शनिबार, बैशाख ०१, २०८१
Saturday, April 13, 2024

पाल्पा – पाल्पाली युवाले वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै अभियान थालेका छन्। ‘बाबुरामलाई काम गर्न देउ’ लेखिएका टि-सर्ट लगाएर युवाले पार्टी भन्दा माथि उठेर सबैले राम्रो गर्नेलाई साथ दिनुपर्ने बताए।

बुधबार तानसेनमा पत्रकार सम्मेलन गरेर उनीहरुले योग्यलाई मौका दिनुपर्ने बताए। कुनै दलसँग आबद्ध नभएको र सचेत नेपाली जनताका हैसियतले यस्तो अभियान सुरु गरेको उनीहरुले बताए।

सरकारका राम्रा कामको प्रशंसा गर्नुपर्छ, अखिर कसैलाई त विश्वास गर्नै पर्‍यो’ अभियानका अगुवा सागर घिमिरेले भने ‘परीक्षामा सँधै प्रथम भएका, कुशल अर्थमन्त्री भैसकेका र अहिलेसम्म जनचाहना बुझेर अघि बढेका प्रधानमन्त्री भएकाले हामीले उहाँलाई समर्थन गरेका हौँ।’

उनलाई अझै हौसला दिन यस्तो अभियान थालेको उनीहरुले बताए। अर्का अभियान्ता रामचन्द्र नेपालले अहिलेका भरोसायोग्य र जनताका प्रिय प्रधानमन्त्री भएकाले उनलाई काम गर्नका लागि हौसला दिन यस्तो अभियान चलाएको बताए। उनीहरुले यस्तै सन्देशका स्टिकर समेत तैयार पार्ने बताएका छन्।

तपाईको प्रतिक्रिया