Deneme Bonusu Veren Siteler
मंगलबार, साउन ०१, २०८१
Tuesday, July 16, 2024

घर पुग्न बिहान र बेलुका दुइ घन्टा नछुट्टाए हुन्न !

मैले अरु सबै समय काममा लाए नि यी दुइ घन्टा पर्छन् विशेष । जागिर, भेटघाट र किनमेल एउटै कालखण्डमा गाभ्ने गर्छु । तर घरबाट निस्कँदा र घर पुग्दाको दुई घन्टा विशेष हुन् मेरा निम्ति ।

यो बाटो म्यादले समग्र जीवन चलेको छ मेरो । मैले बाटो छुटाउनै पर्छ अन्यथा सारा योजना लथालिङ्ग हुन्छ, ल्याङफ्याङ हुन्छ र लल्याकलुलुक हुन्छ । यसैले सबै खाले लथालिङ्ग, ल्याङफ्याङ र लल्याकलुलुकबाट जोगिनँ मैले बाटाका लागि समय नछुट्टाईकन धरै छैन ।

 

पुरापुरा दुई घन्टा !

गाउँबाट राजधानी आउनेहरुलाई लाग्छ, बाटोले धनधान्य छ यो शहर । तिनले आँखाले नभ्याउने बाटो देखेर ज्रि्रो टोकेका हुन्छन् र प्रश्न गरेका हुन्छन्-कति मात्रै बाटो –

तर ती प्रश्न हामी यही बाटोमा रातोदिन जाम, भीड र ठेलाठेलमा अरगज्ज बनेर उभिरहनेहरुका लागि बाल-प्रश्न वा अबोध जिज्ञासा जस्तो लाग्ने गर्छ ।

बाटोसँग धेरै कुरा गाँसिएर एकाएक टुप्लुकिन्छन् । मानिसका अनन्त रुप यो बाटोमा छरपस्टिन्छन् । राज्य बन्छ निरीह । बाटोमा देशको कानुन कुनै पङक्तिमा थन्किएर बसेको हुन्छ । बाटो विजयी बन्छ, मौन देखापर्छ मुलुक ।

मैले बाटोलाई दिनै पर्छ दुई घन्टा ।यो मेरा लागि रहर वा आनन्दीको विषय भएन । यो मेरा निम्ति चाहना वा उत्साहको बोली नि भएन । मेरा लागि गौरव वा व्यग्रताको बिम्ब समेत रहेन यो ।

बरु हरेक दिन मैले अर्थहीन यी दुई घन्टा गुमाइरहेको छु । यी अमूल्य दुई घन्टा बेकार भइरहेका छन् । बेमोजमा मैले समय लगाइरहेको छु ।

 

बितेको समयभन्दा बिताउँदाको पीडाले घेरेको छ मलाई ।

अखबारमा खबर हुन्छ-बाटो म्यादी सूचना ।

अर्थात् कसैलाई डाक्नु वा बोलाउनै परे भनिएको हुन्छ-यति दिनभित्र वा बाटो म्याद यति समयभित्र कसै गरी आइपुग्नु ।

सम्भवतः टाढा वा धेरै परका मान्छेलाई कानुनी काइदामा चपक्क बाँध्न यो राष्ट्रिय बोली व्यक्तिएको हुनुपर्छ । भीरपाखा, नदीजँघार वा खोँचकन्दराबाट आउने समयावधिको एउटा साँध हो यो । तर हामी शहरबासीका निम्ति सुविधा र समृद्धिमा बाटो म्याद झन् आवश्यक भइसक्यो, अपरिहार्य बनिसक्यो ।

घाम टन्टलापुर लागोस् तर मैले बाटो म्याद नघाउन मिल्दैन कदाचित । हुरी बटारिएर हुइँकियोस् तर मैले बाटो छोट्याउन मिल्दैन किञ्चित् । अथवा सडकको नाराजुलुस, पुल्ठो, भाषणको भलपैरो यी सबैलाई मैले समाहित गर्नै पर्छ ।

 

‘बाटालाई नै देऊ समय !’

यो अघोषित भाव आजभोलि मैले सबैतिर सुनेको सन्देश हो । यो भावलाई प्रचार-प्रसार र बिस्तारका निम्ति र्सवत्र कानेखुसी गरेको नि देख्छु म ।

सजिलो छ-बाटाले पाउने समय हो बाटो म्यादीको अर्थ । बाटोले माग्ने गरेको अवधि नै बाटो म्याद हो ।

शब्दको सोझो अर्थ यहाँनिर अनन्यतम् हुँदै होइन ।

बाटो म्याद दिन लगाउने चरित्रको नियत र योजना आलोचनाको विषय हो, पक्ष हो । म यहीँनिर आफूलाई धेरै भुँवरीमा पार्न पुग्छु । घट्टमा पिँधिएको घुनजस्तो । अथवा कुलेसामा बगेको पतिङ्गरजस्तो ।

 

म्याद भन्नु समय त हो नि !

