Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले तयारी प्रभावकारी बनाए जनविद्रोह सफल हुने दाबी गरेका छन् ।
अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावलाई दक्षिणपन्थी यथास्थितिवादी भन्दै वैद्यले मंगलबार केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रस्तावमा नागरिकका पक्षमा संविधान बन्ने अवस्था नरहेको भन्दै जनविद्रोहमा जानुपर्नेमा जोड दिएका छन् । केन्द्रीय समिति बैठकमा आठ पेज लामो प्रतिवेदन पेश गर्दै वैद्यले नेपालमा जनवादी क्रान्ति आवश्यक र संभव दुवै भएकोले त्यसका लागि जनविद्रोहमा जानुपर्ने प्रस्ताव गरेका छन् ।
प्रस्तावमा भनिएको छ, ‘तयारीका कामलाई प्रभावकारी ढंगले अगाडि बढाउन सकेमा जनविद्रोहका लागि प्रवल आधारहरु विद्यमान छन् ।’ गम्भिर बन्दै गएको क्रान्ति तथा पार्टीका समस्या र तिनको समाधानका उपायबारे शीर्षकको प्रतिवेदनमा वैद्यले पार्टीको कार्यनीति जनविद्रोह नै हुनुपर्ने प्रस्ताव गर्दै भनेका छन्, ‘हाम्रो मूल कार्यनीति जनताको संघीय गणतन्त्रको स्थापना, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीविकाका आधारभूत समस्याहरुको समाधानका लागि जनविद्रोहको तयारी गर्नु नै हो ।’
आफ्नो पक्षमा संविधान नबने नागरिक संघर्षमा उत्रने, सबै वैदेशिक हस्तक्षेपबाट मुक्त हुने नेपाली नागरिकको चाहना, अरु राजनीतिक दल सत्ताको लुछाचुँडीमा लागेको र कतिपय अन्तराष्ट्रिय शक्ति केन्द्रले नेपाललाई आफ्नो स्वार्थ अनुकूल चलाउन चाहेपनि केही मुलुकले नेपालको सम्मान गर्ने गरेकोले यिनै आधारमा जनविद्रोहको सम्भावना प्रवल रहेको वैद्यले दावी गरेका छन् ।
अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनले मुलुक, क्रान्ति र नागरिकको सार्वभौमिकताको रक्षा हुन नसक्ने ठहर गर्दै वैद्यले सविधानसभाको काम औचित्यहीन भएको र शान्ति प्रकृया पनि नागरिकका पक्षमा नरहेकोले ती सबैलाई छोडेर संर्घषमा जानुपर्नेमा जोड दिएका छन्। अध्यक्ष प्रचण्डले पार्टी निर्णय बिपरीत सविधानसभाको विवाद समाधान उपसमितिमा बसेको र नागरिकका पक्षमा भएका निर्णय उल्ट्याएको वैद्यको आरोप छ ।
यसैबीच उपाध्यक्ष बैद्य र महासचिब रामबहादुर थापा बादलले अबिलम्ब सम्बोधन गर्नु बिषय भन्दै अध्यक्ष समक्ष ९ बुँदे माग पेश गरेका छन् । मागमा जनमुक्ति सेनाले पेश गरेको पाँच बुदे माग पुरा गर्नुपर्ने र शिविरको हिसाव-किताव, पार्टी नेतृत्व र पाटीको सबै आर्थिक गतिविधी पारदर्शी बनाईनुपर्ने माग गरिएको छ ।
बैद्यले फरक मत राखेपछि माओवादीको बैठक बुधवारसम्मको लागि स्थगित भएको छ । पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकपछि प्रबक्ता दिननाथ शर्माले उपाध्यक्ष बैद्यले पेश गरेको फरक मत र अध्यक्षको प्रतिबेदनमाथि वुधवार छलफल सुरु हुने बताए ।
तपाईको प्रतिक्रिया