मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं– अहिलेका चर्चित हाँस्यकलाकार धुर्मस अर्थात सीताराम कट्टेल जसलाई नचिन्ने नेपालीहरु सायदै होलान् । चर्चित टेलिश्रृङखला मेरी बास्सैका प्रमुख पात्र मध्येका सीताराम कट्टेल धुर्मस जसले दर्शकहरुलाई पेट मिचिमिसी हसाउँछन् तर उनको विगत हेर्न हो भने अर्कालाई हसाउँछु भन्दा आफै रुनुपरेको कथा छ उनीसँग ।

पुर्ख्यौली घर झापाको गौरादहमा सामान्य परिवारमा जन्मिएका सीतारामको पारिवारिक स्थिति निकै नाजुक थियो । दुई दशकअघि गाउँकै गौरादह माध्यमिक विद्यालयमा पढ्दै गर्दा उनले बिहानै उठेर हलो जोती विद्यालय जानुपर्ने अवस्था थियो तर पनि उनले पढाइलाई निरन्तरता दिएकै थिए । उनले घरको कामसँगै पढाईमा उत्तिकै मेहनत गर्थे । विद्यालयमा गुरुहरुले दिएको होमवर्क घरमा गर्न नपाएपनि उनले विद्यालयमा पढेकै भरमा रिजल्ट राम्रै ल्याउँथे । उनी भन्छन्– ‘म घरमा पढ्न नपाएपनि विद्यालयमा प्रायः सधै प्रथम हुन्थे त्यसैकारण पनि गुरुहरुले माया गर्नहुन्थ्यो ।

स्कुले जीवनदेखि नै उनमा हँसाउने कलाको विकास भएको थियो । स्कुलमा पनि उनी साथीहरुलाई विभिन्न अभिनय गरेर हसाउँने गर्थे जसका कारण उनी साथीहरुको पनि प्यारो भएका थिएँ । घरमा जति दुःखको स्थिति भएपनि उनी हँसाउन भने पछि पर्दैनथे । उनले विद्यालयमा पनि आफ्ना गुरुहरु र साथीको क्यारिकेचर जस्ताको तस्तै गरिदिन्थे उनको यो प्रतिभा देखेर गुरुहरु तथा साथीहरु छक्क पर्थे । गुरुहरु, साथीहरु र गाउँका दाईहरुले उनको कलालाई खुबै राम्रो छ भनेपछि सीताराम मख्खै पर्थे । उनीहरुले तेरो अभिनय टि.भी.मा देखाउने खालको छ भनेर भनिदिँदा सीताराम (धुर्मस)को खुसीको सीमा नै हुँदैनथियो । उनीहरुको त्यो भनाईले उनलाई हाँस्यकलाकार बनेर टि.भी.मा देखिनुपर्छ भनेर उक्साउने गर्थे ।

गाउँमा छँदा हाँस्यकलाकार हरिवंश आचार्य कलाकारिताबाट मोहित बनेका उनले आफू पनि हरिवंशहरु जस्तै टि.भी.मा देखिने इच्छा राख्दथे । कलाकार बनेर सारा नेपालीले चिन्न सक्ने हुनु उनको लक्ष्य नै थियो ।

