आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं- प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भारत भ्रमणको टोलीमा ३० जनाभन्दा बढी व्यवसायीहरुको टोलीले पनि भारत भ्रमण गरेको थियो ।

महासंघका अध्यक्ष श्री सुरज बैद्यले नेतृत्व गरेको उक्त टोलीमा महासंघका पूर्व अध्यक्षहरु पद्म ज्योति, चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, उपाध्यक्षहरु भवानी रणा, पशुपति मुरारका, पूर्व उपाध्यक्ष दिवाकर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश कुमार बस्नेत, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लता प्याकुरेल थिए ।

यसैगरी बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानी, मोरङ व्यापार संघका अध्यक्ष अभिनाष बोहरा, नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष कृष्ण आचार्य, महासंघका कार्यकारिणी समिति सदस्यहरु ज्ञानेन्द्रलाल प्रधान, चन्द्र प्रकाश ढकाल, र शेखर गोल्छा, नेपाल भारत उद्योग वाणिज्य संघका पदाधिकारीहरु लगायत अन्य संघ/संस्थाका पदाधिकारीहरुको सहभागिता थियो ।

भ्रमणका अवसरमा भारतका राष्ट्रिय उद्योग व्यापार संघहरु फिकि सिआईआई र एशोचेमले प्रधानमन्त्रीको सम्मानमा संयुक्त दिवाभोजको आयोजना गरेको थियो ।

दिवाभोजमा प्रधानमन्त्रीले भारतीय उद्योगी व्यापारीलाई नेपालमा लगानी गर्न आहृवान गर्नुका साथै लगानीकर्ताको लगानीको सुरक्षा दिन आफू तयार रहेको कुरा विश्वास दिलाउनु भयो ।

कार्यक्रममा बोल्नु हुँदै महासंघका अध्यक्ष बैद्यले नेउवामहासंघ सरकारसँगको सहकार्यमा लगानी वर्ष २०१२।१३ सफल पार्न लागि परेको र नेपालको लगानीको वातावरणमा क्रमिक सुधार हुँदै गएको कुरा औँल्याउनु भयो । उहाँले भारतीय व्यवसायीहरुलाई पहिलो प्रवेशकर्ता भई फाइदा लिन आव्हान समेत गर्नु भयो ।

भ्रमणकै क्रममा नेउवामहासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आायेजनामा ठूला भारतीय कम्पनीका प्रमुख कार्यकारीहरुसँग एक ब्रेकफाष्ट बैठक सम्पन्न भयो ।

बैठकमा भारतीय कम्पनीका प्रतिनिधिले नेपालको औद्योगिक वातावरण, भारतीय लगानीकर्ताहरुले भोग्ने गरेका समस्या वारेमा चासो राखेका थिए । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीले आफूले भारतीय व्यवसायीको चासो आत्मसाथ गरेको र भविष्यमा लगानीको वातावरणमा सुधार हुँदै जाने विश्वास दिलाउनुका साथै विपा सम्झौताले भारतीय व्यवसायीमा विश्वास बढाउने आशा व्यक्त गर्नु भयो ।

उक्त अवसरमा महासंघका अध्यक्षले यस्ता बैठकबाट भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन मिल्ने धारणा राख्नु भयो । उहाँले नेपालमा सबैभन्दा धेरै लगानी गर्ने श्रोत मुलुकमा रहेको भारतका लगानीकर्ताहरुको विश्वास जित्नु अपरिहार्य भएको र नेपालमा वातावरण सुधारोन्मुख रहेको धारणा राख्नु भयो ।

बैठकमा जलविद्युत, शिक्षा, आधारभूत सेवा, कृषिमा आधारित उद्योग आदि क्षेत्रमा लगानी बढाउने बारे छलफल भएको थियो ।

भ्रमणकै अवसर पारेर नेउवामहासंघ र भारतीय उद्योग परिसंघको संयुक्त आर्थिक परिषद्को बैठक पनि सीआईआईको मुख्यालय नयाँ दिल्लीमा सम्पन्न भयो ।

उक्त बैठकमा नेपाल भारत आर्थिक सम्बन्धलाई नयाँ र माथिल्लो तहमा पुर्‍याउनेबारे छलफल भएको थियो । उक्त बैठकमा नेपाल भारत व्यापार, पारवहन र अन्य बिषयका समस्याहरु तत्काल पहल गर्न पारवहन, व्यापार तथा वित्तिय र जलविद्युत गरी ३ वटा उपसमितिहरु गठन भई तिनको काम अघि बढाउने र नेपाल भारत सम्बन्धको विस्तृत अध्ययन गरी नयाँ उचाईमा लैजानका लागि एक कार्यदल गठन गर्ने सहमति भयो ।

कार्यदलको प्रतिवेदनले भारतमा नेपालमा उत्पादित बस्तुहरु निर्यात गर्न दिने १९९६ को नेपाल भारत व्यापार सन्धि गराउन प्रमुख भूमिका खेलेको थियो । महासंघको तर्फबाट पूर्व अध्यक्षमा पद्म ज्योति र सिआईआईको तर्फबाट सिआईआईका पूर्व अध्यक्षराजिव कौल सहअध्यक्ष रहनु भएको यो परिषदमा नेपाल र भारतका प्रमुख व्यवसायीहरुको सदस्यता रहेको छ ।

परिषद्को बैठकको प्रारम्भमा भारत भ्रमणमा रहनु भएका नेपालका अर्थमन्त्री वर्षमान पुन र उद्योग मन्त्री अनिल कुमार झाको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया