टोकियो – गत आइतबार कानागावा प्रिफेक्चरको योकोहामा शहरमा अन्तरराष्ट्रिय महोत्सब ’अर्थफेष्टा’ सम्पन्न भएको छ । उक्त फेष्टिबलमा नेपालको प्रतिनिधित्व गर्दै एनआरएन जापानले सक्रिय सहभागिता जनाएको छ । सो अवसरमा नेपाली सँस्कृति, नेपाली खाना र नेपाल चिनाउने खालका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
टोकियो नजिक रहेको कानागावा प्रिफेक्चरमा विभिन्न मुलुकका विदेशीहरुको उल्लेख्य बसोबास रहेको छ । विभिन्न देशका भेषभुषा, नाचगान, खेलकूद, फुड फेष्टिबल लगायतका कार्यक्रम रहेको अर्थफेष्टामा नेपालको तर्फबाट एनआरएन जापानले एउटा स्टल राखेर नेपाल चिनाउने कार्यक्रमहरु प्रस्तुत गरेको हो । सो अवसरमा नेपालको चिनारी दिलाउने खालका अंग्रेजी तथा जापानीमा लेखिएका पोष्टरहरु बितरण गरिनुकासाथै नेपाली मसला चिया बनाई जापानी, कोरियनर्, इन्डोनेसियन, चिनिया, भियतनामी लगायतका विदेशीहरुलाई बितरण गरिएको थियो ।
एनआरएन जापानका तर्फबाट कार्यसमितिका सदस्य हरिबहादुर पहारीको संयोजनमा सदस्यहरु देबिलाल भण्डारी, डण्डपाणी कँडेल, सन्दिप ढुङ्गाना, यशोदा बस्नेतलगायतका स्वयमसेवकहरुको सक्रियतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा फुकुओकादेखि जेनिश श्रेष्ठले पनि सहभागिता जनाएर सघाउनुभएको थियो । कार्यक्रममा नेपाली मसला चियासँगै कोकोनट बिष्कुट, निम्किन जस्ता खानेकुरा वितरण गरिएको थियो । फेष्टिबल स्थलमा प्रवेश गर्नासाथ सुगन्धित बासना आउने स्वादिष्ट मसला चियाले फेष्टिबलमा आएका अवलोकनकर्ताहरुलाई आकर्षित गरेको थियो । सो अवसरमा मसला चिया बनाउने तरिकाबारे जापानी भाषामा लेखिएको जानकारीमूलक प्रिन्ट पनि निःशुल्क बितरण गरिएको थियो । फेष्टिबलमा प्रिफेक्चरका उच्च पदस्थ ब्यक्तिहरु लगायत १०० भन्दा बढी ब्यक्तिहरुले नेपाली मसला चिया र बिष्कुटहरुको स्वाद चाखेका थिए । नेपाली खानाका परिकार, नेपाली भाषा, कला-सँस्कृति र भौगोलिक पक्षका बारेमा पनि फेष्टिबलका अवलोकनकर्ताहरुलाई जापानी भाषामा जानकारी गराईएको कुरा संयोजक हरि पहारीले बताउनुभयो । फेष्टिबलमा यशोदा बस्नेतले दुईवटा नेपाली संगीतमा नृत्य गरेर नेपालको साँस्कृतिक पक्षको परिचय दिलाएकी थिईन् ।
जापानमा नेपाल र नेपालीको चिनारी बढाउने अभियानमा उक्त फेष्टिबलमा सहभागिता जनाएर एनआरएन जापानले नेपालको प्रतिनिधित्व गर्न पाएकोमा सहभागीहरुले खुशी ब्यक्त गरेका छन् । ***