काठमाडौं– माओवादी सभासद् बालकृष्ण ढुङ्गेलको सर्वस्वसहित जन्मकैदमा माफी दिने सरकारको सिफारिसको विपक्षीमात्र होइन माओवादी नेताले पनि असन्तुष्टि जनाएका छन् ।
माओवादी सभासद् सीपी गजुरेलले द्वन्द्वकालको मुद्दा फिर्ता लिने प्रक्रियामा सरकारले गलत गरेको भन्दै एक एक वटा भन्दा दलहरुको सहमतिमा सबै मुद्दाहरु एक मुष्ट रुपमा फिर्ता लिनु पर्ने धारणा राखे । उनले भने– ‘बालकृष्णजीको मुद्दामा सरकारले गाईजात्रा गरेको छ । यसले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको छ । राष्ट्रपतिले मुद्दा फिर्ता लिए पनि विवाद नलिए पनि विवाद ।’
राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा नेता गजुरेलले विवातित बनाएर आलंकारिक राष्ट्रपतिलाई अधिकार लिन बाध्य पार्ने स्थिति सिर्जना भएको बताए ।
संविधानको एघारौं संसोधन विद्येयक पारित हुन नदिने चेतावनी
गजुरेलले सरकारले संसदमा प्रस्तुत गरेको अन्तरिम संविधानको एघारौं संसोधन विद्येयक पारित हुन नदिने चेतावनी दिए । राज्य पुर्नसंरचना समितिको प्रतिवेदन उल्टाउन विज्ञ समूह गठन गर्ने गरी संविधान संसोधन गर्न लागेको दावी गर्दै उनले विद्येयकको विरोध जारी राख्ने स्पष्ट पारे ।
‘ाज्यपुर्नसंरचना समितिले प्रतिवेदन दिईसकेको अवस्थामा विज्ञ समूह गठन गरेर प्रतिवेदन उल्टाउने षडयन्त्र भएको छ । यो हामीलाई मान्य हुँदैन,’ उनले भने । उनले पार्टी अध्यक्ष र प्रधानमन्त्री पार्टीको मुल एजेण्डा विपरीत गएको भन्दै नेतृत्वले आत्मसर्मपण गरेको आरोप लगाए ।
उनले सरकारको काम कारवाहीले शान्ति प्रक्रिया, संविधान निर्माण र शुसासन कायम हुन नसकेको भन्दै पार्टीमा सल्लाहनै नगरी चार बुँदे, सात बुँदे, विप्पा जस्ता सम्झौता गर्ने सरकारको जिम्मा आफूहरुले लिन नसक्ने स्पष्ट पारे । उनले प्रधानमन्त्रीको कार्यशैलीले आफूहरुलाई पनि अप्ठ्यारोमा पारेको दावी गरे ।
सचिव गजुरेलले मन्त्रिपरिषद विस्तारमा समेत पार्टीमा छलफल नगरी अध्यक्ष र प्रधानमन्त्रीले आफूखुसी गरेको दावी गर्दै सधैंको फस्ट प्रधानमन्त्री बाबुराम भट्टराई जम्बो मन्त्रिपरिषद गठनमा पनि फस्ट भएको भन्दै ब्यङग्य गरे ।
सात बुँदे सम्झौता अनुसारको सेना समायोजन आफूहरुलाई अस्विकार भएको भन्दै गजुरेलले पैसाको लागि आफूहरुले सेना समायोजनको प्रक्रियाको विरोध नगरेको दावी गरे । उनले भने– ‘अनमिनले समायोजनका लागि योग्य ठहर गरेको सबैलाई समायोजन गरौ, एक रुपैया नदिए पनि हुन्छ । हामिले पैसाकोलागी युद्ध गरेको होइन ।’
उनले आफूहरुले शिविरमा रहेका लडाकुहरुलाई अपमानित ढंगले समायोजन हुन नजानुस भनेर निर्देशन जारी गरी सकेको जानकारी दिदै अपमानित ढंगले समायोजन गर्ने कुरामा एमाले र काग्रेसलाई दोष दिनु भन्दा पनि लडाकुका सुप्रिम कमाण्डर समेत रहेका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीले नै गलत गरेको यसलाई नसच्याई अगाडि बढ्न नसक्ने स्पष्ट पारे ।