काठमाडौं- आज पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यअनुरूप श्रद्धापूर्वक अस्ताउँदो सूर्यलाई पूजाआजा अर्चना र अर्घ्य दिइ भोलि बिहान उदाउँदो सूर्यलाई पूजाआजा र अर्घ्य दिई छठ पर्व सम्पन्न गरिंदैछ ।
सूर्यको आराधना तथा व्रत पूजालाई ‘छठ’ पर्व भन्ने चलन छ । चैत महिनाको शुक्लपक्षमा ‘चैती छठ’ र कात्तिक महिनाको शुक्लपक्षमा ‘कात्तिकी छठ’ मनाउने परम्परा रहे पनि कार्तिकी छठको महत्व ठूलो भएकाले धेरै जसो श्रद्धालुहरूले कार्तिकी छठ मनाउने गरेका बुझिएको छ ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रूपमा रहेको यो पर्वलाई सूर्य षष्ठी, स्कन्ध षष्ठी र छठी मइया आदिको नामले पुजिन्छ । छठ पर्वका अवसरमा तराईका नदी–तलाउमा श्रद्धालु भक्तजनको भिड लाग्ने गर्छ ।
छठ पर्वको रोचक पक्ष अस्ताउँदो सूर्यको पूजाआजा अघ्र्य दिइ रातभर व्रत, भजन किर्तन गरी उदाउँदो सूर्यको पूजाअर्चना अघ्र्य दिइ व्रत समाप्ति गरिने भएकाले छठपर्वलाई महत्वपूर्ण मानिन्छ ।
श्रद्धालु भक्तजनका अनुसार सात्विक र श्रद्धाका साथ गरिने यस पूजाबाट सुख शान्ति, धनधान्य र पुत्र प्राप्ति हुने तथा विभिन्न कठिनाइबाट मुक्ति पाइने विश्वास रहेको छ । उल्लासमय वातावरणमा मनाइने यस पर्वको पहिलो दिन व्रतालुहरू चोखो भएर नुहाएर सात्विक भोजन गर्ने गर्दछन् भने सो भोजन व्रतालुहरूले आफैं तयार गर्नुपर्ने हुन्छ ।
‘खरना’ भनिने दोस्रो दिन दिनभर व्रतालुहरू उपवास बसेर साँझको समयमा रोटी, खीर, नैवेद्य आदिद्वारा छठमाईको पूजा गरी शान्तमय वातावरणमा भोजन गरी आफ्ना साखासन्तानलाई ‘खरना’को प्रसाद वितरण गर्ने चलन छ ।
व्रतको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, चामलको पीठोको सख्खर सहितको लड्डु, विभिन्न प्रकारका फलफूल, उखु, नरिबल, बेसारको बोट र मिष्ठान्नलाई बाँसले बनाइएको ढकी, नाङ्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै र उदाउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ ।
व्रतालुहरू पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अघ्र्य दिएर सूर्यदेवलाई ढोग्ने गर्दछन् । यस कार्यमा उपस्थित परिवारका सदस्यहरूले पनि अघ्र्यमा दूध र गङ्गाजल हालेर अर्घ्य दिन सघाउँछन् ।
रातभरि भजन कीर्तनसहित छठमाईको पूजा–आजा गरी भोलिपल्ट सप्तमी तिथिमा उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिएर यो पवित्र पर्वको समापन गरिन्छ । त्यसपछि आफन्त र इष्टमित्रहरूलाई छठमाईको पूजाको प्रसाद खुवाउने चलन छ ।
यसरी छठ पूजाले वर्षको एकपटक भए पनि आफ्ना परिवारलाई एक ठाउँमा भेला हुने अवसर प्रदान गर्दछ भने यस अवसरमा नयाँनयाँ वस्त्र धारण गर्ने र चेलीबेटीलाई घरमा आउन प्रेरित पनि गरेको पाइन्छ ।
यो पर्व दिनप्रतिदिन खर्चिलो हुँदै गएकामा भने व्रतालुहरूले चिन्ता पनि व्यक्त गरेका छन् । तसर्थ अहिलेको अवस्थामा अनावश्यक तडकभडक नगरी चाहिने जति खर्च गरेर ऋणभार हुन नदिनेतर्फ सम्बन्धित सबैले सतर्क हुनैपर्ने देखिन्छ ।
ज्योतिषशास्त्रका अनुसार छठ पर्वको समयमा ब्रह्माण्डमा सूर्य दक्षिणायणतिर भएकाले कन्या राशि स्थित हुन्छ र यस मनोमुग्धकारी समयमा सूर्यको प्रकाश सबैभन्दा प्रखर, प्रभावकारी र मानवका लागि आल्हादकारी हुन्छ ।
सूर्यको प्रभाव पृथ्वीमा पर्ने भएकाले सूर्यको किरण र पृथ्वीको उर्वरशक्तिले मात्र सम्पूर्ण जीव, जीवात्माका जीवन सम्भव भएकाले पनि प्राचीन समयदेखि नै ऋषि, महर्षिले पृथ्वीलाई धरणी र सूर्यलाई ग्रहणी भन्दै यिनका महिमालाई नतमस्तक भई स्वीकार गरेका छन् ।
ऋगवेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै श्रद्धालुहरूले पनि सोही कुराको प्राप्तिका लागि यो पर्वमा पूजपाठ गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास गर्छन् ।
श्रद्धालुहरू आज जनकपुरको गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुक्मिनी सागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, काठमाडौँको रानीपोखरी, थापाथलीस्थित बागमतीको किनार, गौरीघाट, विष्णुमती, चितवनको नारायणी नदीमा, विराटनगरको सिंग्याई र केसलियाखोला, झापाको कन्काई नदी किनार लगायत नदी, ताल तलैया, तलाउमा गई छठ पर्व मनाउँदैछन् ।