विराटनगर– सद्भावना पार्टीका अध्यक्ष एवं स्वास्थ्यमन्त्री राजेन्द्र महतोले माओवादी लडाकुको समायोजनका विषयमा प्रमुख दलहरुबीच पुन नयाँ सहमति हुने बताएका छन् ।
माओवादी नेतृत्वले ९ हजार लडाकु समायोजन हुने भनिरहेको समयमा विराटनगर विमानस्थलमा शुक्रवार साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समायोजनमा जाने लडाकुको संख्या बढी भएकोले त्यसलाई मिलाउन नयाँ सहमति आवश्यक भएको बताएका हुन् ।
समायोजनमा जाने लडाकुको संख्या थप गर्ने विषयमा माओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सहमति कायम गरेर निधारण गर्न सकिने स्पष्ट पारेका छन् । उनले पहिलेको सहमति ६ हजार ५ सयमात्र रहेको छ, अहिले केहि बढी माओवादी लडाकुले समायोजन रोजेका छन् त्यसैले यसलाई समाधान गर्न सबैले समस्या समाधानका लागि सहमति गर्नैपर्ने जिकिर गरे ।
नभएका लडाकुको रकम लिएर राष्ट्रिय ढुकुटीको दुरुपयोग गरेको ठहर भए माओवादीमाथी नैतिक संकट आउने दावी गर्दै मन्त्री महतोले संयुक्त राष्ट्रसंघले गरेको बर्गीकरणलाई शंकाको दृष्टिकोणले अहिले नै हेर्नु नहुने उल्लेख गरे । उनले माओवादीले विदामा बसेका, सुत्केरी भई घर गएका भनेकोले अहिले नै हतारमा प्रतिकृया दिन नसकिने बताए ।
अहिले सरकार परिवर्तनको खेलमा लाग्नुको औचित्य नहुने बताउदै मन्त्री महतोले डाक्टर बाबुराम भट्टराईकै नेतृत्वको सरकारले संविधान निर्माण गर्ने ठोकुवा गरेका छन् ।
प्रधानमन्त्री भट्टराईकै नेतृत्वको सरकारले शान्ति प्रकृया टुंगो लगाई संविधान निमार्ण गर्ने आधार तयार गरेको दाबी गर्दै यो सरकारको विकल्प नसोची यसैलाई राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने उनको धारणा थियो ।
मन्त्री महतो सप्तरीको हनुमाननगरमा छोराको शोकमा रहेका पार्टी कोषाध्यक्षलाई सान्त्वना दिन जानेक्रममा विराटनगर आइपुगेका हुन् ।