बाटाको माग जति छ-उसले पाउने समय नै बाटो म्याद हो । बुझ्न र मनन गर्न कुनै रगतको थोपा नजोस्याईकन बुझिने अर्थ हो यो । तर मेरा लागि त्यस परको स्थिति र अवस्थाले मन चिसो पार्ने भाव मुख्य कुरा परे ।

‘सुन्नु भो, हिँडे आधाघन्टा मोटर चढे एक घन्टा !’

‘जीवनको सुन्दर समय बाटोमै खर्च हुन्छ !’

‘जति बाटो उति समयको बर्बादी !’

यी सम्वाद हुन् सामान्य ।

कुराकानीमा घोचपेच मात्र छैन, उदासी छ । अझ बेथिति र बेकम्मा राज्यका नीति र योजनामाथि नजानिँदो आक्रोश पनि भेट्छु म ।

यहाँनिर आँफैलाई धक नलाग्ने गर्छ, बाटो म्याद अनुसारै घर पुग्छु वा जागिरमा पुगिरहेको छु । नियमिततालाई बाधा पारिहालेको छैन । हो, छोटो बाटो होस् कि चोरबाटो-समय मिलाउने प्रयास हुन्छ ।

तर धेरै पाटोमा बाटो म्यादको खिल्ली उड्दै गएको छ । बाटो म्यादले बोकेको मूल्यले घुँडा टेक्दै-टेक्दै गइरहेको पाइरहेछु म ।

बाटोलाई दिने केस्रा केलाउँछु समयका । आजभोलि हामी बाटोका गाजेमाजे हमलाका कति निरीह चोट र अव्यक्त रुवाबासीका चेपमा परिरहेका छौं ।

रोक्न र छेक्न नसकिएका पुराना गाडीहरु । ती पत्रु मोटर चलाउन पाउनु पर्छ भन्ने नारा, चर्का ध्वाँस र अप्रिय गालीहरुको श्रृङ्खला कति हो कति शहरमा ! खुइलिइसकेका सेता धर्सा बेवास्ता गरिएका सडक बत्तीहरु ।

हो, तिनले त्यत्तिकै बाटो म्याद बढाउँछन् हाम्रो ।

मृत्यु र जन्मको कुनै व्याकरण हुँदैन । अरु सबै जीवनलाई काँडा र फूलमा दगुराउने योजनाको फाइलमा उभ्याउन सक्छन् । तर मृत्यु र जन्मले समयका यी कुनै निश्चित् फग्लेटामा अचेटेर राख्न सकिरहेका हुँदैनन् ।

हामी यो कुरा अखबारको मुख्य पाटोमा सुनेर बिर्सिरहेका हुन्छौँ हरेक दिन । हामी खबरका प्रमुख अंशमा सम्पादन नहुने भाग भएर सुन्छौँ प्रत्येक रात ।

‘चितवनबाट बिरामीलाई थप तीन सिलिन्डर अक्सिजन दिएर पठाएको । तर जामले सब बर्बाद !’

‘ककनीकी गर्भिणीलाई दुई दिनपछि लाग्ने बेथा अघिल्लै दिन लाग्यो । तर सडकको जामले लग्यो उसलाई !’

यी कुरा मेरा छिमेकका हुन् ।

 

बाटो म्याद दिँदादिँदै पनि पार नलागेका घटना हुन् यी । यस्ता कहर र वेदनाका उरुङखात सुनिनसक्ना छन् अरु नि । अरु थुप्रै व्याकुलता र निर्मम पीडामा पिल्सिएर बाटो म्यादी बिलाप भन्नेहरु नभेटिने होइनन् ।

 

खेत खन्न जानेलाई बाटो म्याद । हलो जोत्नलाई लाग्ने बाटो म्याद । शिक्षक वा कर्मचारीलाई बाटो म्याद । घोत्लिहेर्दा अरु अनेक यस्ता पक्षहरु भेट्छु म । चिकित्सकदेखि घरगृहस्थीका थाङ्ना तह लाउने नेपाली ग्रामीण महिलाले लिने बाटो म्यादको ख्याल आउँछ ।

म एउटा पुरानो स्मृति ख्याल गरिरहेको छु यतिबेला ।

 

‘माइत पुग्न आधी घन्टा, घर फ़र्कन डेढ घन्टा । अरु बचेको समयमा आफ्ना खलकसँग भेटी घाम ढल्कँदा यो आँगनमा पाइला राख्नु ।’|

कडा सासू थिइन् एउटी दिदीकी ।

 

