बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

गोरखा – फाट्टफुट्ट नयाँ मान्छे आउने बेलबास गाउँमा शुक्रबार बिहानैबाट चहलपहल बढेको थियो । कोही पाउनाका लागि सुत्ने, बस्ने व्यवस्था मिलाउँदै थिए भने कोही खाना पकाउन व्यस्त । निधारभरि रातो टिका र टाउकोमा जमरा लगाएका महिला र केटाकेटी स्वागतका लागि माला लिएर लामबद्ध थिए । खोप्लाङमा शनिबार दिउँसोको उक्त गतिविधि कुनै विवाह वा उत्सवको थिएन, गाउँमै जन्मेका प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागत सत्कारका लागि थियो ।

प्रधानमन्त्री भएपछि पहिलो आगमनले गाउँले खुशी देखिन्थे । ‘गाउँलेका लागि यो भन्दा खुशीको अन्य कुनै क्षण हुँदैन’, स्थानीय कृष्णबहादुर खत्रीले भने, ‘यसपालिको दशैँ कहिल्यै भुल्न नसक्ने बनाइदिनुभयो भट्टराईले ।’ टिकाको भोलिपल्ट सपरिवार पुगेका उनलाई सबै गाउँलेले पालैपालो स्वागत गरे । बाबु भोजराज, श्रीमती हिसिला, छोरी मनुसी, बहिनी पार्वती र भाइबुहारीका साथ गाउँ पुगेका उनीहरुले आफ्ना दौँतरीसँग गफ समेत गरे ।

शुक्रबार रात गाउँमा बसेका भट्टराईले गाउँलेलाई पालैपालो समस्या भन्न समेत लगाए । प्रायले विकास निर्माणका काम गरिदिन भट्टराईलाई अनुरोध गरेका थिए । भट्टराईले आफू देशकै प्रधानमन्त्री भएको बताउँदै सबैलाई समान दृष्टिकोणले हेर्नुपर्ने बाध्यता आफूमा रहेको भन्दै सकेक काम गर्ने प्रतिबद्धता जनाए । मासिक जिल्ला आउने कार्यक्रम अनुसार गृह जिल्ला पुगेका प्रधानमन्त्री भट्टराईले ८० लाख लागतमा बनेको स्थानीय एक खानेपानी आयोजनाको उद्घाटन समेत गरेका छन् ।

प्रधानमन्त्री भएपछि कुनै उद्घाटनमा सहभागी नहुने बाचा बाँधेका उनले सानैदेखिको आफ्नो सपना पूरा भएकाले सरिक भएको बताए । ‘म सानो छँदा लुगा सिलाउन हिँड्ने बाटोमा रहेको यो बस्तीमा पानीको ठूलो हाहाकार देख्दा निकै दुःख लाग्थ्यो’, उद्घाटन कार्यक्रममा उनले भने ‘मैले नै प्राथमिकताका साथ सुरु गरेको यो योजना पूरा हुँदा खुशीसाथ सरिक भएँ ।’

काठमाडौँबाट मुस्ताङ गाडी चढी आएका भट्टराई दर्जनभन्दा बढी ठाउँमा स्वागतका लागि पैदल यात्रा गरेका थिए । खोप्लाङ पुग्न नपाउँदै भट्टराई पालुङटारमा रहेका गोपालदत्त गुरुलाई खोज्दै उनको घरतिर गएका थिए । घरबाट भट्टराई आएको बाटोतर्फ आउँदै गरेका गुरुलाई स्याउको पोका थमाउँदै ‘आशिर्वाद’ दिन भने ।

भट्टराईका नेपाली शिक्षक गुरुले तपाईको कार्यकालमा शान्ति र सविधानको काम पूरा गरी अन्तरराष्ट्रिय स्तरमा अझै चर्चा कमाउनु भन्दै टाउकोमा हात राखि आशिर्वाद दिए । गाउँलेका घरघर र आफूले चिनेका व्यक्तिसँग भेट र गफ गर्दै हिँडेका उनले ६० बुद्धबुद्धालाई सम्मान समेत गरे । ७० वर्ष उमेर नाघेका बुद्धबृद्धालाई दोसल्ला ओढाएर उनले सम्मान गरेका हुन् ।

प्रधानमन्त्रीको साथमा सुरक्षाकर्मी, पार्टीका प्रतिनिधि, कार्यालय प्रमुख, सञ्चारकर्मी लगाएर दुईसयभन्दा बढीको सहभागिता थियो । उनले गाउँ र आफ्नो बाल्यकालका विषयमा जानकारी गराउँदा श्रीमती हिसिलाले निकै जिज्ञासा राखेकी थिइन् । ‘बाल्यकाल यस्तो गाउँमा बिताउन पाइँन, विवाह गरेर यहाँ आउँदा हिँड्न नजानेर खेतका आलीबाट कैयौँपटक लडेकी छु’, यमीले भनिन् ‘यसपटक स्वर्गीय सासुको निकै याद आइरहेको छ । यो खुशीको अवसर उहाँले देख्न पाउनु भएन ।’

प्रधानमन्त्रीको गाउँ आएका कार्यालय प्रमुख तथा कर्मचारीलाई अनौपचारिक रुपमा उनले निर्देशन समेत दिए । निर्देशनमा उनले आफ्नो वरिपरि आउँदैमा सहयोग नहुने बताउँदै राम्रो काम गर्न कर्मचारीलाई भने । ‘मलाई सहयोग गर्न चाहुनुहुन्छ भने मेरो अघिपछि होइन, राम्रो काम गरेर देखाउनुस्’ उनले गाउँमा कार्यालय प्रमुख माझ भने ।

काठमाडौँबाट बाहिरिए लगत्तै उनले राजमार्गको विषयमा निर्देशन दिन भ्याए । नौबिसेको एक होटलको शौचालय पसेर निस्किएका उनले सुधार गर्नलाई धादिङका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । सरकारी व्यवस्था अनुसार राजमार्गका पेट्रोल पम्पमा शैचालय नभएको र भएकाको समेत अवस्था नाजुक रहेकाले निर्माण गर्न भनेका छन् । प्रधानमन्त्री भट्टराई शनिबार दिउँसो काठमाडौँ फर्किएका छन् । – कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया