शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024
  • हेमन्त र मल्लिका जापान आउँदै
टोकियो (जापान)- अंग्रेजी नयाँ वर्ष आउनैलाग्दा जापानमा रहेका नेपाली संघ संस्थाले कार्यक्रम गर्ने चाँजोपाँजो मिलाउन थालेका छन् । सांगीतिक धमाका, बनभोज, अन्तरक्रिया, पार्टीलगायत कार्यक्रम आयोजनाको तयारी भइरहेको छ ।
अन्तर्राष्ट्रिय नेपाली समाज जापानले आउँदो नयाँ बर्ष २०१२ को उपलक्ष्यमा एक बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रममा नेपालका बहुत चर्चित आधुनिक, लोक एवं पप गायक हेमन्त शर्मा, मल्लिका कार्कीका साथै अन्य थुप्रै स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रम जनावरी १ का दिन टोकियोस्थित इकेगामी खाईकान हलमा आयोजना हुने संस्थाका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा गुल्मेली समाज जापानको सहयोग तथा जापान मनि एक्सप्रेसको प्रायोजन रहने जनाइएको छ । जापानमा नयाँबर्षको उपलक्ष्यमा लामो बिदा पर्ने हुँदा कार्यक्रममा धेरै भन्दा धेरै नेपाली र जापानी नागरिकहरुको पनि सहभगिता रहने संस्था का महासचिव अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम सफल तथा मर्यादित बनाउन उपाध्यक्ष तेजप्रसाद अर्यालको संयोजकत्वमा विभिन्न समितिसमेत गठन गरिएको आयोजकले जनाएको छ ।
यसैगरी थकाली सेवा समिति (थसेस) नेपालले नयाँ वर्ष- २०१२ को अवसरमा भव्यरुपमा काउन्टडाउन पार्टी आयोजना गर्ने भएको छ ।
थसेस जापानको नोभेम्वर २७ तारिखमा बसेको बैठकले बिगतमा झै यो वर्ष पनि सन् २०११ को वर्षलाई बिदाई गर्दै सन् २०१२ को बर्षलाई स्वागत गर्ने गरि आउँदो डिसेम्वर ३१ तारिख बेलुका भब्य कार्यक्रम गर्ने विज्ञप्तीमा जनाइएको छ ।
थसेस जापानको तर्फबाट महा-सचिव तथा यस कार्यक्रमका संयोजक अनिल भट्टचनद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘यस बर्ष २०११ सालमा जापान आगमन नब-आगन्तुक थकाली सदस्यहरुलाई स्वागत गर्ने कार्यक्रम, भेटघाट एवं काउन्टडाउन पार्टी तथा नवबर्ष सन् २०१२ को उपलक्ष्यमा समेत शुभ-कामना आदानप्रदान भव्यरुपले गरिने छ ।’
थसेस जापानले स्वागत, सम्मान र भेटघाट कार्यक्रम विगतमा पनि सम्पन्न गर्दै आएको र आफ्नो नव-आगन्तुक सदस्यहरुलाई स्वागत गर्ने परम्पराको सुरुवातको संस्कारसँगै वार्षिकी कार्यक्रम समेत भएको जनाइएको छ ।
समय परिस्थिति र अनुकुलता अनुसार नौलो योजना, बैज्ञानिक बिधि, सदस्यहरुको चाहना र रुची अनुरुप नयाँपनको रुपमा थसेस जापानलाई प्रस्तुत गर्दै लैजानुपर्ने आवश्यकता अपरिहार्य रहेको बताउदै यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाइने जनाइएको छ ।
थसेस जापानका अध्यक्ष शरदकुमार गौचनले कार्यक्रममा सहभागी हुन आहृवान गर्नुभएको छ ।
तपाईं पनि जापामा कुनै कार्यक्रम गर्दै हुनुहुन्छ ? समुद्रपारिमा लेखि पठाउनुहोला ।

तपाईको प्रतिक्रिया