शुक्रबार, आषाढ १४, २०८१
Friday, June 28, 2024

गाईबाख्रा हेर्दै गरेकालाई टपक्क टिपेर कुक बनाएर जापान ल्याएर काम लगाएपछि रेष्टुरेन्ट ब्यवसायको हालत खराब हुने नै भयो । हामीकहाँ कामका लागि भनेर ट्रायलमा आउनेहरु ८० प्रतिशत भन्दा बढि नक्कली कुक भएको पाइयो । सस्तो र नक्कली कुकको प्रयोग गर्दा बेफाईदा धेरै छन् । यसबाट काममा क्वालिटी आउँदैन । फलस्वरुप ब्यवसाय नै धाराशयी बन्न पुग्दछन् ।

नेपालीहरुले राम्रोसंग अध्ययन नै नगरीकन जहाँपायो त्यहीं अन्धाधुन्ध रेष्टुरेन्ट खोल्ने गरेका छन् । त्यसमाथि अपरिपक्व र अदक्ष कुकको भरमा रेष्टुरेन्ट चलाउने हुँदा ब्यवसाय फष्टाउन नसकेर बन्द हुनु स्वभाविकै हो । रेष्टुरेन्टका लागि घरभाडामा लिंदा पनि घरधनिले जति भन्यो त्यति तिर्ने गरेको अवस्था छ । त्यसका लागि जतिसक्दो सस्तो गर्न घरधनिसंग राम्रोसंग डिल गर्न सक्नुपर्दछ ।

माथिका भनाई हुन्- एक दशकदेखि रेष्टुरेन्ट ब्यवसायमा रमाईरहेका युवा ब्यवसायी ज्यो र्घर्ति मगर सुजुकीको । उनको टोकियोको हाराजुकु, इकेबुकुरो र हिगासी नागासाकीमा गरी मसला हट नामको ३ वटा रेष्टुरेन्ट छन् । होटल म्यानेजमेन्टमा जापानमै उच्चशिक्षा हासिल गरेका सुजुकीले जापानी नागरिकता पनि लिईसकेका छन् । बैंकमा कारोवार गर्न तथा ब्यवसाय चलाउन सजिलो होस् भन्ने उद्देश्यले एक बर्षअघि नेपाली नागरिकता त्यागेर उनले जापानी नागरिकता लिएको रे । उसो त उनको जापानयात्राको तय र रेष्टुरेन्ट ब्यवसायको शुरुवात भने आफ्नो पिताबाट भएको उनले बताए ।

“पिता तोम र्घर्ति मगरले छिमेकी मुलुक भारतमा गएर ताजमहल होटलमा १२ बर्षसम्म काम गर्नुभएको थियो । त्यसपछि सन् १९९० मा जापान आउनुभएको हो । जापान आएर उहाँले मोती रेष्टुरेन्टमा ८, ९ बर्ष काम गर्नुभयो । लामो समयसम्म आफुले काम गर्दा सिकेको-जानेको सीप र आर्जेको अनुभवलाई ब्यवसायकारुपमा उपयोग गर्न पिताजीले रेष्टुरेन्ट ब्यवसाय शुरु गर्नुभएको हो । मैले पनि शुरुदेखि नै फुर्सदको समयमा पिताजीलाई सहयोग गर्दै आएको थिए । पछि मेरो अध्ययन सकिएपछि पिताजीले यो ब्यवसाय मलाई जिम्मा लगाएर आफुले रिटायर्ड जीवन बिताई रहनुभएको छ । टोकियोमै एउटा घर किनेर हामी संगोलमै बसेका छौं । बाबा, आमा, भाइ, श्रीमती र १ बच्चाकासाथमा रमाईलोसंग दिनहरु बितिरहेका छन् । बाबाआमा नातीसंग रमाईरहनुभएको छ भने हामीहरु काममा ब्यस्त रहन्छौं ।’

आज भन्दा ३३ बर्ष पहिले नोकरी गर्न भारत पुगेका अर्घाखांची सन्धिखर्कका तोम र्घर्ति मगरले जीवनमा शायदै सोंचेका थिएहोलान् आज जापानमा यसरी आफ्नो ब्यवसायको आफै मालिक भएर सुखी परिवारकासाथमा जीवन बित्छ भनेर । तर आज उनी सुखी छन्, खुशी छन् र सन्तुष्ट पनि । यस अर्थमा कि उनले शुरु गरेको ब्यवसायिक यात्राको बिंडो छोराहरुले सम्हालेका छन् । दुनियामा यस प्रकारको संयोग धेरै कमलाई जुर्ने गर्दछ, तर उनलाई जुरेको छ ।

जापानी नागरिकता लिनेक्रममा मिल्ने जापानी साथीको नाम नै रोजेर सुजुकी राखेको बताउने ज्यो घर्ति मगरले नामको अन्तमा सुजुकी लेख्छन् । जापानमा नेपालीहरुको रेष्टुरेन्ट ब्यवसायमा देखिएका समस्या, चुनौती र ध्यान दिनुपर्ने कुराहरुका बारेमा केन्द्रित रही राखिएको जिज्ञासामा उनी भन्छन् – “जापानीहरु रेष्टुरेन्टमा खानाको स्वादका लागि मात्र मरिहत्ते गर्दैनन् । बिदेशी खाना भएकोले उनीहरु यसबारे धेरै भन्दा धेरै जान्न चाहन्छन् । खानाको बारेमा राम्रोसंग सम्झाउन र बुझाउन सक्नुपर्दछ । मेरो बिचारमा खानाको स्वाद र लोकेशन ग्राहकको पहिलो रोजाईमा पर्दैन । उनीहरुप्रति गरिने बोली ब्यवहार, शिष्ट भाषा, सर्भिस, सरसफाई राम्रो भयो भने उनीहरु दोहोर्‍याएर पटक पटक आउने हुन् । भाषा ज्ञानको अभावमा एकथोक अर्डर गर्दा अर्कैथोक टेबुलमा पुग्ने, आफुबाट भएका गल्ती कमीकमजोरीप्रति तत्काल क्षमायाचना नगर्ने जस्ता समस्याहरु हामी नेपालीहरुमा बिद्यमान छ । कष्टमरसंग कसरी ब्यवहार गर्ने भन्ने कुरो अत्यन्त महत्वपूर्ण कुरा हो । यस बारेमा सामान्य भन्दा सामान्य पनि अध्ययन, तालीम, अनुभव र ज्ञान नभएकाहरुलाई जबरजस्ती काममा लगाउनाले स्वयम रेष्टुरेन्ट ब्यवसायीहरु मर्कामा परेका छन् ।

रेष्टुरेन्टमा टेलिफोन उठाउनेदेखि लिएर कष्टमरसंग के बोल्न हुने, के बोल्न नहुने, कसरी उनीहरुको स्वागत र सम्मान पुग्न सक्छ भन्ने बारे जानकारीको अभाव छ । न त नजान्नेहरुलाई सिक्ने चासो छ, न सञ्चालकहरुमा सिकाउने तत्परता । जापानी कष्टमरलाई खुशी पार्न मीठो खाना पस्केर मात्र हुँदैन, किचनदेखि हलमा काम गर्ने र क्यासियरसम्मले हँसिलो र मिजासिलो स्वभाव दर्शाउन कञ्जुष्याँइ गरिनुहुँदैन । रेष्टुरेन्ट ब्यवसाय अत्यन्त संबेदनशील क्षेत्र मानिन्छ । खानामा सामान्य गडबडी भएर ग्राहक बिरामी परेको खबर मिडियामा आयो भने त्यो क्षेत्रका सबै ब्यवसायीलाई त्यसको ठूलो असर पर्दछ । त्यसैले फुड बिजनेश भनेको अत्यन्त जोखिमपूर्ण बिजनेश हो भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । खानाको बारेमा कष्टमरसंग निरन्तर प्रतिक्रिया लिने गर्नुपर्दछ । बेला बेलामा आफ्नो रेष्टुरेन्टको खानाको स्वाद चेक गरिरहनुपर्दछ । खानापिनाको स्वाद, सरसफाई, सर्भिस मात्र राम्रो भएर हुँदैन रेष्टुरेन्टको साजसज्जा, वातावरण र माहौल पनि कष्टमरका लागि सहज र मन पर्ने खालको हुनु जरुरी छ ।
यसका लागि बेला बेलामा अनुभवीहरुको सुझाव सल्लाह लिन आवश्यक छ । ब्यवसायिक चिन्तन, मनन र मन्थन गर्ने परिपाटी हुनु जरुरी छ । हामी नेपालीमा त्यो सँस्कारको बिकास हुन सकेको छैन । जानकारीको अभावमा जतिभन्यो त्यति ट्याक्स तिर्न र भाडा तिर्न हामी तयार हुन्छौ तर कामको क्वालिटीको बेवास्ता गर्दै सस्तो तलवको लोभमा अदक्ष कामदार राखेर कष्टमर भगाईरहेका मात्रै छैनौ, ब्यवसायलाई नै जोखिममा पार्दै चौपट बनाईरहेका छौं । औसत रेष्टुरेन्ट ब्यवसायी नेपालीहरुको अहिलेको जापानको अवस्था यहि हो ।’ ***

तपाईको प्रतिक्रिया