Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024
काठमाडौं- भावी नेपालको नक्सा कोर्ने जिम्मेवारीसहित प्रमुख तीन दलले राज्य पुनर्संरचना आयोग गठन गर्ने सहमति गरेका छन् ।
आफ्नो दलले नेतृत्व पाउनुपर्ने भन्दै माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले अडान नछाडेपछि अध्यक्ष भने राखिएन । बैठकको अध्यक्षता बर्णानुक्रम अनुसार गर्ने र संयोजन संस्कृति तथा संविधानसभा मन्त्रालयका सचिवले गर्ने सहमति भएको छ ।
मधेसी मोर्चासहित तीन दलको बैठकमा हाललाई अध्यक्ष नराखिकनै राज्य पुनर्संरचना आयोग गठन गर्ने सहमति भएको सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले जानकारी दिए ।
स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले दलहरुको सिफारिसका आधारमा आयोग गठन गर्ने छ । आयोग ९ सदस्यीय बनाउने सहमति यसअघि नै भएको थियो ।
शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सोमबार साँझ बसेको माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाको बैठकमा आयोगका अध्यक्ष र सदस्यका लागि विभिन्न विज्ञबारे छलफल भए पनि निर्णय हुन सकेको थिएन ।
बैठक स्रोतका अनुसार आयोग अध्यक्षमा गणेशमान गुरुङ, पद्मरत्न तुलाधर, पीताम्बर शर्मा, केदारभक्त माथेमा, कृष्ण खनाललगायत विज्ञमध्ये एकलाई राख्ने विषयमा छलफल भएको थियो । कुलचन्द्र गौतम, वीरेन्द्रकुमार मिश्र, विमल कोइराला, माणिकलाल श्रेष्ठ, परशुराम तामाङ र बुद्धिनारायण श्रेष्ठका नाम पनि बैठकमा आएका थिए । बैठकमा माओवादी र मधेसी मोर्चाले साझा नाम प्रस्ताव गरेका थिए । एमाले र कांग्रेसले एक-अर्काका प्रस्तावमा सहमति जनाएका थिए ।
सत्तारूढ घटकले वामपन्थी बुद्धिजीवी एवं मानव अधिकारकर्मी तुलाधर, माणिकलाल र तामाङमध्ये एकलाई अध्यक्ष बनाउन प्रस्ताव गरेको थियो ।
एमालेले गुरुङ र शर्मामध्ये एकलाई बनाउने प्रस्ताव गर्दा कांग्रेसले दुईमध्ये जो भए पनि आफूलाई मान्य हुने जनाएको थियो । कांग्रेसले प्रस्ताव गरेकामध्ये नापीविद् बुद्धिनारायणका नाममा एमालेले पनि सहमति जनाएको थियो । श्रेष्ठसँगै कांग्रेसले गौतम, माथेमा, खनाल, कोइराला र मिश्रका नाम लिएको थियो ।
बैठकबाट बाहिरिँदै गर्दा नेताहरूले धेरै विज्ञका विषयमा छलफल भइरहेको र मंगलबार बिहान निर्णयमा पुग्ने प्रतिक्रिया दिएका छन् । अध्यक्षमा सर्वसम्मत निर्णय गरेपछि तीन दल र मोर्चाले दुई/दुई सदस्यको नाम प्रस्ताव गर्ने सहमति भएको छ ।
कांग्रेसले अध्यक्षमा आफूले प्रस्ताव गरेका व्यक्तिमध्येबाटै दुई सदस्यको प्रस्ताव गर्नेछ भने अन्य दलले अलग्गै नामावली प्रस्ताव गर्ने तयारी गरेका छन् ।
सदस्यका लागि माओवादीले स्टेला तामाङ र यमबहादुर किसानको नाम प्रस्ताव गर्ने लगभग निश्चित छ भने एमालेले सर्वराज खड्काको नाम प्रस्ताव गर्दैछ । अर्का एक सदस्यमा एमालेले परशुराम मेघी गुरुङ र बिना वैद्य मल्लमध्ये एकलाई अघि सार्ने सम्भावना छ ।
तपाईको प्रतिक्रिया