शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं- प्रमुख राजनीतिक दलहरुका दलित भ्रातृ संगठन संलग्न संयुक्त राजनीतिक दलित संघर्ष  समितिले दलित हत्या र जातीय भेदभावविरुद्धको आन्दोलन स्थगित गरेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रमुख दलका प्रमुख सचेतक र दलित सभासद्बीचको छलफलपछि आन्दोलन स्थगित गरिएको एमाले सभासद् छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
समितिले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस १७ गते नेपाल बन्द गर्ने घोषणा गरेको थियो । समितिले पुस १४ गते बिहान १० देखि ११ बजेसम्म एक घण्टा देशव्यापीरुपमा चक्काजाम, १५ गते दलित नागरिक समाज र अधिकारकर्मीहरुबीच अन्तर्क्रिया र १६ गते साँझ देशव्यापी मसाल जुलस प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।
समितिले कालिकोटमा चुलो छोएको निहुँमा हत्या गरिएका मनवीर सुनारका हत्यारा मिमबहादुर शाही, दीपबहादुर शाही र हत्याका लागि उक्साउने बालकुमारी शाहीलाई कडा कारवाही गर्न, मृतकका बालबच्चाको पालन पोषण र निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्न, सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्न, ऐनको कार्यान्वयन, दलित हत्या र अपमानजनक व्यवहारका घटनाको छानविन र दोषिहरुमाथि कारवाही गर्दै जातीय उत्पीडनको घटनालाई नियन्त्रण गर्न माग गरेको छ ।
तपाईको प्रतिक्रिया