Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
काठमाडौं- एकीकृत नेकपा माओवादीको मोहन वैद्य पक्षले तीन दल र मधेशी मोर्चाबीच मंगलबार भएको सात बुँदे सहमति खारेज गर्न माग गरेको छ । सात बुँदे सम्झौता खारेज गरेर नयाँ सम्झौता नगरे आन्दोलन गर्ने चेतावनी पनि बैद्य पक्षले दिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरेर महासचिव रामबहादुर थापा ‘बादल’ले मंगलबारको रातलाई कालो रातको संज्ञा दिदै सम्झौता धेरै दिन नटिक्ने दाबी गर्नुभयो ।
‘यो सम्झौता देश र जनताको विरुद्ध छ’, महासचिव बादलले भन्नुभयो, जनसेना विघटन गर्ने गरि भएको यो सहमति धेरै दिन टिकदैन ।’ सात बुँदे सहमतिलाई बादलले दक्षिणपन्थी विसर्जनवादको संज्ञा दिएको छ । महासचिव बादलले मंगलबार सम्झौता गर्नेहरु साम्राज्यवाद र सामन्तवादीका दलालहरु भएको आरोप लगाउनु भयो । आफूहरु सम्झौताको आक्रोसभित्र रहेको ज्वालामूखी बोकेर उपस्थित भएको बादलको भनाई छ ।
‘सम्झौता गरेर सामन्तहरुले भोज खाए, उनिहरुको आनन्द क्षणिक हो’, महासचिव बादलले भन्नुभयो, ‘यो क्षणिक आनन्द धेरै दिन टिक्दैन ।’
लडाकुलाई विसर्जन गरेपनि अरु लाखौ लडाकु जन्मने बादलले चेतावनी दिनुभयो । महासचिव बादलले सात बुँदे सम्झौता गर्ने माओवादी अध्यक्ष, काँग्रेस सभापति, एमाले अध्यक्ष र मधेशी मोर्चाका नेताहरुले नागरिकको सपनालाई चकनाचुर पारेको आरोप लगाउनु भयो ।
वैद्य पक्षले सम्झौता अनुसार सेना समायोजन नहुने र कब्जा सम्पत्ती पनि फिर्ता नहुने अडान राखेको छ । यस्तै वैद्य पक्षले सामायोजनको मोडालिटी पचास पचास प्रतिशतका आधारमा हुनुपर्ने, समायोजन व्यक्तिगत आधारमा नभई समूहगत हुनुपर्ने, निशस्त्र नभई सशस्त्र समायोजन हुनु पर्ने अडान पनि राखेको छ । समायोजन भएर बन्ने महानिर्देशनालयको नेतृत्व लडाकुले गर्न पाउनु पर्ने र कब्जा सम्पत्ती वैकल्पिक व्यवस्था गरेर मात्रै फिर्ता गर्नु पर्ने माग वैद्य पक्षले राखेको छ ।
पत्रकार सम्मेलनमा एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन वैद्यले सरकार निर्माण हुनुअघि मधेशी मोर्चासँग भएको चार बुँदे सहमति, भारतसँग भएको बिप्पा र मंगलबारको सात बुँदे सहमतिले राष्ट्रियतामाथि हस्तक्षेप गर्ने काम भइरहेको आरोप लगाउनुभयो । वैद्यले आफूहरुले नेतृत्व मान्दै आएको पक्षबाट नै पार्टीको सिद्धान्त उल्लघंन गरिरहेको बताउनु भयो । हाम्रो बिरोध कोही व्यक्ति विशेष प्रति लक्षित छैन’, उपाध्यक्ष किरणले भन्नुभयो, नेतृत्वलाई सच्चिने मौका दिनका लागि बिरोध गरेका हौँ ।’ नयाँ नेपालको निर्माणका लागि लडेको सेनालाई विसर्जन गर्नु जनताप्रतिको गद्धारी भएको उपाध्यक्ष किरणको भनाई छ ।
‘एकता जनता देशका लागि हो’, पार्टी भित्रको विवादबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा किरणले भन्नुभयो, ‘देश र जनताकै विरुद्ध निर्णय भए एकताको के काम ?’ पार्टीले बेइमानी गरे पार्टी फुट्न सक्ने उपाध्यक्ष किरणले बताउनुभयो । सेनाको समूहगत समायोजना हुनुपर्ने वैद्यको भनाई छ ।
वैद्यले लडाकुको बलिदानीलाई बिर्सेर नयाँ संविधान नबन्ने बताउनुभयो । उहाँले पार्टी नेतृत्वमा अवसरवादी विचलन आएको आरोप लगाउनुभयो । आफ्नो पक्षमा बहुमत भएको वैद्यले दावी गर्नु भयो । पार्टीमा रहेका विचारबारे पाँच वुँदे विधि निर्माण गरेको वैद्यले बताउनुभयो । उपाध्यक्ष बैद्यले सम्झौताको विरोध गर्दै पार्टी नफुट्ने भन्दै गलत गर्नेहरुको हिसाव किताव हुने चेतावनी दिनुभयो ।
जनसेनाको सम्मानजनक समायोजन नभए अर्को जनआन्दोलन हुने वैद्य पक्षले चेतावनी दिएको छ ।
तपाईको प्रतिक्रिया