Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – माध्यामिक तहको अध्ययन गर्दै गरेकी पुष्पा लालचन हाल रेष्टुरेन्ट ब्यवसायी पिता मोहनसिंह लालचनलाई सघाउँदै आएकी छिन् । संगसंगै उनले जापानी भाषा पनि अध्ययन गरिरहेकी छिन । जापानी भाषामा दखलता हासिल गरेपछि पुष्पाले होटल म्यानेजमेन्ट पढ्ने रे । मुस्ताङको मार्फा गाउँबाट एक दशक अगाडि जापान आएर यो ब्यवसायमा हात हालेको लालचन परिवारले अहिले नागोया र क्योटोमा रेष्टुरेन्ट ब्यवसाय गरेर राम्रो सफलता हासिल गरिरहेको छ । हालैमात्र लालचन परिवारले मुस्ताङको मार्फामा बिदेशी पर्यटकहरुलाई लक्षित गरी एउटा राम्रो होटल ब्यवसाय पनि शुरु गरेको छ । यो बर्षको तिहार कसरी मनाइँदै छ भन्ने जिज्ञासाका लागि लालचन परिवारको क्योटोस्थित “याक एण्ड यति” रेष्टुरेन्टमा समुद्रपारिले फोन गर्दा छोरी पुष्पाले फोन उठाउँदै भनिन्- तिहारमा टीका लगाएर मनाउने चलन हाम्रो खासै नभएपनि परिवार, नातागोता र आफन्त सबै जम्मा भएर संगै बसेर खानेपिउने र रमाईलो गरेर मनाउने गर्दछौं । यो बर्षको तिहारमा पनि हामी त्यसरी नै मनाउने तैयारी भईरहेको छ । ताजा खसीको मासु, सेलरोटी जस्ता तिहारजन्य परिकारहरु बनाएर खानापिना गर्दै आपसमा दीपावलीको शुभकामना र खुशी साटासाट गरेर तिहार मनाउने हाम्रो पारिवारिक योजना छ । यस अवसरमा यसै अनलाईन मिडियामार्फत सबै नेपाली दाजुभाई, दिदिबहिनीहरुमा पनि हार्दिक शुभकामना भन्न चाहान्छु ।

मनाङ पुख्र्यौली घर भएका पेम्बा लामाले बिगत ५ महिनादेखि टोकियोको नाकानोबुमा ह्याण्डीक्र्याफ्ट, गरगहना, बिभिन्न जनजातिय भेषभूषा, कल्चरल पोशाक, सारी, ढाकाटोपी, नेपाल-भारतको राष्ट्रिय झण्डा, पठनीय नेपाली पुस्तकहरु जस्ता सामान पाईने नेपाली पसल मनाङ मार्ट चलाउँदै आएका छन् । उसो त लामाले नेपालमा छँदा पनि बिगत १० बर्षदेखि नै यो ब्यवसाय गर्दै आएका थिए । लामाको मनाङ मार्टमा अहिले तिहारको लागि किनमेल गर्न आउने नेपालीहरुको भिड लाग्न थालेको छ । मनाङ मार्टमा भाईटिकाको लागि आवश्यक पर्ने सबै सामाग्रीहरु उपलब्ध छन् । तिहारका लागि टीकाका सामाग्री, माला, ढाकाटोपी, बिभिन्न परिकारका मीठाई र उपहारका लागि स्वदेशी उत्पादनहरु किन्नका लागि अहिले मनाङ मार्टमा चहलपहल बढेको लामा बताउँछन् । तिहारको लागि अहिलेदेखि नै उनकी श्रीमती अनिता सेलरोटी पकाउनमा ब्यस्त छिन् । ग्राहकहरुको अर्डरअनुसार सेलरोटी, मीर्ठाई बनाएर उपलब्ध गराउने सेवा पनि उनको पसलले गर्दै आईरहेको लामाले बताए । तिहारमा बहिनीहरुबाट टीका लगाउने कार्यक्रम छ, श्रीमतीले पनि उनका दाजुभाईलाई बोलाएर टीका लगाउने तयारी गरिरहेकी छिन् । हामीलाई त अहिले देखि नै तिहारले छोपिसकेको छ । बिदेशमा बसेर पनि स्वदेशमाजस्तै तिहार मनाउन पाएका छौं, खुशी लागेको छ’-लामाले भने ।

