Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, केन्द्रले अनेसास डि.सी. च्याप्टरको सहयोगमा भर्जिनियास्थित आर्लिङटन केन्द्रीय पुस्तकालयको सभा कक्षमा अक्टोबर ३०, २०११ आईतबारका दिन १०२औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्ती तथा  हरेक दुई दुई बर्षमा प्रदान गरिने उत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहको आयोजना गरयो । संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत डा. शंकरप्रसाद शर्माले पानसमा बत्ती बालेर समारोहको विधिवत् उदघाटन गर्नुभएको थियो ।

उदघाटन पश्चात् राजदूत लगायत कार्यक्रममा उपस्थित साहित्य स्रष्टाहरु तथा साहित्यप्रेमी सहभागीहरुले स्वर्गीय महाकविको तस्वीरमा माल्यार्पण तथा फूलका गुच्छाहरु अर्पण गर्दैं महाकविप्रति आ-आफ्नो भावपूर्ण श्रद्धान्जली अर्पण गर्नुभएको थियो । अनेसास डि.सी च्याप्टरका अध्यक्ष प्रकाश नेपालले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे पश्चात दोहरी गीतका प्रसिद्ध कलाकार रामप्रसाद खनालले महाकविको रचना कुन मन्दिरमा जान्छौ यात्री…….. गीत गाएर श्रोताहरुलाई भावविभोर बनाउनुभयो । तत्पश्चात अनेसासका पूर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार बसन्त श्रेष्ठले महाकविको संक्षिप्त जीवनीको विभिन्न रोचक प्रसंगहरु उल्लेख गर्दै महाकविको लेखनकला र बाकचार्तुयको चर्चा गर्नुभयो । त्यसपछि बरिष्ठ साहित्यकार तथा अनेसासको संस्थापक अध्यक्ष तथा बर्तमान बोर्ड अफ ट्रष्टीका अध्यक्ष होमनाथ सुवेदीले डायस्पोरामा नेपाली भाषा, साहित्य कला र संस्कृतिको विकास र अनेसासले यसमा पुरयाएको योगदानको विस्तृत बिबेचना गर्दै १८ ओटा पुरस्कारको स्थापनाको ऐतिहासिक सिहांबलोकन गर्नुभएको थियो ।

त्यसपछि प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माले सर्बोत्कृष्ट नारी हस्ताक्षरका लागि डिल्लीराम तिमसिना स्मृति पुस्तक पुरस्कार अमेरिकी डलर ४०० र सम्मानपत्र बोष्टन निवासी श्रीमती भारती गौतमलाई प्रदान गर्नुभयो । त्यस्तै सर्वोत्कृष्ट नेपाली गीती कविताका लागि अनेसास हरिभक्त कटुवाल स्मृति पुस्तक पुरस्कार अमेरिकी डलर २०० र सम्मान–पत्र नरबहादुर बिसीलाई प्रदान गर्नुभयो भने सर्वोत्कृष्ट धवलागिरि अञ्चलका पुस्तकका लागि अनेसास रोहिणी शर्मा सर्वोत्कृष्ट पुस्तक पुरस्कार अमेरिकी डलर २०० र सम्मान–पत्र भुपिन व्याकुललाई प्रदान गर्नुभयो । त्यस्तैगरी तृतीय अनेसास डायस्पोरा नृपध्वज कार्की नेपाली साहित्य पुरस्कार अमेरिकी डलर ५०० र सम्मान–पत्र बेलायत निवासी कृष्ण बजगाई उपस्थित हुन नसक्नु भएकोले उहांको आदेशअनुसार श्रीमती नन्दादेवी सुबेदीलाई प्रदान गरियो । पुरस्कार विजेताहरु क्रमश भारती गौतम, नरबहादुर बिसी र भूपिन व्याकुलले पुरस्कार ग्रहण गर्दै आ-आफ्नो मन्तव्य दिनुभएको थियो ।

अमेरिकी भ्रमणमा रहेका नेपालका साहित्यकार बालकृष्ण भटराईलाई खादा ओढाएर सम्मान गरियो । त्यस्तै अनेसासका बोर्ड अफ ट्रष्टीका सम्पृ्र्ण सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम थियो, तर सबै ट्रष्टीहरु उपस्थित हुन नसक्नु भएकोले उपस्थित ट्रष्टीहरु सर्बश्री होमनाथ सुबेदी, शिवप्रसाद सत्यल, तिर्थराज पाण्डेलाई सम्मान गरियो ।

तत्पश्चात, राजदूत डा. शंकरप्रसाद शर्माले होमनाथ सुबेदीले लेख्नुभएको प्रेम दिवस कवितासंग्रह र डा. मोहनप्रसाद जोशीको कहां छ ठाउं कवितासंग्रहको लोर्कापण गर्नुभयो भने साहित्यकार गंगा लिगलले लेख्नु भएको पत्र मन्जुषा चिठीपत्रको संगालो पुस्तकको विमोचन अबैतानिक नेपाली बाणिज्यदूत प्रेमराजा महतले गर्नुभएको थियो । कहां छ ठाउं र पत्र मन्जुषाको समिक्षा बरिष्ठ साहित्यकार होमनाथ सुबेदीले गर्नुभएको थियो भने प्रेमदिवसको समिक्षा गीतकार नरबहादर बिसीले गर्नुभएको थियो ।

त्यसपछि प्रमुख अतिथि डा. शंकरप्रसाद शर्माले आफ्नो मन्तव्य राख्दै अनेसासले प्रवासमा बसेर नेपाली भाषा र साहित्यको लागि गरेका कार्यहरुको प्रशसा गर्नुभएको थियो ।

अनेसासका आजिवन सदस्य तथा १०२ औ देवकोटा जयन्ती समारोह समितिका सदस्य खेम भट्टचनले उपस्थित पाहुनाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

समारोहको अध्यक्षता अनेसास केन्द्रीय कार्यसमितिका महासचिव श्रीमती गीता खत्रीले गर्नुभएको थियो । अन्तमा प्रमुख अतिथि लगायत नेपालबाट र बोष्टनबाट पुरस्कार ग्रहण गर्न आउनुभएका साहित्य स्रष्टाहरुलाई बधाई दिदै, पुरस्कार प्रायोजकहरुलाई सिर्जनात्मक कार्यका लागि पुरयाउनुभएको योगदानको लागि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो । कार्यक्रमको संचालन अनेसास डि.सी च्याप्टरका महासचिव बिजय थापाले गर्नुभएको थियो ।

समयको अभावले गर्दा दुई बजे देखि चार बजेसम्म उक्त पुस्तकालयकै विशेष अध्ययन कक्षमा १० जना साहित्यकारहरुले विभिन्न विषयहरुको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रहरुको संकलन गरेर छ महिनाभित्रै एउटा पुस्तक प्रकाशन गरिने लक्ष्य राखिएकोछ ।  त्यसैगरी कविता बाचन पनि औपचारिक कार्यक्रम शुरु हुनुभन्दा अगाडि नै सम्पन्न गराइएको थियो । ***

तपाईको प्रतिक्रिया