काठमाडौं- काम विशेषले गत साता भारत अएका वेष्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा नेपाल आउने प्रयासमा रहेका छन् । यसका लागि उनले नेपाली क्रिकेट पदाधिकारीसँग आफ्नो सन्देश पुर्याउन सफल भएका छन् । नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुर्यालले उक्त कुराको पुष्टि गरेका हुन् ।
‘यस सम्बन्धमा मलाई टलिफोन आएको थियो । जसमा लारा कोलकताको कन्सुलेट जनरलसँग भएको र उनी नेपाल आएर यहाँको क्रिकेट पदाधिकारी तथा खेलाडीसँग भेट्न उत्सुक रहेको बताइएको थियो’ प्याकुर्यालले भने ।
उनले यस सम्बन्धमा कन्सुलेट जनरलले आफूलाई सम्पर्क गर्ने भनेको र आफू त्यसका लागि पर्खी बसेको बताए ।
‘नभए भोलि (मंगलबार)सम्म म आफैले टेलिफोन गर्ने छु ।’ प्याकुर्यालले भने।
१ सय ३१ टेस्ट म्याच खेलेका लाराले ५२ दशमलव ८८ औसत सहित कूल ११ हजार ९ सय ५३ रन बनाएका छन् । जसमा ३४ शतक तथा ४८ अर्धसतक सामेल छ । उनको सर्वाधिक व्यक्तिगत स्कोर अविजित ४ सय रन रहेको छ ।