Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – इटलीको पश्चिम तटीय क्षेत्रस्थित कोस्टा कोन्कोर्डिया गिल्लियो टापु नजिक समुद्री किनारमा शुक्रबार राति दुर्घटनामा परेको पानीजहाजमा ६ नेपाली पनि थिए । भाग्यवश जहाजमा रहेका सबै नेपालीको सकुशल उद्धार हुन सक्यो । तीन हजार २ सय यात्रु र एक हजार कर्मचारी बोकेको जहाज डुब्दा तत्काल ३ को मृत्यु भएको थियो भने ७० जना हराएका थिए । जहाजमा काठमाडौंका पोखरा म्याक्रेजी प्रोडक्टका सञ्चालक प्रकाशमोहन भट्टराई, उनकी श्रीमती र दुई छोरा, काठमाडौंको होटल सांग्रिलामा बुटिक व्यापार गर्दै आएकी पूर्णिमा शाही र युनिसेफमा कार्यरत मञ्जुलाराज कर्णिकार थिए । तीमध्ये सम्पर्कमा आएका प्रकाशमोहनले इटलीबाट सुनाएको आफू, परिवार र अरू नेपालीहरू बाँचेको विवरण :

जनवरी ११ तारिख काठमाडौंबाट इटली उड्यौं । छोराहरूको बिदा भएकाले क्रुज पानीजहाजमार्फत यात्रा गर्ने योजना बनाएका थियौं । श्रीमती रूपा, छोराहरू प्रज्ज्वल र रोहन थिए । १२ तारिखमा क्रुजमा पुगियो । २ सय ९० मिटर लामो पानीजहाजमा दिनभर फोटोहरू खिचियो । हामी सात तलाको ‘३०३’ नम्बर कोठामा बस्थ्यौं । जहाज रोमनजिक सिभिटाभेच्चिया बन्दरगाहबाट मार्सेली जाँदै थियो ।

बेलुका ६:३० बजे डिनरमा सबैलाई बोलाइएको थियो । दिनभरको थकानका कारण खानापछि ७:३० मा कोठाभित्र आयौं । राति ९ बजेतिर एक्कासि बम पड्किएको आवाज आयो ।

त्यसको एकछिनपछि जहाज बायाँ साइटतिर विस्तारै पल्टियो । सबै सामानहरू त्यतै बग्यो । जेठो छोरो प्रज्ज्वलले ‘टाइटनिक’ को सम्झना गरायो । त्यतिखेर साइरन एकनासले बजिरह्यो । माइकमा भनिँदै थियो, ‘जेनेटरले काम गरेन, सुरक्षित भएर बस्नुहोला ।

त्यतिखेर बत्ती थिएन । सरसामान केही झिक्न पाइएन । त्यसको केही समयपछि जहाज फेरि दायाँतिर ढल्कियो । फेरि साइरन एकोहोरो बझिरह्यो । माइकले छिटो जहाज छाडेर उद्धार कक्षमा आउन भनिरहेको रहेछ, हामीले भाषा नबुझेकाले केही बुझेनौं । पछि मात्रै थाहा पायौं । हतार-हतार एउटा सानो सुरुङ जस्तो ठाउँबाट चार तलामा जानुपर्ने थियो ।

कान्छो छोरोलाई मैले आफ्नो काखमा राखेँ । श्रीमतीलाई जेठो छोराले नियन्त्रणमा लियो । सुतेर हिँड्नुपर्ने भएकाले बल्ल-बल्ल उद्धार कक्षमा पुग्यौं । त्यहाँ पुग्दा अत्तालिएका यात्रुहरूको भीड र ठेलमठेल थियो । उद्धार भएर जान निकै कठिनाइ लाग्यो । आधाघन्टा पछि जहाज छेउतिर आयो । उद्धारमा खटिएका एक जना भारतीय कामदारलाई उद्धार गर्न निकै आग्रह गर्‍यौं । उनले बोटमा हालिदियो । जहाँ एक सय ५० जना अट्ने रहेछ । त्यति यात्रु चढिसकेपछि बोटलाई समुद्रमा झार्नुपर्दो रहेछ । जुन निकै जोखिमपूर्ण थियो । फेरि बोटलाई बाँधेको सिक्री खुल्दैखुलेन । निकै तनाव भयो । सबैजना आत्तिएकाले काममा समेत बाधा परिरहेका थियो । कामदारहरूले बल्ल-बल्ल सिक्री फुकाल्न सफल भए । त्यसिपछि बोट समुद्रमा खस्यो । समुद्र र बोट रहेको उचाइ तीस मिटर जति थियो । जोडसँग खस्ता सबै डुब्छ जस्तो भयो । धन्य केही भएन । त्यसपछि नजिकको टापुमा लग्यो ।

टापुमा पुगेपछि बाँचिएकोमा निकै धन्य सम्झियौं । सबैलाई सम्झियौं । गुमेको होसहवास पुनः आयो । त्यतिखेर हामीले लगाएको कपडाबाहेक केही थिएन । झन् हामी श्रीमान्-श्रीमती त नाइटडे्रसमा मात्र थियौं । छोराहरूलाई त्यहाँको स्थानीय बासिन्दाले जाकेटहरू दिए । हामीले पनि एकसरो कपडा पायौं । हाम्रो उद्धार भएको केही घन्टापछि जहाज डुब्यो ।

अहिले हामी इटलीको मेरी सोभानस्थित मारिना होटलको ५ नम्बर कोठामा छौं । खानाका लागि पैसा पनि छैन । बिहानको ब्रेकफास्ट गर्न मात्रै एक सय ३० युरो लाग्दोरहेछ । केहीले सहयोग गरेका छन् । इटलीमा कन्सुलेटसम्म नभएकाले हामीलाई झन् पीडा भएको छ । नेपालमा आइहाल्न हामीसँग राहदानी पनि छैन जहाजमै रहेका अरू दुई जना नेपाली काठमाडौंका पूर्णिमा शाही र मजुलाराज कर्णिकार पनि सँगै बसेका छौं । अब कसरी सहजरूपमा नेपाल आउने भन्ने चिन्ता छ । ***

तपाईको प्रतिक्रिया