गाउँका आफूभन्दा माथिका दाजुहरु र गुरुहरुले काठमाडौं गइस् भने टि.भी.मा देखिने हुन्छस् भनेपछि उनलाई काठमाडौं जाने रहर जागेको थियो र एसएलसी पास गरिसकेपछि उनले काठमाडौं छिर्न योजना बनाएँ । तर घरको आर्थिक अवस्था कमजोर भएका कारण र घरको जेठो छोरो भएका कारण पनि उनलाई घर छोडेर काठमाडौं छिर्न अवस्था थिएन र उनका आमाबुबाले पनि उनलाई काठमाडौं अवरोध गरे । बुबाआमाले हजारौंपटक काठमाडौं नजानको लागि आग्रह गरेपनि उनले आमाबुबाको आग्रहलाई लत्याउँदै काठमाडौं जाने निधो नै गरे । घरबाटै ओढ्ने, ओछ्याउने कपडासहित अलिकति पैसा बोकेर घरपरिवारलाई रुवाएर काठमाडौं हानिएको धुर्मसले सम्झना गर्छ् । उनी काठमाडौं छिरेको पहिलो रात (२०५८ जेठ १९ गते) मै नेपालको इतिहासका दुःखद घटना राजा विरेन्द्रको वंशै नास हुने गरी घटना घट्यो । यो घटनाले सिंगो देश नै शोकमा डुव्यो यता धुमुर्स पनि विचलित हुन थाले के दिनमा म घर छोडेछु भन्ने उनलाई लाग्न थाल्यो । देश शोकमा डुबेको बेला उनले कुनै काम पाउने बाटो नै देखेनन् । घरपरिवारलाई रुवाएर आएका कारण आफूले दुःख पाउँछु कि भन्ने उनलाई डर लाग्न थाल्यो । यसरी राजदरबारको घटनाले देश नै अनिश्चतामा डुबेको बेला सीतारामको पनि दुःखका दिन सुरु भए । उनी आफू गाउँका छँदा काठमाडौं जस्तो छ होला भन्ने सोंचेका थिए त्यस्तो थिएन काठमाडौं धुर्मस भन्छन् । टि.भी.का दर्शकलाई हसाउँछु भनेर काठमाडौं छिरेका धुर्मसले टि.भी.मा हँसाउन पाउनु त कहाँ हो कहाँ आफ्नै हाँसो हराउन थाल्यो । भर्खरै एसएलसी सकेर काठमाडौं छिरेका धुर्मसले जीवन चलाउनको लागि जागिरको पनि व्यापक खोजी गरे तर उनलाई जागिर दिने कोही भएन । घरबाट लिएको थोरै खर्चनि सकिन थालेपछि झनै चिन्ताले सताउन थालेको थियो उनी सम्झन्छन् । खर्चसकिएपछि घर न घाटको झै भए म उनी भन्छन् । कैयौं दिन सडकमा बिताएका धुर्मुसले अन्त्यमा कुनै विकल्प नदेखेपछि कलंकीको एउटा भाडा पसलमा भाडा बोक्ने काम गरेको उनी सम्झन्छन् । त्यसबेला भाडा बोक्नेदेखि भाडा माझ्नेसम्मको काम गरेको उनी सम्झन्छन् । त्यसबेलाको दिन सम्झदा अझै पनि मन भक्कानिएर रुन मन लाग्ने उनी बताउँछन् । उनले कुनै समय एक पुरिया विस्कुटले दुई दिनको छाक टारेको तितो अनुभव पनि सुनाए । त्यो बेला भोकै बस्नु त सामान्यजस्तै भएको उनी बताउँछन् । ‘थापाथलीको एउटा पसलमा उधारो नतिरेकाले साहुले दुई दिनसम्म थुनेर राखेको अनुभव पनि उनीसँग छ । कहिलेकाहिँ साथीभाई कहाँ गएर छाक टार्ने गरेको उनी बताउँछन् ।’ आफू जति दुःख झेलेर स्थापित हुने कलाकार नेपालमा नभएको उनी दावी गर्छन् ।

काठमाडौं छिरेको पहिलो वर्षनिकै कष्टकर जीवन बिताएका धुर्मसले आफ्नो हँसाउने कलालाई थाती राख्दै समस्यासँग जुध्दै विभिन्न ठाउँमा भाडा बोक्नेदेखि माझ्नेसम्मका सबै काम गरे । त्यसपछि आफ्नो सपना पूरा गर्नका लागि फेरी उनी जागे र निकै लामो प्रोसेसपछि उनले एउटा टेलिश्रृङ्खलामा काम गर्नमौका पाए तर अनुहार देखाउने मौका भने नपाएको उनी सुनाउँछन् । निर्देशक मुकुन्द बर्ताकोटीको ‘झमेला’ हाँस्य टेलिश्रृंखलामा एउटा भुमिका पाए तर उनले न त्यहाँ अनुहार देखाउन पाए न त बोल्न नै मात्र भुमिका मात्रै भयो । त्यसको केही महिनापछि फेरी सन्तोष पन्तको हिजोआजका कुरामा एउटा संवाद बोल्ने अवसर पाए उनले । ‘दलाललाई हात–खुट्टा भाँचेर लडाएर मार्नपर्छ छोड्नु हुँदैन’ उनले उक्त श्रृंखलामा बोलेका थिए । छ महिनाको मेहनतपछि उनले यो बोलेका थिए । बिस्तारै समय बित्दै जाँदा उनले जितु नेपालको गीतान्जली र जिरे खुर्सानीमा पनि काम गर्न मौका पाए । त्यहाँ उनले देखाएको प्रस्तुतीबाट दर्शकले उनलाई साथ दिए र उनी मेरी बास्सैसम्म आइपुगे र आजसम्म पनि उनी यही मेरी बास्सैमा छन् ।

तपाईको प्रतिक्रिया