बागलुङ बिहुँ घर भई साढे दुइ बर्ष अगाडि जापान आएका शिव न्यौपाने अहिले ओइताकेनको ओइता शहरस्थित सूर्य रेष्टुरेन्टमा कार्यरत छन् । उनले भने – एक दिन बिदा गरेरै भए पनि दशैं त मनाईयो तिहारमा त बिदा छैन, काम सकिएपछि नजिकका साथीभाईहरुसंग भेटघाट र खानपिन गरी रमाईलो गर्ने बिचार छ । अघिल्ला बर्षहरुमा दिदीको हातबाट टीका लगाईन्थ्यो यो बर्ष त दिदी नेपाल जानुभएको छ, त्यसैले टीका लगाउने कुरै भएन । साथीभाईहरुसंग रमाईलो गरेर सामान्य हिसाबले तिहार मनाउने मनस्थितिमा छु । नेपालीहरुको मनलाई चलायमान बनाउने दीपावलीको यस अवसरमा सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहान्छु ।

१२ बर्ष पहिले जापान आएका रामेछापका बिबेक श्रेष्ठ अहिले फुकुओकाको कुरुमे शहरमा अंग्रेजी भाषा सिकाउने स्कुल चलाएर बसेका छन् । जापान आएदेखि २००६ सालमा १ पटक नेपाल गएको बेलामा मात्र उनले दशैंतिहार मनाएका थिए रे । त्यसपछि भने दशैंतिहार मनाउने अहिलेसम्म अवसर नजुरेको बताए । आफ्नो जापानी परिवार भएको र नेपालीहरुसंग खासै सम्पर्क नभएकोले नेपालको दशैं तिहारजस्ता चार्ड पर्व आउँदा एक्लोपन महशुस हुने गरेको उनी बताउँछन् । “नेपाली सँस्कृतिका बारेमा आफ्ना परिवार र बालबच्चालाई सिकाउन र देखाउनका लागि भएपनि जमरा राखेर दशैं मनाउने धेरैचोटी जमर्को गरें तर जमरा राख्नका लागि चाहिने जौ, धान, मकै जस्ता अन्न पाउन सकिन । यो बर्ष पनि तिहार मनाउने बारे केहि योजना बनेको छैन । काममै ब्यस्त भईन्छहोला, कामबाट फर्केर आउँदा बच्चाहरु सुतिसकेका हुन्छन् । स्काइपमा नेपालका परिवारले तिहार मनाएको र भैलो देउसी खेलेको हेरेर चित्त बुझाउनुपर्ने स्थिति छ । यसरी नै चल्दै छ जापानको जीबनयात्रा । आफ्ना लागि जे जस्तो भएपनि जापानमा बस्नुहुने सबै नेपालीहरुमा शुभदीपावलीको उपलक्ष्यमा मेरो हार्दिक शुभकामना छ’-श्रेष्ठले एकै सासमा भने ।

४ बर्ष अघि जापान आएका बागलुङ धम्जाका युवा गायक सूर्य खड्का तिहारको बेलामा दिनभरि काममा ब्यस्त भएपनि काम सकिएपछि टोकियोमा हुने बिभिन्न रमाईलो कार्यक्रमहरुमा सरिक भएर मनाउने मनस्थितिमा रहेको बताए । दशैंको बेलामा पनि साथीभाई तथा आफन्तहरुसंग टीकाटाला र रमाईलो गरेर मनाएको बताउने कलाकार खड्काले तिहार मनाएलगत्तै नेपाल जाने तरखरमा रहेको बताए । चाड पर्वको बेलामा काममै ब्यस्त रहनुपर्ने जापानको बाध्यता भएपनि जसोतसो समय मिलाएर रमाईलो गरेर मनाउन उनलाई मन पर्ने बताए । लोक तथा दोहोरी गायक खड्का जापानमा हुने सानाठूला रंगमञ्चहरुमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका छन् ।

