पाल्पा– एकीकृत नेकपा माओवादीका प्रवक्ता एवं शिक्षा मन्त्री दिनानाथ शर्माले एमाले र कांग्रेसको रोग माओवादीभित्र फैलिएको बताउनुभएको छ । शनिबार बिहान पाल्पाको तानसेनमा पत्रकारसँगको कुराकानीमा उहाँले पार्टीको स्वास्थ्य अवस्था बिग्रिएको भएपनि कहलिएका डाक्टर, वैध र धामी झाँक्री रहेकाले पार्टी भने नफुट्ने टिप्पणी गर्नुभयो ।
‘पार्टीकै केही नेता सत्तास्वार्थमा लागेकाले किचलो निस्किएको हो’, मन्त्री शर्माले भन्नुभयो, ‘यसैका आधारमा माओवादी फुट्छ भनेर सोच्नु मुर्खता हो ।’ सरकारमा रहँदा सत्ता स्वार्थकै कारण एमाले, कांग्रेस फुटेको स्मरण गर्दै शर्माले सरकारमा रहँदा नै माओवादीलाई पनि फुटाउन भाइरस सक्रिय भएको तर्क गर्नुभयो ।
शर्माले माओवादी अध्यक्ष प्रचण्ड मोहन विक्रम जस्तो नभई एकताको प्रतीक भएकाले आफ्नो पार्टी नफुट्ने तर्क गर्नुभयो । माओवादी अध्यक्ष प्रचण्ड एउटै कम्युनिष्ट पार्टी स्थापनाका लागि प्रयासरत रहेको भन्दै शर्माले माओवादी कुनै पनि हालतमा नफुट्ने उहाँको भनाई छ ।
मन्त्री शर्माले शान्ति र संविधान लेखन प्रकृयालाई निष्कर्षमा पुर्याउनका लागि अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पनि डा. बाबुराम भट्टराईले गर्ने दावी गर्नुभयो ।