछिल्लो वर्गीकरणअनुसार सेनामा समयोजनका लागि एक हजार ३४ महिलासहित नौ हजार ७०५ लडाकूले इच्छा व्यक्त गरेका छन्। दुई हजार ५२५ महिलासमेत गरी सात हजार ३६५ जनाले स्वेच्छिक अवकाश रोजेका छन्।
त्यसैगरी ६/६ जना महिला र पुरुष लडाकूले पुनःस्थापनाका लागि निवेदन दिएको सचिवालयले जनाएको छ।
शिविरमा हुँदै नभएको सङ्ख्या कायम गरी एनेकपा माओवादीले लडाकूको नाममा गएको ठूलो परिमाणको रकम दुरुपयोग गरेको भनी संसदमा प्रतिपक्षीहरुले आरोप लगाएको र सञ्चारमाध्यमले समेत यो विषयलाई उठाएपछि सार्वजनिक लेखा समितिले यसमाथि अध्ययन गरिरहेको छ।
तपाईको प्रतिक्रिया