Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौ- सात मुख्य शिविरमध्ये ६ वटामा वर्गीकरण कार्य सकिँदासम्म झन्डै तीन हजार लडाकु अनुपस्थित हुने देखिएको छ ।
माओवादी लडाकु रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समिति मातहतको सचिवालयले मंसिर १२ गतेसम्म वर्गीकरण सक्ने भने पनि कैलालीमा एक दिन ढिला सुरु हुनुका साथै अन्य व्यवस्थापकीय समस्याका कारण त्यहाँको पूर्ण विवरण आउन बाँकी छ । कैलालीबाहेक ६ शिविरको वर्गीकरण सकिँदा २५ सय ८७ लडाकु अनुपस्थित देखिए । त्यो समेत पूरा हुँदा ‘गायब’ संख्या ३ हजार पुग्ने स्थिति छ । माओवादी लडाकुका डेपुटी कमान्डर तथा प्रवक्ता चन्द्रप्रकाश खनालले करिब २२/२३ सय अनुपस्थित हुने अनुमान गरिएकामा केही बढी देखिएको स्वीकार गरे ।
‘अशक्त, घाइते केही साथीको काठमाडौंमै गर्ने भनिएको वर्गीकरण बाँकी छ । त्यस्ता साथी करिब ५० को हाराहारीमा मात्रै हुनुहुन्छ । यस हिसाबले हामीले सोचेभन्दा बढी साथीहरू अनुपस्थित देखिनुभयो,’ माओवादी पोलिटब्युरो र सचिवालय सदस्यसमेत रहेका खनालले भने, ‘घर बिदामा बस्नुभएका धेरै साथी नफर्केको देखियो । केहीलाई समायोजनका सबै विषय नटुंगिएको र यो प्रक्रियामा सामेलै नहुनु भन्ने हल्लाले प्रभावित पारेको होला ।’
पहिलो डिभिजन इलाममा सर्वेक्षण टोलीको नेतृत्व गरेका सदस्य शम्भुराम सिंखडा, दोस्रो डिभिजन सिन्धुलीका टोली नेता सदस्य रामानन्द मिश्रा, तेस्रो डिभिजन चितवनका सचिवालय संयोजक बालानन्द शर्मा र चौथो डिभिजन नवलपरासीका सदस्य सनन्दन कुर्मीले सोमबार बेलुकी कान्तिपुरसँग कुरा गर्दै वर्गीकरण सकिएको जनाए । ‘हामीकहाँ त हिजै सकिएको थियो । अन्य व्यवस्थापन कार्य बाँकी रहेकाले आज आएका ४/५ जनालाई पनि वर्गीकरण गरिदिएको मात्र हो,’ सिन्धुलीका टोली नेता मिश्राले भने ।
पाँचौं डिभिजन रोल्पामा सुधारिएको परिचयपत्र वितरणमात्र बाँकी रहेको सशस्त्रका डीआईजीसमेत रहेका टोली नेता सिंहबहादुर श्रेष्ठले बताए ।’विगतमा परिचयपत्रमा धेरै संशोधन गरिएकाले वितरण गर्न र गरिएकालाई पनि नयाँ दिन बाँकी थियो । वर्गीकरण लगभग सकिएको छ तर मंगलबार नयाँ परिचयपत्र वितरणका क्रममा कोही आए उनीहरूको पनि वर्गीकरण गरिदिन्छौं,’ उनले भने ।
छैटौं डिभिजन सुर्खेतका टोली नेता दीपकप्रकाश भट्टले केही उच्च कमान्डरबाहेकको वर्गीकरण सकिएको बताए ।’मंगलबार गरिने परिचयपत्र वितरण र अन्य प्रशासनिक कामको व्यवस्थापनको क्रममा बाँकीको वर्गीकरण गरिनेछ,’ उनले भने । इलाम, सिन्धुली, चितवन र नवलपरासीमा भने अब वर्गीकरण नगरिने टोली नेताहरूले बताए ।
‘फाइल मिलाउनेलगायत व्यवस्थापकीय काममात्र बाँकी छ,’ इलामका टोली प्रमुख सिंखडाले भने । नवलपरासीका टोली प्रमुख कुर्मीले मंगलबार बिहान ९ बजे पत्रकार सम्मेलन गरी वर्गीकरण प्रक्रियाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने र सकभर बेलुकी नै काठमाडौं फर्किने तयारी रहेको बताए । कैलालीमा भने ढिला गरी सुरु भएको र थरूहट बन्दले सहायक शिविरका लडाकु ओसार्न ढिलाइ भएकाले मंसिर १४ सम्म वर्गीकरण जारी रहने भएको छ । वर्गीकरण सकिने अवधिसम्म करिब तीन हजार अनुपस्थित रहने देखिएबाट माओवादी सेनासँग सम्बन्ध विच्छेद गरेर गएकाले पाउने भत्ता र रासन खर्चबापतको रकम पार्टीले नै लिँदै आएको पुष्टि भएको छ ।
२०६३ मंसिरमा शान्ति सम्झौता गरी शिविर पठाएसँगै राज्यले प्रत्येक लडाकुलाई मासिक पाँच हजार भत्ता र सुगम, दुर्गम हेरी अनुपातमा मासिक तीन हजार रुपैयाँ दिँदै आएको थियो । एक महिनाअघि मात्रै प्रधानमन्त्री बाबुराम भट्टराईले लडाकुको मासिक भत्ता बढाएर ६५ सय रुपैयाँ पुर्‍याएका थिए । प्रतिलडाकु ८ हजार रुपैयाँका दरले माओवादी सेना छाडेका करिब तीन हजार जनाको भत्ता र रासनबापत मात्रै ५ वर्षमा पार्टीले करिब डेढ अर्ब रुपैयाँ लिइसकेको देखिएको छ ।
शिविरबाहिरका लडाकुले समेत भत्ता र रासन रकम बुझेका छैनन् । त्यसैको उदाहरण हुन्,  ऊर्जामन्त्री पोस्टबहादुर बोगटीकी छोरी प्रभा । ‘म ०६४ सालदेखि शिविरबाहिरै छु । भत्ताबापत कुनै रकम लिएकी छैन,’ एक वर्षयता सक्रिय पत्रकारिता गरिरहेकी प्रभाले भनिन् ।
स्रोतका अनुसार शिविरमै रहेका केही लडाकुले समेत भत्ता र रासनको सबै रकम पाउँदैनन् । पार्टीले शिविरमा बस्न, खान लाग्ने खर्च मात्र दिएर बाँकी आफैंले बुझ्ने गरेको स्रोतको दाबी छ ।
कान्तिपुर
तपाईको प्रतिक्रिया