Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौँ- बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि के-के न होला भन्दै उनका पक्षमा लागेका माओवादीका नेता-कार्यकर्ताले उनकै साढे दुईमहिने कार्यकालबाट वाक्क भएर आफ्नो बाटो बदल्न थालेका छन् । १ सय ४८ सदस्यीय केन्द्रीय समितिमा उनका पक्षमा रहेका २२ जनामध्ये अहिले आधाभन्दा बढी बिच्किएको स्रोतको दाबी छ ।
आफ्नो पक्षमा रहेका केन्द्रीय सदस्य र सभासद्हरूलाई खुसी पार्न यसबीचमा भट्टराईले चार पटक बालुवाटारमा खानपिनसहितको रात्रिकालीन बैठक आयोजना गरे पनि त्यसमा कुनै प्रगति नभएको एक नेताले बताए ।
स्रोतका अनुसार, अघिल्लो बिहीबार निवासबाट बोलाइएका भट्टराईपक्षीय नेताहरूले अब आफूले कसैलाई काँध नहाल्ने भन्दै आफूलाई भर्‍याङ बनाइएकोमा आपत्ति प्रकट गरेका थिए । बाबुराम प्रधानमन्त्री बनेपछि एकाएक टाढिएका पोलिटब्युरो सदस्य राम कार्कीलाई भारतका लागि राजदूत सिफारिस गरेर फकाउने प्रयास गरिए पनि उनी त्यसमा त्यति सन्तुष्ट छैनन् । एक केन्द्रीय सदस्यले भने- ‘राज्य समितिका सदस्यलाई मन्त्री बनाइएको छ, उहाँले राजनीति गर्दा जन्मेकाहरू मन्त्री भइसकेका छन् । उहाँ त हामीभन्दा वरिष्ठ हो, सहसचिव तहको राजदूत उहाँका लागि कुन ठूलो कुरा भयो र ?’ राजदूत पठाउनका लागि केही समय लाग्ने र त्यतिबेलासम्म वर्तमान सरकार नै रहन्छ/रहँदैन भन्ने टुङ्गो नलागेकाले पनि कार्की थप अन्योलमा रहेको बताइन्छ ।
बाबुरामलाई सुदूरपश्चिममा एक्लै काँध हाल्ने केन्द्रीय सदस्य खगराज भट्ट अहिले उनीसँग सबैभन्दा बढी चिढिएका छन् । अनेक नाममा कनिष्टलाई मन्त्री बनाउने तर सुदूरपश्चिमलाई सबै क्षेत्रमा उपेक्षा गर्ने भन्दै उनले गत साता बालुवाटारमा भट्टराईलाई साथ नदिने खुलै घोषणा गरेका थिए । ‘मलाई त विगतमा गल्ती गरिएछ कि जस्तो लागेको छ’- उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- ‘बाबुराम कमरेडको सेती-महाकालीमा एकजना पनि मान्छे नहुँदा मैले साथ दिएको हुँ र अहिले उहाँको सुदूरपश्चिममा राम्रै अवस्था छ । तर, आज उहाँले सुदूरपश्चिमलाई पूरै उपेक्षा गर्नुभएको छ ।’ खासमा उक्त दिनको भेला भट्टलाई फकाउनकै लागि आयोजना गरिएको भए पनि सफल नभएको बताइन्छ । आफूहरूलाई सधैँ लेखराज भट्टको छायाँमा राख्न खोजिएको भन्दै उनले चर्को विरोध गरेका थिए ।
युद्धकालमा बाबुरामका निजी सचिवका रूपमा काम गरेका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्याय (निर्मलकुमार) बाबुरामलाई पछिल्लो बेलामा साथ छोड्ने अर्का केन्द्रीय सदस्य हुन् । युद्धका बेला साथ दिएकालाई बाबुरामले नसम्झेको र आफ्नो टिममा समेत केटाकेटीलाई राखेको भन्दै उनले असन्तुष्टि जनाएका थिए । ‘त्यो भए हामी किन चाहियौँ र कमरेड ?’- उनको प्रश्न थियो ।
