काठमाडौं– अघिल्लो विवाद समाधान उपसमितिको बैठकले मिलाइसकेको संविधानको प्रस्तावनामा ‘जनयुद्ध’को साटो शसस्त्र विद्रोह राख्ने सहमतिलाई लिएर उपसमितिकै बैठकमा फेरि विवाद भएको छ ।
शनिबार बैठकमा माओवादी मुख्य सचेतक देव गुरुङले जनयुद्धमा सम्झौता गर्न नसकिने भन्दै जनयुद्ध शब्द बेगर संविधानको प्रस्तावना लेखिनै नसक्ने चेतावनी दिनुभयो । उहाँले कांग्रेस र एमाले २०४७ सालको संविधानमा भएकै ब्यवस्थालाई नयाँ संविधानमा राख्न लगाएर त्यही संविधान ब्यूताउन लागि परेको आरोप लगाउँदै पार्टी अध्यक्ष प्रचण्डले मान्दैमा आफूहरुले मान्नु पर्ने बाध्यता नरहेको बताउनु भयो ।
अघिल्लो उपसमितिको बैठकले प्रस्तावनामा जनयुद्धको साटो सशस्त्र द्वन्द्व राख्ने र प्रस्तावनाको ब्याख्यामा जनयूद्ध शब्द राख्ने सहमति गरेको थियो । बैठकमा गुरुङले जनयुद्धको बलमा परिवर्तन भए पनि अहिले आएर जनयूद्धलाई अपमान गर्न खोजिएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।
बैठकमा विवाद भए पछि कांग्रेस र एमालेले भने पुरानै सहमतिको पक्षमा आफ्नो अडान प्रस्तुत गरेका थिए ।