सन् १९४२ को जुन ७ तारिखमा जन्मिएका गद्दाफी १८ बर्षको उमेरमा नै सेनामा भर्ति भएका थिए । राजा इदि्रस उपचारका लागि टर्की गएको बेला गद्दाफी नेतृत्वको एउटा सानो सैनिक समुहले रक्तपात बिहीन सत्ता कब्जा गरेपछि ४२ बर्षअघि सन् १९६९ मा उनी सत्तामा आएका थिए । सत्तामा आउँदा उनको उमेर २७ बर्षको थियो । २ वटी श्रीमति भएपनि फतिया अल नुरीले छोडपत्र गरेपछि सफिया फर्कसँग विवाह गरेर ४१ वर्ष बिताई सकेका गद्दाफी युवती अंगरक्षकबाट घेरिएर बस्ने गदर्थे ।
अरब र अफ्रिकन देशहरुमा राम्रै प्रभाव पार्ने गद्दाफी संबैधानिक रुपमा लिवियाको प्रधानमन्त्री, राजा र राष्ट्रपति केही थिएनन् । तर उनी कुनै बेला आफूलाई राजाहरुको राजा भन्न पनि पछि पर्दैनथे । साम्यवाद र पुँजीवादलाई समायोजन गरेर आफ्नो छुट्टै दर्शन बनाएका गद्दाफीले २ बर्षअघि अरब देशहरुको सम्मेलनमा सम्बोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता अफ्रिकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए ।
नागरिकहरु गद्दाफी सरकारको विरोधमा बोल्न डराउँथे किनकी जताततै सरकारी गुप्तचर फैलिएका हुन्थे । कसले कसको कतिखेर विरोध गर्छ भन्ने सबै हिसाब किताब गुप्तचरले राख्ने गर्थे त्यसैले कोही पनि गद्दाफी शासनको विरोधमा बोल्न चाहँदैनथे । तर सन् २०११ को सुरुवात सँगै ट्युनिसिसा र इजिप्टमा भएको सरकार विरोधी प्रदर्शन देखेपछि गद्दाफीसँगको डर हरायो र लिवियाली नागरिक सडकमा उत्रिए । एकजना महिला मानवअधिकारकर्मीलाई सरकारले पक्राउ गरेपछि सुरु भएको आन्दोलनले ६ महिनामा गद्दाफीलाई सत्ता छाड्न बाध्य पारेको थियो र सत्ता छाडेको २ महिनामा अन्तत गद्दाफी मारिएका छन्।
गद्दाफीको सरकारमा कानुन मन्त्री रहीसकेका मुस्तफा मोहमद अब्दुल जलिलको नेतृत्वमा रहेको ३१ सदस्यीय अन्तरिम संक्रमणकालिन राष्ट्रिय परिषदले आन्दोलनको नेतृत्व गरेको थियो । सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरु माथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुकले लिवियाली नागरिकको सुरक्षाका लागि भन्दै ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् । सुरुमा फ्रान्सका युद्धक विमानले लिवियाली सैनिकका ट्याँक ध्वस्त पारे पछि वेलायत, अमेरिकी, क्यानडा, नर्वे, बेल्जियम, डेनमार्कका सैनिकले लिवियाली सैनिक माथि निरन्तर आक्रण गरिरहेका थिए ।
एजेन्सीको सहयोगमा