लाइनका हिसाबमा सुरुदेखि नै बाबुरामसँग नजिक रहँदै आएका र उनका पक्षमा पत्रपत्रिकामा लेख्दै आएका केन्द्रीय सदस्य वामदेव क्षेत्री पनि अहिले बाबुरामसँग असन्तुष्ट बनेका छन् । अर्थमन्त्री भएका बेला बाबुरामले उनलाई सहसचिवस्तरमा कृषि विकास बैङ्कको अध्यक्ष बनाएका थिए । तर, अहिले आफूभन्दा कनिष्टलाई धेरै महत्त्वपूर्ण जिम्मेवारी दिइएको उनको भनाइ छ ।
केही समयअघि काशी तिवारी हत्याकाण्डमा मुछिएपछि भूमिसुधार मन्त्रीबाट राजीनामा दिन बाध्य पोलिटब्युरो सदस्य प्रभु साह पनि भट्टराईसँग तीव्र असन्तुष्ट छन् । आफूलाई परेको बेला संरक्षण नगरेको र विपक्षीले भन्दैमा हत्याराका रूपमै व्यवहार गरेको भन्दै यसबाट तराईमा आफ्नो राजनीति समाप्त हुन लागेको उनको भनाइ छ । त्यसैगरी, नेकपा (एकीकृत) बाट गएका नवराज सुवेदीले पनि अहिले मौनता साँधिरहेका छन् । विगतमा भट्टराईका पक्षमा चर्को लबिङ गर्ने सुवेदी अहिले ‘सबै नेतासँग समान दूरीमा बस्नुपर्छ’ भन्दै हिँड्न थालेको एक नेताले बताए ।
यसअघि भट्टराईसँग युद्धकालमा कारबाही भोगेका र पछिल्लो पटक पालुङटार भेलाका सन्दर्भमा भट्टराईका पक्षमा ‘नोट अफ डिसेन्ट’ लेख्ने स्थायी समिति सदस्य दीनानाथ शर्मा भट्टराईलाई छोडेर अध्यक्ष पुष्पकमल दाहालका पक्षमा लागिसकेका छन् भने आर्थिक मामिलामा कारबाही भोगेर भर्खरै सुरु भएको केन्द्रीय समितिको बैठकमा भाग लिन आइपुगेका रामप्रसाद बञ्जाडेले भट्टराईको साथ छोडेर दाहाललाई साथ दिएका छन् । यसअघि भट्टराइै पक्षमा नलागे पनि उनीसँग निकट सम्बन्ध राख्ने डिलाराम आचार्य र गिरिधारीलाल न्यौपाने पनि ‘बाबुराम यस्तै रहेछन्’ भन्दै उनीसँगको सम्बन्ध तोडेर दाहाललाई साथ दिएका छन् ।
उता, दाहालको कार्यशैली चित्त नबुझेर उपाध्यक्ष मोहन वैद्य र भट्टराई मिल्नुपर्दछ भन्दै धोबीघाट भेला गर्न पहल गर्ने पोलिटब्युरो सदस्य स्वनाम साथीले भट्टराईलाई ‘धोकेबाज’ भन्दै बैद्यतिरै लागेका छन् । विगतमा भट्टराईप्रति सहानुभूति राख्ने केन्द्रीय सदस्य ओमप्रकाश पुन, बाबुराम नेपाली र जगत पार्की पनि वैद्यतिरै लागेका छन् भने दीपबहादुर योञ्जन र राजु खड्का अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठतिरै लागेका छन् ।
अब उपाध्यक्ष भट्टराईका पक्षमा स्थायी समिति स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी एक्लै छन् भने पोलिटब्युरोमा आफ्नै श्रीमती हिसिला यमी, उनका राजनीतिक सल्लाहकार रहेका देवेन्द्र पौडेल र मन्त्री नदिएकाले लाइन परिवर्तन गर्नै लागेपछि भूमिसुधारमन्त्री बनेका भीमप्रसाद गौतम मात्र रहेका छन् भने केन्द्रीय समितिमा भक्ति पाण्डे, गङ्गा श्रेष्ठ, कुमार पौडेल, उनका प्रेस सल्लाहकार रामरिझन यादव, बेदनिधि अधिकारी, सविना अर्याल, कृष्ण शर्मा र लीलबहादुर थापा मात्र रहेका छन् ।
बाबुराम भट्टराईका पक्षमा नेताहरू भड्किनुको कारणबारे जिज्ञासामा एक केन्द्रीय सदस्यले भने- ‘सायद बाबुरामजीलाई धेरै मानिस चाहिएकै छैनन्, होहल्लाकै भरमा प्रधानमन्त्री भइहाल्नुभयो, बाँकी काम गर्ने हिसिलाजी छँदै हुनुहुन्छ ।’
तपाईको प्रतिक्रिया