शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024
काठमाडौं– सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा झुण्ड्याइएका भूतपूर्व प्रधानमन्त्रीका तस्वीरहरु मध्ये अब ५ जनाको मात्र तस्वीर राख्ने तयारी भइरहेको छ ।
हालसम्म सो ठाउँमा ३५ जना प्रधानमन्त्री भइसकेको व्यक्तिहरुको तस्वीर झुण्ड्याएको छ । नेपालमा गणतन्त्र स्थापना भएपछि ५ जना मात्र प्रधानमन्त्री भएका छन् । ती हुन् स्व. गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई ।
भट्टराईका सल्लाहकारहरुले पुराना प्रधानमन्त्रीका तस्वीरहरु संग्रहालयमा पठाई दिन सल्लाह दिएका छन् । यसरी दिइएको सल्लाह लागू भएपछि माधवरसिंह थापादेखि शेरबहादुर देउवासम्मका तस्वीरहरु प्र.म. कार्यालयबाट हटाइने सोच बनाइएको छ । जसमध्ये जिवित रहेका पूर्व प्र.म.हरुमा सूर्य बहादुर थापा, कीर्तिनिधि विष्ट, डा. तुलसी गिरी, लोकेन्द्र बहादुर चन्द र शेर बहादुर देउवा रहेका छन् ।
देउवा शाहीकालमा समेत प्रधानमन्त्री भइसक्नु भएको छ भने कीर्तिनिधि र डा. तुलसी गिरी शाही शासनका बेला मन्त्री परिषद्को उपाध्यक्ष पद समेत सम्हालेका थिए ।
यतिखेर पुरानो प्र.म.हरुको फोटो प्र.म. कार्यालयम राखेर तस्वीरको भीड मात्र खडा गर्ने हुँदा त्यस्ता तस्वीरहरु म्युजियममा पठाउनु पर्ने सुझाव आएको छ । नेपालमा गणतन्त्रको आगमन पछि ५ जना मात्र प्र.म. भएकोले उनीहरुको तस्वीर झण्ड्याउँदा धेरै ठाउँ नलाग्ने र आकर्षक देखिने तर्क गरिएको छ । प्र.म. कार्यालयले यो कार्य गरेमा सबैतिरबाट प्रशंसा पाउने चर्चा भइरहेको छ ।
तपाईको प्रतिक्रिया