“नेपाली भएपछि दशैंतिहार त मनाउनै पर्‍यो । बिदेशको ठाउँमा जे जसरी संभव हुन्छ दशैं तिहार मनाईन्छ तर यसपाली भने हाम्रो दशैं थिएन । तिहारको टीका लगाउनका लागि आफ्नै दिदीबहिनी जापानमा नभएकोले टीकाटाला नभए पनि साथीभाई जम्मा भएर रमाईलो गरी तिहार मनाउने बिचार छ । जति नै काममा ब्यस्त भएपनि चाडपर्वमा नेपालको झझल्को आईहाल्छ’ ११ बर्षपहिले जापान आएर यतै घरजम गरी रेष्टुरेन्ट ब्यवसायमा लागेका पर्वत लुंखु देउरालीका प्रेम मल्लले बताए । उनको टोकियो कोमागोमेमा ह्वाईट हिमालय नामको नेपाली रेष्टुरेन्ट छ ।

“दशैं पनि खासै रमाईलो भएन । तिहारमा पनि अहिलेसम्म खासै योजना बनेको छैन । टीका लगाउनका लागि आफ्ना दिदीबहिनी छैनन् । त्यतिबेलासम्म केही योजना बन्यो भने टीका पनि लगाइन्छहोला, नत्र साथीभाई, आफन्त जम्मा भएर रमाईलो गरेर मनाउनुको अर्को विकल्प छैन । बिदेशको ठाउँमा चाडपर्वको बेला खल्लो हुँदो रहेछ’ ९ महिना अगाडि जापान आएका बागलुङ मल्मका बिमलकाजी थापाले भने- दशैंको बेला नेपालकै सम्झनाले भावुक बनायो, तिहारमा झन नेपालको रमझम र रमाईलो आँखा वरिपरि नाच्ने नै भयो । जे जस्तो भए पनि बिदेश भनेको बिदेश नै रहेछ । स्वदेशको रमाईलो र आफ्नोपन यहाँ खोजेर कहाँ पाईयो र ?

नेपालीहरुको खुशीयालीको पर्व दीपावलीसंगै अर्को खुशीयाली थपिएको रहेछ जापानका युवा साहित्यकार धिषण निरौलाको परिवारमा । उनलाई हालैमात्र पहिलो सन्तानकारुपमा सुपुत्र लाभ भएको खुशीयाली र दीपावलीको खुशीयाली एकैचोटी जुरेको रहेछ । नेपालबाट सासु, ससुरा पनि जापानमै आउनुभएको, पहिलो सन्तान लाभ भएको संयोगसंगै दीपावली पर्व पनि भित्रिएको अवसरमा निरौला परिवार अहिले दंग छ । सबै संगै भएपछि तिहार रमाइलै हुने भएको छ । टीकाटाला नभएपनि पारिवारिक जमघटकाबीच तिहार रमाइलै हुने भएको छ’ ६ बर्ष पहिले जापान आएका उच्चशिक्षा अध्ययनरत निरौलाले भने । पुर्क्यौली घर सोलुखुम्बु भई हाल भक्तपुर सानोठिमीमा बस्दै आएका निरौला जापानको नेपाली समुदायमा उदीयमान कविकारुपमा चिनिन्छन् । कविता फाँटमा उनी शसक्त कलम चलाउँछन् ।

केहि महिना अगाडि मात्र बिद्यार्थी भिसामा जापान आएका राजेश पन्तलाई भने अहिले काम र स्कुल गर्दैमा भ्याईनभ्याई छ रे । दशैंमा पनि खासै रमाईलो लागेन रे । घरमा फोन गरेर दशैंको न्यास्रो मेटाएको बताउने काठमाडौं बनस्थलीका राजेशले तिहारमा पनि खासै कार्यक्रम नभएको बताए । “यसो साथीहरुसंग रमाईलो गरेर बिताउनुपर्ला । कतै रमाईला कार्यक्रमहरु भएको ठाउँमा गएर सहभागी हुने सोंच बनाएको छु । यो बिदेशको नौलो ठाउँमा टीकाटाला गर्ने कुरा त धेरै टाढाको कुरा भयो । दशैंतिहारको बेलामा बिदेशमा साँच्चिनै नरमाईलो लाग्दोरहेछ । आफ्नो घरपरिवार, साथीभाई, आफन्तबाट टाढा रहनुपर्दा चाड पर्वको बेलामा साह्रै एक्लोपन महशुस हुँदोरहेछ’-राजेशले भने । ***

तपाईको प्रतिक्रिया