Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका पूर्वसभापति कृष्णबहादुर कार्कीको शुक्रबार बिहान निधन भएको छ ।
७३ वर्षीय कार्कीको नवलपरासीस्थित निवासमा बिहान ८ बजे निधन भएको हो । उनी लामो समयदेखि मृगौला रोगबाट पीडित थिए ।
विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय कार्कीले लुम्विनी दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् । पछिल्लो समय पनि सोही दैनिकमा आवद्ध कार्कीले महासंघ नवलपरासी शाखाको तीन पटक नेतृत्व गरेका थिए ।
पटकपटक महासंघमा केन्द्रीय प्रतिनिधि र विभिन्न समितिहरुमा रही महासंघको संस्थागत विकासका साथै स्थानीय पत्रकारिताको विकासमा समेत योगदान पुर्‍याएका कार्कीको निधनप्रति नेपाल पत्रकार महासंघले शोक व्यक्त गरेको छ ।
‘महासंघ परिवारले एक इमानदार, अनुभवी, कुशल र अग्रज सदस्यलाई गुमाउनु परेको छ । महासंघले यसलाई पत्रकारिता जगतको अपूरणीय क्षतिको रुपमा लिएको छ । उहाँले पुर्‍याउनु भएको योगदानको महासंघले सदा स्मरण गरिरहनेछ,’ महासचिव ओम शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । स्वर्गीय कार्कीका श्रीमती, तीन छोरा र एक छोरी छन् ।
नेपाल पत्रकार महासंघले स्वर्गीय कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । उसले शोकको यस घडीमा धर्मपत्नी, छोरा र छोरीसहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
तपाईको प्रतिक्रिया