Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं– विवाद उत्कर्षमा पुगेको माओवादीमा नाटकीय एकता भएपछि यसको पृष्ठभूमि खोजी सुरु भइरहेको छ ।
यसैक्रममा माओवादी सचिव सीपी गजुरेलले एकताको पृष्ठभूमि मंगलबार राजधानीमा सार्वजनिक गरिदिए । राजधानीमा सञ्चारकर्मीसँगको भेटमा गजुरेलले एकताको सुत्र खोलिदिएका हुन् ।
‘शान्ति प्रक्रिया पुरा हुने अवस्था देखिएन,’ उनले भने, ‘त्यसका लागि जनविद्रोह गर्न पार्टी एकता हुनपुग्यो ।’ यद्यपि उनले केन्द्रीय कमिटीमा प्रस्तुत दुई प्रतिवेदन यथावत रहने भएकोले त्यसमाथिको बहस भने कायम रहने बताए । उनले भने–‘प्रतिवेदनमाथिको बहस जारी रहन्छ । अहिलेलाई त्यो विवाद कायम राखेर कम विवाद भएको कार्ययोजना र संघर्षका कार्यक्रम अगाडि बढाउने विषयमा सहमति गरेर पार्टी एकीकृत गर्ने सहमति भएको हो । जनयूद्धको क्रममा उठाएको ऐजण्डा पुरा नहुने देखेर एक हुँदा पुरा गराउन सजिलो हुन्छ भनेर एकीकृत भएका हौं ।’
शान्ति र संविधान मानिसका दुई खुट्टा भएको उल्लेख गर्दै दुबै कार्य साथ साथै अगाडि बढनु पर्ने उनको तर्क थियो । गजुरेलले कांग्रेसले शासकीय स्वरुपमा कुनै छलफल नै नगरी शान्ति प्रक्रिया अगाडि नबढी संविधान अगाडि बढेको नसहेर संविधान निर्माणको कार्यतालिका परिवर्तन गराएको आरोप लगाए । उनले कांग्रेसले शान्ति प्रक्रियालाई समायोजनको रुपमा मात्रै बुझेको दावी गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन, बेपत्ताको खोजी, द्वन्द्व पीडितको पुर्नस्थापना र सहिद परिवारलाई राहत नदिई शान्ति प्रक्रिया नटुङ्गिने स्पष्ट पारे ।
सात बुँदे सहमतिमा समायोजनको दर्जा मिलान स्पष्ट नभएकोले शान्ति प्रक्रिया रोकिएको भन्दै ६ हजार ५ सयमा ४ सय ४३ जना अफिसरहरु माओवादीले पाउनु पर्ने तर्क गरे । उनले संख्या तोक्नुनै गलत भएको दावी गर्दै दर्जा मिलाएर जनसेनाले भनेका ६ हजार ५ सयलाई समायोजन गर्नु पर्ने माग गरे । उनले भने–‘अब सेनाको चाजपास भएर नयाँ भर्ति लिने जस्तो काम स्विकार्य हुँदैन ।’
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीको एजेण्डा लागु गर्न नसकी मधेसी मोर्चाको मात्रै एजेण्डा लागु गरेकोले पार्टीको छवि विग्रिदै गएको आरोप लगाउँदै तत्काल प्रधानमन्त्रीले पद छाडे राम्रो हुने धारणा राखे ।
उनले काग्रेसले नै अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिरहेकोले त्यसअघिनै प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने सुझाव दिदै मोर्चाको माग मानेर सरकारमा बसिरहनु उपयूक्त नहुने दावी गरे । गजुरेलले सरकार निर्माणको जग ४ बुँदे सहमति नै गलत भएकोले गलत जगमा बनेको सरकारले राम्रो काम गर्नै नसक्ने ठोकुवा गरे । उनले काग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुको कारण स्पष्ट पारे सोही आधारमा त्यसमा समर्थन र विरोध गर्ने समेत बताए ।
सचिव गजुरेलले प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार राष्ट्रिय सरकारमा परिणत हुन नसक्ने ठोकुवा गर्दै अहिलेकै सरकारमा आफूहरुको समूह पनि सहभागी नहुने स्पष्ट पारे । उनले भने– ‘चार बुँदे सहमति खारेज नभएसम्म सरकारमा जादैनौ ।’
उनले आफूहरुले भावी प्रधानमन्त्रीको रुपमा महासचिव रामबहादुर थापा ‘बादल’लाई अगाडि सरिसकेको भन्दै प्रधानमन्त्रीको कुर्सि खाली भएपछि सो विषयमा छलफल प्रारम्भ हुने बताए ।
गजुरेलले सात बुँदे सहमति र विप्पा सम्झौता भईसकेकोले आफूहरुले त्यसलाई उल्टाउन नसक्ने बताए पनि विप्पा सम्झौता भने संसदबाट कुनै पनि हालतमा पारित हुन नदिने ठोकुवा गरे ।
गजुरेलले नेपाली काग्रेस र नेकपा एमालेले भने जस्तो संविधान कुनै पनि हालतमा बन्न नदिने ठोकुवा गरेका छन् । गजुरेलले पार्टीले उठाएको संविधानको अन्र्तबस्तुलाई पार्टीले कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्दै बुधवार बस्ने पार्टीको केन्द्रीय समितिको बैठकमा त्यस विषयमा लिखित प्रस्ताव नै प्रस्तुत हुने जानकारी दिए ।
उनले क्रान्तिकारी भूमिसुधार लागु गरेर बढी भएको जग्गा भूमिहिन र सुकुम्बासीलाई वितरण गर्ने, आत्मनिर्णयको अधिकारसहितको संघीयता, मजदुर र किसानलाई सबैभन्दा बढी अधिकार दिने, राष्ट्रपति कार्यकारी हुने शासन ब्यवस्था र निर्वाचन प्रणालीका विषयमा बुधवारको बैठकले स्पष्ट पार्ने बताए ।
कांग्रेस र एमालेका कारण शान्ति प्रक्रिया र संविधान निर्माण कार्य जोखिममा परेको आरोप लगाउँदै संसदीय ब्यवस्था कुनै पनि हालतमा नमान्ने स्पष्ट पारे । गजुरेलले भने– ‘संसदीय ब्यवस्था मान्ने भए २०५२ सालमा हतियार उठाउने नै थिएनौ । राजा हाम्रो लागी समस्या थिएन ।’
उनले कांग्रेस र एमालेले आफूहरुको विरुद्ध १६ दलको मोर्चाबन्दी गरेको कारण जनसंविधान र जनताको संघीय गणतन्त्र स्थापनको लागि एक भएर लडन पार्टी एकीकरण भएको जानकारी दिदै भने– ‘हामी विभाजित हुँदा मोर्चा बन्दी भयो अब एक भएर शान्ति र संविधान निर्माणमा प्रस्तुत हुन्छौं ।’

तपाईको प्रतिक्रिया