Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

“बन्द, हडताल र चक्काजाम,
गर्ने दिन गए अब छैन काम”

“धान कुटेर कनिका लाटीलाई,
सग्ला चामल काँग्रेसी पाटीलाई”

टोकियो – आइतवार टोकियोमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा जापानवासी नेपालीमाझ नेकपा एमालेका नेता खगराज अधिकारीले नेपाली जनजिब्रोमा प्रचलित चुट्किला र उखान टुक्काको प्रयोग गर्दै चोटिला र रोमान्टिक शैली एवं सर्बसाधारण सबैले बुझ्ने भाषामा देशको समसामयिक राजनैतिक बिषयबस्तुका बारेमा प्रकाश पारे ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेता अधिकारीले भने- “बन्द हड्ताल र चक्काजाम गर्ने दिन अब गए, अब यसरी मुलुक चल्दैन । बिकल्परहित बिरोधको कुनै अर्थ छैन । देशमा विकल्पसहितको बिरोध गर्ने सँस्कारको अभाव छ । मुलुकलाई समृद्धितिर लैजानका लागि अब हामी सबै नेपाल बनाउने अभियानमा जुट्नुपर्छ । त्यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हुनुपर्छ । मुलुकमा भ्रष्टाचारको उन्मुलन गर्नुपर्छ । हरेक सरकारी कामकाजहरु फटाफट हुनुपर्दछ । भ्रष्ट, चोर, घुसखोरी, कालाबजारी, नेता, ब्यापारी, कर्मचारी जो भएपनि ३३ बर्ष जेल हाल्ने र तिनका शाखासन्तान सात पुस्तासम्मलाई सरकारी जागीर खान, राजनीति गर्न र अन्य सरकारी अवसर उपयोग गर्न नपाउने कानुन बन्नुपर्दछ । राष्ट्रिय साधन र श्रोतको भरपुर उपयोग गर्दै सबै राजनीतिक दल, नागरिक समाज र नेपाली जनता मिलेर मुलुक बनाउने महाअभियानमा जुट्नुपर्दछ, त्यसो गर्न सकियो भने अबको १० बर्ष भित्र मुलुकमा कायापलट नै हुने गरी बिकास र परिबर्तन संभव छ । यो कुनै असम्भवको कुरा होईन।”

अन्तरक्रिया कार्यक्रम नेकपा एमालेको जापानस्थित भात्तृसंस्था नेपाली लोकतान्त्रिक मञ्च (एनडिएफ) जापानको आयोजनामा भएको हो । मञ्चकी अध्यक्ष सिर्जना काफ्लेको सभापतित्वमा भएको सो कार्यक्रममा नेता अधिकारीलाई मञ्चको तर्फबाट तत्कालिन प्रवास कमिटीका उपाध्यक्ष राजकुमार पण्डितले फूलको गुच्छाले स्वागत गरेका थिए ।”

नेता अधिकारी गत साता नागोयामा सम्पन्न मञ्चको नागोया शाखाको अधिवेशनका लागि जापान निम्त्याईएका हुन् । नेता अधिकारीले शान्ति र संबिधानका सन्दर्भमा अगाडि भने- नेपालका राजनैतिक दलहरुले ऐतिहासिक जनआन्दोलनको जगमा ३ वटा महत्वपूर्ण परिबर्तनहरु गरेका छन् । यस्ता युगान्तकारी परिबर्तनहरु संसारमा यसरी सजिलै र प्रक्रियागत ढंगले विरलै संभव भएका उदाहरण छन् । हतियार र हिंसाभन्दा अर्को बाटो नै छैन भनेर जनयुद्धमा होमिएको माओबादीलाई शान्ति र संबिधानको मुलबाटोमा ल्याउने काम, बिधिवत प्रक्रियाबाट बिनारक्तपात कहिलै नफ़र्कने गरी राजतन्त्रको उन्मुलन र केन्दिकृत सत्ताप्रणालीबाट संघिय प्रणालीमा जाने बिधिवत निर्णयजस्ता नितान्त नयाँ प्रयोगको अवस्थामा मुलुक रहेकोले केहि बिलम्बहरु जरुर भएका छन् तर निराश हुनुपर्ने केहि छैन’ नेता अधिकारीले थप आश्वस्त पार्दै भने- “अबको ६ महिनाभित्र नेपालमा शान्तिप्रक्रियालाई बिधिवत टुंगोमा पुर्‍याएर मुलुकले नयाँ संबिधान पाउने छ । सन् २०१२ भित्रै हामीले जननिर्वाचित सरकार पाउने छौं ।’