बूढीले दिएको बाटो म्यादबारे गहिरो अर्थ लगाउन खोजिरहेको छु । माइत पठाइरहेकी बुहारीलाई दिइएको बाटो म्यादभित्र बलियो ज्ञान भेटिरहेको छु म ।

‘दिदी, जाँदा आधी घन्टा, फ़र्कदा डेढघन्टा । यो मिलेन नि ! यति लामो बाटोलाई बराबरी हुनुपर्ने होइन र ? ‘

फटाफट लम्कँदै मैले सोधेको थिएँ ।

हिँडेको होइन दगुरेका हुन्थ्यौँ हामी दुई ।

 

‘माइत भनेको खुशीको ठाउँ भएकाले छिट्टै पुगिन्छ रे ! त्यसैले बाटो म्याद थोरै । घर भनेको बेरुचिको ठाउँ भएकाले साबिककै समय । त्यसैले बाटो म्याद धेरै !’

दिदीको उत्तरले मलाई रन्थनायो ।

 

यो कुरो मलाई आजका राजकाजीहरुलाई कानैमा गएर सुनाउने इच्छा छ नि ! के गर्नु बलवर्गत पुगेन मेरो ।

अनेक सम्झौता, अनेक तिकडम र अनेक खेलखेलाँचीसाथ बागडोर सम्हाल्नेहरुले पुग्नुपर्ने मोडका लागि लिएको बाटो म्यादको मूल्य कति बुझे ? अर्थात् छिचोल्न लाग्ने बाटो म्यादको मर्म कति मनन गरे –

 

बाटो-अरुले बनाएको हिँड्न पो कठीन हुन्छ । बाटो-अरुले खनिदिएको नाँघ्न पो असहज हुन्छ । बाटो-अरुले कोरिदिएको छिचोल्न पो सरम हुन्छ । तर सबैतिरका मसिना गोरेटा मासेर ठूलठूला राजमार्ग बनाएर मूलबाटोमा उभिएपछि बाटो म्याद पुगेन भनेर आलापविलाप गर्न सुहाउँछ ?

त्यसो गर्न सुहाउँछ कसरी !

 

मेरी दिदीको माइतजस्तो-राजकाज चलाउनेहरुले हर्षको घर पाएकै छन् नि । अब कर्म घरमा पुग्न किन अल्याङतल्याङ !

मलाई सधैँ लागिरहृयो-बाटोले निर्धारण गर्छ समयको ।

 

होइन रहेछ यो । मेरी दिदीको हैरानी र दगुरादगुर हेर्दा बाटो म्याद दिने नेतृत्वका कारणले परिणाम देखापर्दो रहेछ । समय छोट्याउन माइत जाँदा चाँडो र घर फ़र्कदा उही समय गर्नु हुन्थ्यो दिदी ।

 

मैले हाम्रो बागडोर चलाउने स्वाँठ र सन्त दुबै अनुहारमा आशााको कुनै प्रतिक्रिया देखेको छैन । अथवा भेटिन सक्ने कुनै धिपधिपे बत्ती समेत भेटेको छैन । यो महाशून्यता सबभन्दा भयानक हो, भयाकूल हो र भीषण हो ।

मेरो जीवनको दुई घन्टा बाटोमै जान्छ ब्यर्थसाथ ।

 

जाडोका छोटा दिनहरु । आराम, तातो वा हतारमा यो दुई घन्टा थप्नु पर्छ मैले । गर्मीका बाफ़्फ़िदा दिनहरु । चिसो, थकान वा आलस्यमा यो दुई घन्टा थप्नुपर्छ मैले बाटोलाई ।

 

निरर्थक छ । यो जानेको छु । जानेर, थाहा पाएर वा ज्ञात भएरै पनि सडकले पाएको बित्थाको दुई घन्टालाई सरकारी करजस्तो मैले नतिरी सुखै छैन । बरु खान लाग्ने समय छोट्टयाउने । सुत्न पाएको समय घटाउने ।

मनोरञ्जन वा प्राज्ञिक बहसलाई प्राप्त अवधि बिर्सिदिने । भोज वा छलफलमा आएको अवसर थाँती राखिदिने ।

अनि बाटोलाई सुम्पिदिने ठ्याक्कै दुई घन्टा !

