काठमाडौं- एकीकृत नेकपा माओवादी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष र उपाध्यक्षले प्रस्तुत गरेका अलग अलग प्रस्तावमाथि छलफल सुरु भएको छ ।
मंगलबार बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावप्रति असहमति जनाउँदै लिखित रूपमै फरक प्रस्ताव प्रस्तुत गरेपछि बैठक आजसम्मलाई स्थगित गरिएको थियो ।
पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय समिति बैठक जारी छ । अध्यक्ष प्रचण्डले शान्ति र संविधान लेखनको प्रक्रियालाई प्राथमिकतामा राखेर प्रस्ताव प्रस्तुत गरेका छन् भने वैद्यले अध्यक्षको प्रस्तावले पार्टीको आधिकारिक नीति र कार्यक्रमलाई समेट्न नसकेको भन्दै फरक प्रस्ताव राखेका छन् ।
वैद्यले आफ्नो फरक प्रस्तावमा यथास्थितिमा जारी शान्ति र संविधान निर्माणको प्रक्रिया टुंगिन नसक्ने निष्कर्षसहित पार्टीको नीति पूरा गर्न जनविद्रोहमा जानुपर्ने उल्लेख गरेका छन् । पार्टी नेतृत्वले आफ्नो अडान कायम राख्न नसकेकोले जनसंविधान आउने अवस्था नरहेकोले पार्टीको क्रान्ति पूरा गर्न नयाँ कार्यदिशाबाट अघि बढ्नुपर्ने पनि वैद्यको प्रस्तावमा उल्लेख छ ।
उपाध्यक्ष वैद्यले पार्टी र क्रान्तिका समस्या, पार्टीमा देखिएका दुई लाइन संघर्षको प्रश्न, आगामी कार्यक्रम र कार्ययोजनालगायतका बुँदाहरू आफ्नो प्रस्तावमा उल्लेख गरेका छन् ।