पूर्व सांसद तथा नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य एवं गण्डकी इञ्चार्ज समेत रहेका नेता अधिकारीले नेपालका राजनीतिक दलहरुमा रिफ़र्म हुन आवश्यक रहेको बिचार ब्यक्त गर्दै अगाडि भने – राजनीतिक दलहरुले अब युवा पुस्तामा जिम्मेवारी हस्तान्तरण गर्दै जानुपर्दछ । सबैजसो राजनीतिक दलहरुमा आन्तरिक गुटबन्दीले राष्ट्रिय राजनीतिमा नराम्रो असर परेको छ । हामी चाहान्छौं, कुनै पनि दलमा अप्रिय दुर्घटना नहोस् । सबै दलहरु मिलेर मात्र मुलुकको भबिष्य निर्माण संभव छ । तर सत्ता र स्वार्थका लागि यसरी नै दलहरु समय बर्बाद गर्दै जाने हो भने पार्टीहरु अब निकम्मा हुनसक्छन् । जनताबाट नांगिन सक्छन, र सन्दर्भबिहिन हुन सक्छन । आफ्नो आयु आफै थप्दै अयोग्यतको प्रदर्शन गरिरहने अधिकार अब दलहरुलाई छैन । अबको ६ महिनाभित्र बाँकी कामहरु सम्पन्न गर्न दलहरुलाई अब नैतिक दबाब परेको छ” – नेता अधिकारीले भने ।

एक अर्को प्रसंगमा नेपाली काँग्रेसप्रति कटाक्ष गर्दै नेता अधिकारीले भने – “धान कुटेर कनिका लाटीलाई, सग्ला चामल काँग्रेसी पाटीलाई” लामो समयसम्म नेपाली राजनीतिमा एकछत्र हालीमुहाली गरेर देशलाई यथास्थितिमा राखेर अरु पार्टीलाई दोश्रो दर्जाको र कमजोर शक्ति मान्ने, आफुलाई मै ठूलो हुँ भन्ने काँग्रेसलाई २०५३ सालमै एमालेले सरकार बनाएर देखाईदिएपछि बल्ल काँग्रेसले वामपन्थीहरुको हैसियत चिन्न थालेको हो । त्यतिबेलासम्म काँग्रेसले आफु मात्रै सच्चा राजनीति दल ठान्दथ्यो र अरुको त उसले नेपालमा राजनैतिक भबिष्य देखेकै थिएन” – नेता अधिकारीले भने ।

यसैगरी नेता अधिकारीले एक फरक प्रसंगमा देश बनाउनका लागि पार्टीमा टाँसिईरहन आवश्यक नरहेको बिचार पनि ब्यक्त गरे । उनले भने- “संसारमा थुप्रै उदाहरणहरु छन्, राजनीति भन्दा टाढा बसेर पनि मुलुकको बिकासका लागि धेरै काम गर्न सकिन्छ । मलाई पार्टीमोह छैन । ६० पुगेपछि सक्रिय राजनीति छोडेर देश बिकासका अभियानमा लाग्ने बिचार गरेको छु ।’

अन्तरक्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समिति जापानका प्रतिनिधि सुवास लोहनी, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ध्रुब भट्टचन, प्रवासी नेपाली पत्रकार सञ्जालका अध्यक्ष भूषण घिमिरे, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष बेलु थापा, एनआरएन जापानका अध्यक्ष ओम गुरुङलगायतका बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्नो भनाई राखेका थिए । यसैगरी नेता अधिकारीले बिभिन्न सहभागीहरुले राखेको जिज्ञासा मेटाउने प्रयास गरेका थिए ।

कार्यक्रमको अन्तमा, सभापति सिर्जना काफ्लेले आफ्ना भनाईहरु राख्दै सभाको बिसर्जन गरेकी थिईन् । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका महासचिव सुन्दर पौडेलले गरेका थिए । ****

तपाईको प्रतिक्रिया