टोकियो – जनताको आय आर्जनका लागि सरकारी स्तरबाट प्रभावकारी कार्यक्रम लागु हुन नसकिरहेको परिवेशमा गरिब जनताको आर्थिक अवस्था उत्थानका लागि नीजि तथा समूहगत प्रयासले आशा जगाएको छ । नेपालजस्तो मुलुकमा सरकारको मुख ताकेर मात्र काम नचल्ने र चाहने हो भने नीजि तवरबाट पनि गरिबी निबारण कार्यमा प्रशस्त भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सोचबाट प्रेरित रहँदै आएका देवमान हिराचन आयआर्जनका कुनै उपाय नभएका विपन्न परिवारका लागि आशाको दियो बनेका छन् ।
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष हिराचनको पहलकदमी एवम् सहकार्यमा ‘क्योतो हियोशिगाओका लायन्स क्लब जापान’ले नवलपरासीका १५ विपन्न परिवारलाई पचहत्तर वटा बाख्रा वितरण गरेको छ । प्रतिपरिवार पाँचवटाको संख्यामा वितरित बाख्रा पालनबाट सम्बन्धित परिवारको आयआर्जनमा महत्वपूर्ण टेवा पुग्ने दाताहरुको विश्वास छ ।
यसरी प्रदान गरिएका बाख्राबाट २–३ वर्षमा थुप्रै पाठापाठी जन्मने र तीन वर्षपछि एउटा बाख्रा बोनसका रुपमा छोडेर उक्त परिवारबाट चारवटा बाख्रा फिर्ता लिई त्यसमा एउटा थपेर पुनः अर्को विपन्न परिवारलाई प्रदान गर्ने दातृसंस्थाको योजना छ । यसको अनुगमन व्यवस्था तथा बाख्रा वितरण कार्यक्रम परिचालनका लागि एउटा छुट्टै संयन्त्र समेत निर्माण गरिएको र यसरी विपन्न परिवारलाई बाख्रा बितरण गर्ने कार्य देशका अन्य स्थानमा पनि निरन्तर जारी रहने समाजसेवी देवमान हिराचनले जानकारी दिनुभयो ।
सो बाख्रा बितरणका साथै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य सहयोगका प्याकेजसहित नेपाल आएका क्योतो लायन्स क्लबका नौ जापानी सदस्यहरु नवलपरासीमा बाख्रा बितरण कार्यक्रममा सहभागी हुन पाएर अत्यन्त हर्षित देखिएका थिए । उक्त क्लबले जापानमा आफ्नो २० औं वार्षिकोत्सव मनाइरहेको र यही अवसर पारेर नेपालका विपन्न परिवारको सहयोगमा हात बढाइएको प्रतिक्रिया उनीहरुले दिए । आफूहरु नेपाल र नेपालीप्रति अत्यन्त आकर्षित बन्नपुगेको उल्लेख गर्दै क्लबले यथासक्य सहयोगको हात अघिसारिरहने बाचा पनि उनीहरुले गरे । सबै राजनीतिक दलका स्थानीय प्रतिनिधिसहित सयौं स्थानीयवासीको उपस्थितिले सहयोग हस्तान्तरण कार्यक्रममा रौनकता प्रदान गरेको थियो भने सहयोग प्राप्त गर्ने परिवारका सदस्यहरु औधी खुशी देखिन्थे ।
जापानलाई कर्मथलो बनाए पनि मातृभूमिसँग निरन्तर जोडिँदैआएका देवमान हिराचनले गोर्खा, कास्कीलगायतका जिल्लामा स्कूलहरु स्थापना गर्नुका साथै सैयौं विद्यार्थीलाई नीजि तवरबाट छात्रवृत्ति पनि प्रदान गर्दै आउनुभएको छ । यसरी बाख्रा पालनतर्फ उन्मुख गराएर नेपालका विपन्न परिवारहरुलाई आयआर्जनमा सघाउने आफ्नो अवधरणालाई मन पराउनुका साथै स्वीकार गरी सहयोगको हात बढाइदिएकोमा हिराचनले क्योतो हियोशिगाओका लायन्स क्लब जापान परिवारप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको छ । ***