शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024
काठमाडौं- वैदेशिक रोजगारीमा लगिएका महिलालाई वेश्यावृत्तिमा लगाइएको, अत्याधिक श्रम शोषण गरिएकोलगायतका गुनासो आइरहेकाले त्यसलाई नियन्त्रण गर्न सम्बन्धित देशका राजदूतलाई कडा निर्देशन दिइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले दिएको निर्देशन कार्यान्वयन हुने हो कि नहुने हो यकिन छैन । विभागका अनुसार मेनपावर कम्पनी वा दलालबाट गएका महिला कामदारहरूले श्रम तथा शारीरिक शोषण भएका गुनासो आइरहेको छ । खाडीका विभिन्न मुलुकमा आकर्षक कमाइको लोभ देखाएर लैजाने दलालहरूले विदेश लगेपछि जबर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेको गनासो बढेको विभागले जनाएको छ ।
कामदारको हकहितमा काम गर्न गएका राजदूतहरूको लाचारीका कारण विदेशमा कामदारले दुःख पाउने त्रम जारी रहेकाले यो निर्देशन पनि कार्यान्वयन हुने कुनै सम्भावना देखिँदैन ।
यस्तै, वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुले धेरै दुःख पाएको भन्दै विभागले नीतिगत सुधार गर्ने भएको छ ।
प्रधानमन्त्री भट्टराईको सक्रियता र विभागमा सिसी टिभी क्यामराको निगरानी बढेपछि महानिर्देशक नरेन्द्रराज शर्माको दिमागमा नीतिगत रुपमा रहेका केही समस्या समाधान गर्ने आइडिया फुरेको छ र त्यसलाई सुधार गर्न सरोकारवाला निकायसँग सहमति गरी केही दिनभित्रै अन्तिम रुप दिने भएका छन् उनले ।
महिलाहरू हचुवाको भरमा विदेश जाने प्रवृत्तिलाई नियन्त्रण गर्न कुन देशमा के काम गर्न जाने हो, कम्पनी कुन हो, कसले पठाउने हो, कति रकम लाग्ने हो, सेवा सुविधा के कति छ भन्ने कुरा प्रष्ट रुपमा उल्लेख नगरी विदेश जान नपाउने व्यवस्था गर्न लागिएको शर्माले बताएका बताएका छन् ।
एक हप्तामा २० जना दलालहरुलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको र उनीहरुलाई कानुन अनुसार कारवाही गरिने उनले जानकारी दिएका छन् ।
वैदेशिक रोजगार क्षेत्रमा देखिएको विसंगति अन्त्य गर्न प्रधानमन्त्री डा। बाबुराम भट्टराईले देखाएको सक्रियता कागजीरूपमा निकै दु्रत गतिमा अघि बढिरहेको छ । प्रधानमन्त्रीको निर्देशन लगत्तै हतार-हतार काम सुरु गरेका निकायहरूले यस क्षेत्रलाई सुधार्न ठूलै खाका कारेपनि यो केबल ‘पेपर टाइगर’ हुने स्थिति देखिएको छ ।
तपाईको प्रतिक्रिया