Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
पोखरा (कास्की)- विगत ४१ वर्षदेखि नेपालमा कार्यरत जापानी स्वयम्सेवकको अथक प्रयास जारी छ, नेपालीलाई सरसफाइ र जीवनज्ञापन गर्ने प्रविधि सिकाउन ।
पोखराको अन्तर्राष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयको हाताभित्र यस्तै स्वयम्सेवकको प्रयास जारी थियो, विद्यालयका साना-साना केटाकेटीलाई सरसफाइ र कृषिसम्बन्धी जानकारी सिकाउनका लागि ।
उनीहरू जोकरको पोसाकमा सजिएर कोही सफा र कोही फोहर व्यक्ति बनेर नाटक प्रदर्शन गर्दै थिए । राता, पहेँला र निला पोसाक लगाएका उनीहरूले वातावरण सफा गर्नु पर्छ, फोहरले आफँैलाई मार्छ भन्ने सन्देश दिइरहेका थिए ।
उनीहरूले सोही स्थानमा विद्यार्थीलाई फालेका कागतले चकटी बनाउन, प्लास्टिकले गमला, टोकरी बनाउन पनि सिकाउँदै थिए । फोहर नगर्नु भनेर वातावरण सरसफाइको गीत प्रस्तुत गर्दै थिए उनीहरू ।
सोे कार्यक्रममा संलग्न नेपालमा विगत १० महिनादेखि स्वयम्सेवकको कार्य गर्दै आएकी नमिको मोताकावा -नेपाली नाम नमिता)ले बताइन्- ‘विगत १० महिनादेखि स्याङ्जा, बाग्लुङ, पोखराका विभिन्न विद्यालयमा हामी बच्चाहरूमा सरसफाइ र वातावरण स्वच्छ राख्ने प्रविधि नाटकको माध्यमले सिकाउँदैछौँ ।’
जापानबाट दुई वर्षका लागि नेपालमा स्वयम्सेवा गर्न आएकी उनले आफूहरूले तिम्रो सहर, तिम्रो पहाडलाई जोगाउने जिम्मेवारी पनि तिम्रै हो, यसलाई संंरक्षण गर्नुपर्छ भन्ने सिकाएको बताइन् ।
नेपालस्थित जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) का प्रतिनिधि अकिको एन्दोले दिनुभएको जानकारीअनुसार नेपालमा हाल २९ जना वरिष्ठ र ६१ जना युवा स्वयम्सेवक कार्यरत छन् ।
ती स्वयम्सेवकले नेपालको विभिन्न भेगमा ग्रामीण विकास, स्वास्थ्य शिक्षा, कृषि अध्ययन, वातावरण, सरसफाइसम्बन्धी कार्यक्रम चलाएको उहाँले जानकारी दिनुभयो । उहाँले यसका लागि जापान सरकारले स्वयम्सेवकलाई तीन महिनाको तालिम र भरणपोषणको सहयोग गरेको बताउनुभयो ।
सो सिको सिक्ने पोखराको सहारा बाल प्राविका छात्रा सविना गुरुङ र शान्ति लामाले आफूले सिकेको कुरा घरमा र विद्यालयका अन्य साथीहरूलाई सिकाउने बताइन् भने सोही विद्यालयका शिक्षिका उर्मिला देवकोटाले जापानीहरूले रचनात्मक र व्यावहारिक शिक्षा दिएको देखेर आफू प्रभावित भएकोले विद्यालयमा यस्तै शिक्षा दिन आफूले पनि पहल गर्ने बताइन् ।
सिद्ध उच्च मावि विद्यालय, फलेपाटन पोखराका कक्षा ७ मा पढ्ने विशाल विक जापानीहरूले सिकाएको कम्पोष्ट मल बनाउने कार्यबाट प्रभावित भएका थिए ।
सोही विद्यालयका शिक्षिका ज्ञानु थापाले जापानीहरूले बनाउन सिकाएको कम्पोष्ट मल बनाउने प्रविधि अत्यन्त राम्रो र छिटो बन्ने थाहा पाएको बताउनुभयो ।
जापानमा विगत लामो समयदेखि प्रयोग हुँदै आएको कम्पोष्ट मल बनाउने प्रविधि नेपालमा पनि उपयोगी हुने उनीहरूको विश्वास थियो ।
जापानका ताकाकुरा कम्पोष्ट मल प्रविधिअनुसार पहिले दही, मर्चा, पानी र चिनीको घोल बनाएर ढुसी पानी बनाउने र त्यसमा फालेका खानेकुरा, तरकारी र फलफूलको बचेको बोक्रा आदिलाई मिसाएर खाल्डो खनेर राख्ने यसले जैविक मललाई चाँडो गलाएर मल बनाउने उनीहरूको दाबी छ ।
त्यस्तै पानीमा नुन मिसाएर फलफूल र तरकारीको बोक्रालाई डुबाएर राख्दा चाँडै मल बन्ने जापानीहरूले सिकाएका थिए ।
चार दशकभन्दा बढी समयदेखि नेपाल र जापानबीच चलिआएको यसप्रकारको गतिविधिले स्थानीयस्तरमा आपसी सम्बन्ध बढ्नुका साथै जनस्तरको सम्बन्ध विकसित हुने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया