Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं–  छ वर्षअघि विवाह गरेकी रामघाट-५ सुर्खेतकी प्रतिमा ओलीले विवाहपछि माइती घरमा आउजाउ गर्न त परै जाओस् अहिलेसम्म बाबुआमासँग बोल्नसमेत पाउनुभएको छैन ।
सोही स्थानका हासिकमल धौलाकोटीसँग अन्तर्जातीय विवाह गरेकै कारण उहाँ माइतीबाट टाढा हुनुपरेको हो । विवाहपछि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा बस्दै आउनुभएकी उहाँले कक्षा १२ सम्मको अध्ययन सक्नुभएको छ । नेपाली सेनाका सिपाही आफ़्ना पति हासिकमलसँग विवाह भएको तीन वर्षमा छोरा जन्माएपछि माइतीको मन पग्लेर बोलाउँछन् की भन्ने प्रतिमाको आशासमेत अहिले तुहिएको छ ।
‘सँगसँगै अध्ययन गर्दागर्दै श्रीमान् सेना बन्नुभयो, अनि सुरुदेखिकै मायाप्रेमलाई मूर्तरूप दिन विवाह गर्‍यौं,’ विगतलाई कोट्याउँदै प्रतिमाले भन्नुभयो- ‘अन्तर्जातीय विवाह गरेको भनेर बाबुआमाले प्रहरीसमेत गुहार्नुभयो, प्रहरीले हामीसँग सोधपुछ गरेर राजीखुसीले विवाह गरेको भनेपछि आमाबाबालाई फर्काए देखि न त माइत जान पाइयो, न त बोल्न नै ।’
विवाह दुई आत्माको मिलन भएकैले आत्मा साक्षी राखेर अन्तर्जातीय विवाह गरेको उल्लेख गर्दै प्रतिमा भन्नुहुन्छ- ‘जातपातको कुरा गरेर पवित्र आत्माको मिलनलाई कमजोर बनाउनु हुँदैन, यसले समाजमा विकृति भित्रयाउने सिवाय केही नहुने भएकाले अन्तर्जातीय विवाहलाई समाजबाटै प्रोत्साहन गरिनुपर्छ ।’ यस्तो कथा प्रतिमाको मात्र छैन ।
सुर्खेतको सहारे-८ सिमघाटकी भगवती विक र सहारे-५ आँपखोलीका सन्दिप ओलीबीच अन्तर्जातीय विवाह भएको एक वर्ष बितिसक्दा पनि मन खोलेर घर जान सक्नुभएको छैन । घरमा गएको समयमा छिमेकीले तल्लो जातकी केटीलाई बुहारी बनाएको भन्दै केटाका आमाबाबुलाई घोचपेच गरिरहने भएकाले घरमा गए पनि दुईचार दिनमै फर्केर वीरेन्द्रनगर बस्दै आउनुभएको छ ।
सुर्खेतमा मात्रै अन्तर्जातीय विवाह गर्ने जोडीको सङ्ख्या १० देखि १२ रहेको जनाइएको छ । सरकारले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्ने भन्दै रु एक लाख पुरस्कार दिने घोषणा गरेपछि केही जिल्लामा यसले विकृतिसमेत ल्याएको पाइएको छ भने कतिपय जिल्लामा प्रोत्साहन पुरस्कार वापतको रकम निकाशाका लागि लामो सरकारी प्रक्रिया पूरा गर्नुपर्ने कारणले हम्मेहम्मे भएको छ ।
सरकारी तथ्याङ्क अनुसार अन्तर्जातीय विवाह गर्ने जोडीहरूको सङ्ख्या मध्य पश्चिम क्षेत्रका जिल्लामा बढी पाइएको छ । सरकारले अहिलेसम्म करिब ५० जना अन्तर्जातीय विवाहका जोडीलाई प्रोत्साहन वापतको रकम वितरण गरिसकेको जनाए पनि प्रक्रिया झन्झटिलो भएका कारण यसप्रति अन्तर्जातीय जोडी त्यति उत्साहित देखिँदैनन् ।
कतै अन्तर्जातीय विवाह गरेका कतिपय जोडीले सहज रूपमा सामाजिक मान्यता पाएका छन् भने कतिले तल्लो र उपल्लो जातको भन्दै सामाजिक वहिष्करणमा परेर कष्टप्रद जीवन बिताउन बाध्य भएका छन् । निकै लामो समयदेखि नै अन्तर्जातीय विवाह गर्ने परम्परा रहे पनि पछिल्लो समयमा सरकारले राहतस्वरूप पुरस्कारको व्यवस्था गरेपछि यसतर्फ आकर्षण बढ्दो पाइएको छ, जसका कारण आर्थिक विकृतिसमेत मौलाइरहेको भेटिन्छ ।
अन्तर्जातीय विवाह गर्नुभएकी वाणगङ्गा-९ देवीपुरखाला, कपिलवस्तुकी २२ वर्षीया शारदा विकको जीवन अहिले अन्योलमा बितिरहेको छ । सोही स्थानका देवेन्द्र केसीसँग २०६७ जेठमा विवाह गरेकामा श्रीमान् पक्षकाले जात नमिल्ने भन्दै विवाह अस्वीकार गरेपछि अहिले कानुनी उपचारका लागि अदालती प्रक्रियामा जानु परेको छ ।
‘विवाहपछि ससुराले तल्लो जातकी केटीसँग विवाह गरेको भन्दै छुटाउने कोसिस गरेपछि भागेर पोखरा गई मजदुरी गर्दै सात महिना बिताइयो’- तीतो अनुभव साट्दै शारदाले अगाडि थप्नुभयो- ‘पछि केटाका बाबुले मिलाउने भन्दै छोरालाई बेपत्ता पारेपछि अहिले अर्कै केटीसँग विवाह गराइदिएकाले कानुनी प्रक्रियामा जानुपर्‍यो ।’
जिल्लामा कार्यरत दलित महिला संघ लगायतका अधिकारकर्मी संघ-संस्थाको पहलमा अहिले क्षतिपूर्तिवापत रु ९५ हजारमध्ये रु ६० हजार पाइसकेको भए पनि बाँकी जीवन कसरी बिताउने भन्ने अन्योलमा रहेको उहाँ बताउनुहुन्छ । तर, सोही जिल्लाको कोपवा-७ लोहरवगियाकी मनिका परियारको भने अन्तर्जातीय विवाह सुखमय बनेको छ ।
वि.सं. २०६६ मङ्सिरमा विवाह गर्नुभएकी मनिकाले ड्राइभर पेसा गर्ने वसन्तबहादुर घर्तीसँग अन्तर्जातीय विवाह गरेवापत सरकारले प्रदान गरेको रु एक लाखको रकमबाट दुईकोठे घर बनाई दाम्पत्य जीवन सुखमय रूपमा बिताइरहनुभएको छ । मनिका भन्नुहुन्छ- ‘अहिले त घरपरिवार पनि सँगै हुनुहुन्छ, एक वर्षको छोरासमेत साथमा छ ।’
अन्तर्जातीय विवाह गरेर समाजमा स-सम्मान बस्नेहरू एकातिर छन् भने अर्कोतिर अन्तर्जातीय विवाहकै कारण दाम्पत्य जीवन टुङ्ग्याएर बाँकी जीवन कसरी बिताउने भन्ने चिन्तामा अर्कोथरि छन् । सुरुमा माइती पक्षले तल्लो जातको केटासँग विवाह गरेको भन्दै वैवाहिक जीवन सफल हुन नदिने धम्की दिने दिपायल-सिलगढी-४ भैरवटोल, डोटीका किशोर दियालीलाई अहिले सहज भएको छ ।
वीरेन्द्रनगर-४ सुर्खेतकी शर्मिला बिसीसँग १० वर्षमा विवाह गर्नुभएका किशोरलाई अहिले माइती पक्षले राज्यबाट प्राप्त हुने पुरस्कार प्राप्त गर्नका लागि आवश्यक कागजात जुटाइदिने तयारी गरिरहेका छन् । किशोर भन्नुहुन्छ- ‘सुरुमा अलिकति अप्ठ्यारो भए पनि अहिले माइती पक्षले नै कागजातका लागि सहयोग गर्दै आउनुभएको छ ।’ उता, दुर्गामाडौं-४ डोटीकै अनिल गहतराजसँग अन्तर्जातीय विवाह गर्नुभएकी २० वर्षीया अमृता मगरसँग भने विवाह भएको डेढ वर्षपछि बल्लतल्ल माइतीसँग बोलचाल भएको तीतो अनुभव छ ।
‘सुरुमा त घर नै हुन नदिने भन्दै बोलचाल बन्द भएको थियो, तर अहिले माइतीले सन्चो विसन्चोमा हेर्दै आउनुभएको छ’- उहाँ भन्नुहुन्छ । अन्तर्जातीय विवाह गरेका जोडीलाई सरकारले विवाह दर्ता भएको ३५ दिनपछि प्रोत्साहन वापतको पुरस्कार दिने प्रक्रिया अगाडि बढाउने र दुईचरणमा गरी विवाहित जोडीको बैंक खातामा रकम जम्मा गरिदिने प्रक्रिया अवलम्बन गरेको छ ।
केही जिल्लामा भने पूर्वतयारी गरेर अन्तर्जातीय विवाहको नाटक गरी सरकारी पुरस्कार प्राप्त गर्ने विकृतिसमेत बढ्दै गइरहेको पाइएको छ ।
तपाईको प्रतिक्रिया