काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटी बैठकले स्थायी सदस्य कमिटी सदस्य केपी शर्मा ओलीलाई पार्टीको वरियताक्रममा तेस्रो स्थानमा राख्ने प्रस्ताव गरेको छ ।
ओलीलाई बरियतामा तेस्रो स्थान दिइने भए पनि बरिष्ठ नेता भने बनाइएको छैन । अब अध्यक्ष झलनाथ खनाल र बरिष्ठ नेता माधवकुमार नेपाल पछि ओली तेस्रो स्थानका नेता भएका छन् ।
पार्टी मुख्यालय मदननगर बल्खुमा शुक्रबार सम्पन्न स्थायी कमिटीको बैठकमा पार्टी सुदृढीकरण एवम् पार्टीको आन्तरिक एकताका सम्बन्धमा अध्यक्षद्वारा प्रस्तुत प्रस्तावमा छलफल भई पारित गरिएको पार्टीका सचिव शङ्कर पोखरेलले जानकारी गराउनुभयो ।
राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)लाई प्रमुख शक्तिका रुपमा स्थापित गर्न पार्टीलाई थप सशक्त बनाउन पार्टीभित्र आन्तरिक एकता अपरिहार्य भएको प्रस्तावमा उल्लेख गरिएको छ ।
पार्टीको सशक्तीकरणका लागि पार्टीभित्रको समग्र शक्तिलाई परिचालन गर्ने, पार्टीको नीति तथा विचारलाई एकरुपता बनाउन पार्टीभित्र छलफल तथा बहस चलाउने, राष्ट्रिय राजनीतिमा सहमति सहकार्य र एकता कायम गर्दै शान्ति प्रक्रिया र संविधान लेखनका लागि सबै पक्षलाई इमान्दारीपूर्वक एकजुट भएर बढ्न पार्टीले आग्रह गरेको छ ।
बैठकले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अङ्गीकार गरी यसको कार्यान्वयनका सन्दर्भमा सम्पूर्ण वामपन्थी शक्तिलाई एकजुट गराउन पार्टीले पहल गर्ने निर्णय गरेको छ ।