Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- तास खेलेर बस्नेहरूलाई अपराध गरेको भन्दै पक्रेर ल्याउने प्रहरी आफैँ भने प्रहरी चौकीमा बसेर तास खेल्नु कत्तिको सुहाउँछ ? नसुहाउनुपर्ने हो । तर, महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी जवान भने ‘डिउटी’ नै छोडेर छतमा बसेर तास खेलेरै समय बिताउँछन् ।
उनीहरूलाई कारबाही त परको कुरा भयो, वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कृष्णबहादुर पल्लीमगर आफैँ यसमा बेखबर रहेको बताउँछन् । स्थानीयलाई प्रहरीले गरेको दुव्र्यवहारविरुद्ध प्रमुख पल्लीमगरकहाँ उजुरी पुग्दा पनि उनले जनतालाई राहत दिएनन् । एक स्थानीय बासिन्दा भन्छन्- ‘वृत्तका प्रहरीहरूले मदिरामा लठ्ठ परेर डिउटी गर्ने र हामीलाई राइफल ताक्ने, बाइक धकेल्ने गरेको महिनौँ भयो, तर अझै रोकिएको छैन ।’
वृत्तकी प्रहरी निर्मला तिवारीले मदिरा सेवन गरी डिउटीकै अवस्थामा सर्वसाधारणलाई दुःख दिइरहेकी छन् । स्थानीय बासिन्दा भन्छन्- ‘डीएसपी सा’बले समेत सुनेको नसुन्यै गरे, कुन्नि किन हो, थाहा छैन ।’ तिवारीलगायतको समूहले रात-साँझ पारेर सर्वसाधारणको मोबाइल लुट्नेसमेत गरेको बताइन्छ । डीएसपी पल्लीमगर भने विगतमा यस्तो क्रम रहे पनि अहिले कमी आएको बताए ।
उनले भने- ‘ती तिवारी केटीले त्यसो गरेको भन्ने मैले पनि सुनेको हुँ, मैले बेस्सरी हपारेपछि अहिले रोकिएको छ ।’ उता चौकीमै तास खेलेको भन्ने कुरा चाहिँ असत्य रहेको उनले दाबी गरे । ‘मकहाँ उजुरी नगरी तपाईंकहाँ रिपोर्ट पुर्‍याउने को हो त्यो ? मैले तास त खेल्न दिएकै छैन’- उनले भने- ‘केही समस्या रहे पनि तत्काल समाधान हुन्छ ।’ हवल्दार मेजर केशव कार्की र प्रहरी नायब निरीक्षक रामबहादुर कार्कीको तासप्रेम बढिरहेका वृत्त स्रोतले बतायो ।
उता, सोही वृत्तका प्रहरी नायब निरीक्षकत्रय रामबहादुर कार्की, राजु सुवेदी र भुवन खड्काको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको दाबी गर्दै छानबिनका लागि प्रधान कार्यालयमा उजुरी परेको छ । यस्तै, महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरी नायब निरीक्षक राजेन्द्रकुमार सिटौला पनि हेडक्वार्टर कानुन शाखाको छानबिनमा परेको बताइन्छ ।
पल्लीमगर आफैँ गोङ्गबु, बालाजु क्षेत्रको बालुवा तस्करीमा दिनरात नभनी लागेकाले कार्यालयको आन्तरिक समस्या हेर्न नभ्याएको स्थानीयको आरोप छ । यसअघि पनि बालाजु चौकीमा प्रहरीहरूले भीमढुङ्गा गाविसमा खसीको मासु पसल खोलेर बाख्राको मासु बेचको भन्दै उजुरी परेपछि छापा मारिएको थियो ।
तपाईको प्रतिक्रिया