शुक्रबार, आषाढ ०७, २०८१
Friday, June 21, 2024

५ वर्ष ३ महिनाअघि यहाँ (इजरायल) आउँदा मलाई कताकता बेग्लै जाँगर थियो, एउटा गज्जबको उत्साह र धेरै पैसा कमाउने मनोकांक्षा पनि ! मैले आउनेबित्तिकै एक वृद्धाको हेरचाह गर्ने काम पाएँ, गरें । उनलाई वृद्धाश्रम लगियो । त्यसपछि मलाई नयाँ काम खोज्नुपर्ने भो । एजेन्सीमार्फत एक ९६ वर्षीयको रेखदेख गर्नुपर्ने काम पाएँ । ओहो मेरो भाग्य ! मैले त यहाँका प्रधानमन्त्री (बेन्जामिन नेतान्याहु) को ससुराको हेरचाह गर्ने अवसर पो पाएछु । तर प्रधानमन्त्रीले उनलाई आफ्नो घरमा राखेका थिएनन् । यो आजभन्दा २ वर्ष ४ महिना अघिको कुरा !

मैले छोराछोरीको माया ममतामा नतडपिउन् भनेर उनलाई सकेसम्म खटेरै सेवा गर्थें । आखिर नेपालमै पनि एक अर्कालाई औधि माया गर्छौं नि हामी ! सेवा गरेको केही दिनदेखि नै उनले ‘मेरी नेपाली छोरी’ भन्दै निकै भावुक भएर व्यवहार गर्थे, म पनि दंग हुन्थें । यसले हामी दुईबीच हजुरबुबा र नातिनीको जस्तो भावनात्मक सम्बन्ध प्रगाढ पार्न सहयोग गरेको थियो । एक त उनले खास नेपालीको बानी व्यहोरा ठ्याक्कै चिने, त्यहींमाथि मेरो सेवाबाट खुसी पनि बने । आखिर आफूले गरेको सेवाबाट कोही खुसी हुन्छ भने त्योभन्दा आनन्ददायी कुरा अरू के हुनु ? उनलाई भेट्न छोराछोरी आउँथे । ‘मेरी नेपाली छोरीले सबै पुर्‍याएकी छे, चिन्ता नगर’ भन्दै मेरो बखान सुनाउँथे ।

यसैगरी पत्तै नपाई १ वर्ष बितेछ । प्रधानमन्त्री बेन्जामिनले उनलाई आफ्नो घरमा लाने भए । अनि मचाहिँ ? ‘छोरी, तिमी पनि मसँगै जाने,’ ससुराले मलाई पनि प्रधानमन्त्री निवास लाने भए । ‘ओहो प्रधानमन्त्रीको घरमा गएर बस्ने ?’ मनमनै मख्ख परें र कताकता ‘हँ साँच्चै हो र ?’ भन्ने पनि भयो ।

ओहो ! कत्रो बिल्डिङ, दरबारै जत्रो ! साँच्चै ठूला कोठाहरू । ‘मलाई त एउटा कोठाको एक छेउ बारेर दिए पनि काफी हुन्छ, धेरै सामान पनि छैन, लाजमर्नु के राखेर सजाउनु’ यस्तै सोचें । तर प्रधानमन्त्री निवासमा पुगेको केही दिनपछि मेरा सबै आशा र उमंग मर्दै जान थाले । हो, प्रधानमन्त्री पत्नी साराले निकै छुच्ची व्यवहार गर्न थालिन् । जतिबेला पनि काममा घोटिनुपर्ने, न सुत्ने ठेगान न त खानेकै । भोक लागेपछि पुलुक्क भान्सामा राखिएका खानेकुरा हेर्‍यो अनि घुटुक्क थुक निल्यो, खाने फुर्सद भए पो ! अनि निद्रा कहिल्यै नपुग्ने, सुत्ने कोठा दिएको भए पो ! शौचालय नजिकको एउटा फोल्डिङ खाट अट्ने कोठामा बस्नुपर्ने ! एक दिन हैन दुई दिन हैन, महिनौं बितिसक्यो मेरो दु:ख उस्तै ! किन बस्नु यहाँ ? काममा दु:खभन्दा पनि बढ्दा तनाव सहनुपर्ने । मैले घर फर्किने निर्णय लिएँ । अनि साराको बुबालाई भनें पनि, ‘बुबा म यहाँ बस्न नसक्ने भएँ, तपाईंको सेवा त गर्न मन छ तर वातावरण भएन ।’ उनी रोए । आँसु पुछ्दै हात जोडे र भने, ‘मेरो अवस्था हेर त तिमीभन्दा डरलाग्दो छैन र ? तिमी त धेरै बाँच्छौ तर म आज कि भोलि भएको छु, तिमी नै गयौ भने मलाई कसले हेर्छ यहाँ ?’ नेपाली मन न हो, पगलिहाल्यो । त्यहीमाथि क्यान्सरपीडित यी वृद्धको रुवाइले मलाई निकै भावुक बनायो ।

मानवीय नाताले गर्दा पनि मैले यी वृद्धको सेवामा कन्जुस्याइँ नगर्ने अठोट लिएँ । तर साराको मप्रतिको दृष्टिमा कुनै परिवर्तन आएन, बरु बढ्दै जान थाल्यो । उनको सबभन्दा सहनै नसक्ने बानी भने पटक पटक एउटै कुरो सोधिराख्ने । जस्तो बुबालाई औषधि खुवायो भनेर सोध्दा मैले भइसक्यो भनेर जवाफ दिन्थें । त्यही कुरा लगातार छिनछिनमा सोधिराख्ने । त्यतिमात्रै नभएर आफ्नो निजी सचिव, निवासका अरू कामदारमार्फत पनि सोध्न लगाउने । म अर्को पनि उदाहरण दिन्छु । एक दिन काम गरिरहेका बेला एक्कासि आएर छोराको टिसर्ट हराएकाले खोजिदिन अह्राइन् । मैले बुबाको कोठामा गएर खोजें । तर पाइन । त्यही खबर सुनाएँ । सारा भने जसरी पनि पत्ता लगाउनुपर्नेमा अड्डी राखिन् । मैले फेला नपारेको र शंका लागेमा आफ्नो लगेज हेर्नसमेत भनें । यो कुरोले ठूलो रूप लियो । केही दिनपछि छोरोले हराएको भनिएको त्यही टिसर्ट लगाएर आएपछि मैले साराको ध्यानाकर्षण जनाएँ ।

एक दिन एक्कासि उनले मलाई हप्काइन्, ‘तँ घर गइहाल’ । हँ ? मलाई खपिनसक्नु रिस उठ्यो । क्वाँक्वाँ रुन मन लागें । यो परदेशी ठाउँमा यसो २/४ पैसा कमाउन सकिन्छ कि भनेर घर छाडेर आएकी, कसैको गाली खान त हैन नि ! मैले मानवीयताका आधारमा साराको बुबालाई जसरी सेवा गरिरहेकी छु, यिनले मलाई पनि उस्तै व्यवहार गर्नुपर्ने हैन र ? उफ् !

मैले ‘पूरा तलब नदिई’ नजाने भनें । ‘तँलाई अहिले दिन्न, झोला बोक एयरपोर्टमा दिउँला तलब’ भनिन् । मलाई विश्वास लागेन । मेरो मासिक तलब ८ सय अमेरिकी डलर थियो । त्यतिखेर मेरो एजेन्सीबाट मान्छे पनि आएको थियो । हामी दुईबीच तलबको विषयमा विवाद बढेपछि ममाथि झम्टिन आई । पछि हट्दा ठोक्किएर मेरो औंला भाँचियो । आफूमाथि भइरहेको दबाबको विषयमा आफ्नी साथीलाई सुनाएँ । उसले यो विषय कबलाबेद (कामदारको पक्षमा वकालत गर्ने संस्था) को वकिलसँग राखिछे । वकिलले मसँग भेट गर्न चाहेछन्, भेटें र सबै कुरा उनलाई पनि भनें । उनले साराविरुद्ध मुद्दा हाल्न सुझाए, हालें । अनि कुरा सञ्चारमाध्यममा पुगिहालेछ ।

मलाई प्रधानमन्त्रीकैमा बसिरहनु नैतिक रूपमा ठीक लागेन । आखिर नेपाली पो हुँ त, किन झुक्नु ? मैले तत्काल काम छाडें र साथीहरूको फ्ल्याटमा सरें । अहिले यहीँ बसेकी छु ।

मेरो पक्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा विपक्षी दलका नेताहरू लागिपरेका छन् । साराविरुद्ध उजुरी परेपछि इजरायलमा समग्र आप्रवासी कामदारको सुरक्षा र अधिकारको विषयमा बहस सुरु भएको छ ।

म यही कोठाबाट सडकतिर हेर्छु, जनताहरू आन्दोलनमा उत्रिएका देख्छु । उनीहरूले मेरो पक्षमा प्लेकार्ड र ब्यानरहरू बोकेर ‘न्याय देऊ’ चिच्याइरहेका देख्छु । हस्ताक्षर अभियान चलाइरहेका बारे अखबार र टेलिभिजनमा खबरहरू आइरहेका सुन्छु । मलाई यहाँका सञ्चारकर्मीहरूले अन्तर्वार्ताका लागि धेरै फोन र खबर गर्छन् तर मैले केही बोलेकी छैन । उजुरी दिएपछिको पछिल्लो एक हप्तादेखि म सञ्चारकर्मीहरूको माझ पुन: दोहोरिएर गएकी छैन । साराको घरबाट निस्केपछि जेलबाट मुक्त भएको जस्तो लागेको छ । तनावले गर्दा मेरो अनुहारमा पोतोसमेत देखिएछ । अहिले म निकै आनन्दले कोठामै बसिरहेकी छु । कुनै तनाव छैन । मुद्दाको सबै काम मानव अधिकारकर्मीहरूले नै गरिरहेका छन् । आफैं लाग्नुपरेको छैन । म बसेको ठाउँ पनि सार्वजनिक गरेकी छैन । मैले न्याय पाउने सम्भावना पनि बढेको छ । न्यायपछि मात्रै नेपाल फ़र्कनेछु । तर प्रधानमन्त्री ससुराको भने माया लागिरहेको छ । कहिलेकाहीँ सपनीबाटै जुरुक्क उठेर ‘बा, तपाईंलाई कस्तो छ ?’ भन्दिरहेछु ।

तपाईको प्रतिक्रिया