शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो -१० लाख पर्यटक भित्र्याउने नेपाल सरकारको घोषणासंगै नेपालप्रति बढेको आकर्षणका कारण यसअघि यात्री नपाएर बन्द भएका सहित तीन नयाँ विमान कम्पनीले काठमाडौं सीधा उडानको माग गर्दै आएका छन् । रसियाको एरोफ्लोट, श्रीलंकन एयरलाइन्स र संयुक्त अरब (युएइ) को आरएके एयरवेजले पनि छिट्टै नेपालबाट उडान गर्ने तयारी थालेका छन् ।
नेपालमा चर्किएको द्वन्द्वसँगै बन्द भएका एरोफ्लोट र श्रीलंकन एयरले नेपालतर्फको आवतजावत बढ्न थालेकैले फेरि चासो देखाएका हुन् । पछिल्लो दुइ वर्षमा यहाँ सेवा दिने १० वटा विदेशी एयरलाइन्सले सीधा उडान सुरु गरेका छन् । यीसँगै अन्तरराष्ट्रिय उडान भर्ने कम्पनीको संख्या २८ पुगेको छ । नयाँ तीन कम्पनीले पनि सेवा सुरु गरेपछि एक नेपाली सहित ३० विदेशी वायु सेवा कम्पनीका जहाजले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल टेक्नेछन् । यहाँबाट उडान गर्न अनुमति पाएको पछिल्लो विमान कम्पनी इन्डिगो एयरलाइन्स हो । यो भारतीय कम्पनीले यही कात्तिक ११ गतेदेखि काठमाडौं-दिल्ली उडान सुरु गर्ने भएको छ । सेवा सुरु गर्न चासो देखाएका मध्ये एरोफ्लोटले भने सन् २००१ सम्म नेपाल उडान गर्थ्यो । त्यसपछि द्वन्द्वका कारण पर्यटन क्षेत्र धराशायी भएकाले कम्पनीले उडान स्थगित गरेको थियो ।
पर्यटक आगमनका कारण हवाई व्यवसाय फष्टाईरहेकाले फेरि चासो दिएको कुरा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताएका छन् । दैनिक करिब १ हजार युवा रोजगारीको अवसर खोज्दै बिदेसिने गरेका छन् । यत्तिकै हाराहारीमा काममा गएकाहरु फर्किने अनुमान सरकारको छ । सन् २०११ को पहिलो ६ महिनामा २०१० को सोही अवधिको तुलनामा १९ दशमलव ३९ प्रतिशतले पर्यटक बढेका छन् । जनवरीदेखि सेप्टेम्बरसम्म करिब ३ लाख ७० हजार पर्यटक हवाई मार्गहुँदै नेपाल आएको तथ्याङ्क छ । श्रीलंकन एयरलाइन्सले भारतको दिल्ली हुँदै नेपालबाट उडान गर्ने योजना बनाएको छ । हाल एयर अरेयिबा र फ्लाई दुबई साताको १४/१४ उडान गरिरहेका छन् भने इत्तिहादले दैनिक एक उडान गरिरहेको छ । ***

 

तपाईको प्रतिक्रिया