विश्वविद्यालयको चिन्तन भर्सरै परोस् । प्रज्ञाको मन्थन थलै परोस् । गुरुकुलको काव्ययात्रा जेसुकै होस् । सर्बनामको नाटक जेसुकै होस् ।

म यी कुनै समारोहतिर अलिक समय दिन नसक्ने भएको छु ।

 

नत्र सडकले समय कम पाउँछ । बाटोले म्याद थोरै पाउँछ । राजमार्गले अल्प समय पाउनु भनेको म बेलामा घर नपुग्नु हो । मेरा पछाडि रहेका थुप्रै जिम्मेवारी, अर्थ, महत्व र कर्तव्य क्रमशः पछाडि पर्छ अनि ।

बाटो म्याद तोकिसकेपछि कति धेरै गाह्रो।

 

घरमा न तरकारीको स्वाद हुन्छ । न गालामा दल्न भ्याइन्छ ग्लिसरिन । छिमेककी एउटी विधवाको उदास ओठ पढ्न भ्याइन्छ न त । खल्तीमा कन्चाकन्ची राख्न पनि पो नभ्याइने ।

 

बाटो म्याद पाएपछि जसरी नि पुग्नैपर्ने । यो नियम कसैले अटेर गर्ने कुरो भएन । कसैले पो नमानिहाले जागिरमा स्पष्टिकरण, व्यापारमा घाटा, पढाइमा गयल । अझ मनभरि थपिने धेरै खाले कौलासा वा हैरानी ।

 

मलाई बाटो म्यादले थप्पड हानेको छ धेरै पटक । दहचोकमा घर हुनेहरु, नाङ्लेभारेमा घर हुनेहरु र तिनपिपलेमा घर हुनेहरुको रुवाबासी धेरैधेरै सुनेको छु मैले । दक्षिणकाली, बनेपा वा भट्टेडाँडा घर हुनेहरुका व्यथा छन् झन् चर्का ।

 

काममा आउँदा र जाँदाको समय र पैसाले तिनलाई पत्ताल पुर्‍याइसकेको हुन्छ । आधा मासु पारिसकेको हुन्छ तिनलाई । झिरको मासु भएर घर र कार्यालयको कर्तव्य धानिरहेका हुन्छन् ती । ‘रिङ रोडभित्र हुन्छ जागिर । अब घर छोडी न त डेरा लिनै मिल्ने !’

 

यो कुरामा बाटो म्यादले हुँडलेको वेदना भेटिन्छ । आधा सरो बितिरहेको कुदाकुद र चोट देखिन्छ यहाँ । बिजोग र बेपत्ताले थला काढेको कृपण अनुहार भेटिन्छ यहाँ ।

 

बाटोलाई सजिलो बनाउन सक्ने व्यवस्था कहाँ छन् ? बाटोलाई सुविधायुक्त बनाउन सक्ने विधि कति बने ?

यी दुई कुरा प्रमुख हुन् बाटो म्यादीका ।

 

बिहान पनि हस्याङफस्याङ । बेलका पनि हानाथाप । यी दुबै अनुशासित काम हरेक साँझ र बिहान भइआएका छन् । तर्ल्याङतुर्लुङ झुण्डिएर मोटरमा जानु सभ्यतासँगै डोरिएको अहम् पक्ष हो ।

 

गाली, धम्की, घम्साघम्सी र हेलाहाँसो त बाटोम्यादमा पचिरहेकै कुरा परे । यस्तो लाग्छ-ती गहना हुन् यो हिँडाइभरिका । कदाचित ती नपाए कता के-के खल्लो भयो ! यो भावना उम्रिन्छ हृदयभरि ।

 

झलमल्ल बिहान दिन्छु म बाटोलाई र हात पर्छ रुग्ण साँझ ! बाटोले यसरी हरेक दिन मबाट दुई घन्टा निःशुल्क लिने गर्छ । मैले थुप्रै पहाडका रङहरु हेर्न पाउँदिन । थुप्रै नदीका कलकल गुमाउँछु यही दुई घन्टामा । धेरै नानीहरुका आँखाका कोशमा पट्ट फुटेका सुनौला सपना पढ्न पाउँदिन ।

बाटोले मेरा कन्पारा फुलाएर उदासतिर धकेल्दैछ, गाला चाउरी पारी उराठतिर घचेटिरहेछ र ओठमा कलेटी पारेर उजाडतिर घिच्च्याइरहेछ ।

 

जितेको कुनै ज्ञान कहिल्यै भइरहेको छैन । हारेको ठूलै सङ्केत जहिल्यै भइरहेको छ मलाई । कसैले नखोजून् प्रमाण । कसैले कुनै आधार वा तर्क नसोधेकै राम्रो ।

 

बाटो म्यादमा मेरो पराजय भएकै छ । बिहान र बेलुका खर्चेको यो अनमोल समयलाई बागडोर हाँक्नेहरुका अगाडि बेतुक र बित्थाको विषय हो । राजकाज चलाउनेहरुले हामी सबैलाई बाटो म्याद दिएर ती बेफुर्सद भइरहेका छन् ।

 

यो देशको नयाँ नक्सा कोर्न बसेकाहरुले पाएको बाटो म्याद त नघिसक्यो नि ! थप्ने र ? कति थप्ने बाटो म्याद, छ सय एक टाउकालाई ?

तपाईको प्रतिक्रिया