सोमबार, जेठ १४, २०८१
Monday, May 27, 2024

एउटा बालक हत्याको अभियोगमा जापानी नागरिक तोसिकाजु सुगाया टोकियो अदालतको निर्णयमा जेलहरूमा लगातार १७ वर्षसम्म बसे । आफू दोषी नरहेको भन्दै पुनः सुनुवाइका लागि जति नै अपिल गरे पनि कहीँकतैबाट पार नलागिरहेका बेला उनी निर्दोष भेटिए, सन् २००९ मा ।

विकास र प्रगतिको गतिलो सूचकांकमा उभिएको ‘एसियाली बाघ’ जापानको न्यायप्रणाली र संयन्त्रमाथि टीकाटिप्पणी भइरहेका बेला सन् १९९७ देखि यस्तै अर्को संशयको मुद्दा त्यहाँको न्यायालय, कानुनी समूह र प्रहरी-प्रशासनमा छाएको छ । पूर्वी नेपाल इलामका ४४ वर्षे गोविन्दप्रसाद मैनालीको यस्तै अभियोग र प्रकरण बितेका १४ वर्षमा जापानको न्यायप्रणालीको परीक्षण-आधार रहिआएको छ ।

जापानको शिबुया क्षेत्रको कासुया बिल्डिङको ४०१ नम्बर कोठामा बस्ने ३९ वर्षीया यासुको वातानावेको बलात्कार, हत्या र उनका साथमा रहेको ४० हजार येन (साढे ३ सय डलर) रुपैयाँ चोरी भएको आरोपमा हिरासत हुँदै कारागार-जीवन बेहोरिरहेका गोविन्दको न्यायिक लडाइँमा लाग्नेहरू आज नेपालीभन्दा बढी जापानी शुभेच्छुकहरू देखिएका छन् । यसमाथि आरोपित कारण र अभियोगको अन्तिम आधार मानिने डीएनए परीक्षण गर्दा गोविन्द निर्दोष रहेको पाइएपछि एक महिनायताको माहोल बाहिरी विश्वको मिडिया जगत्लाई समेत गतिलो खुराकको विषय बनेको छ ।

इलामबाट उठेर

इलामकै शान्तिपुर गाउँकी राधा दाहाल र गोलाखर्क गाउँका गोविन्दप्रसाद मैनालीबीचमा स्कुले उमेरदेखिकै प्रेम थियो । यही प्रेमको छहारीका आडमा २०४८ सालमा गोविन्द-राधाले गाउँमै बिहा गरे । खानलाउनमा प्रशस्ती भएको र गाउँघरमा सामाजिक चिनारीका लागि पनि कहलिएको परिवार भए पनि गोविन्द केही सपनामुखी थिए । त्यसबेला २६ वर्षीय गोविन्दले बाहिरी देशदुनियाँको सपना देखे । खानलाउन नपुगेर होइन, जापानजस्तो मुलुकको सम्पन्नता र सक्षमता हेर्नका लागि उनले टोकियो जाने निधो गरे जहाँ उनकी ठूली दिदी उर्मिला पनि थिइन् । दुईवटा कलिला छोरीहरू मिथिला र एलिसालाई छाडेर २०५० सालमा गोविन्द जापान उडेका थिए ।

तीनमहिने टुरिस्ट भिसामा जापान पुगेका गोविन्द एक इन्डियन रेस्टुरामा वेटर बनेका थिए । यता श्रीमती र परिवारका लागि पैसो पठाउन सक्ने उनको आधार बनिसकेको थियो । श्रीमती राधाका अनुसार गोविन्द जापान गएपछि गाउँ नजिकैको एक फोन पसलमा गएर बारम्बार बुढाबुढीबीचमा फोनमा कुराकानी हुने गथ्र्यो ।

‘१९९७ को मार्च २२ मा उहाँ प्रहरीबाट पक्राउ पर्नुअघि पनि आफ्नो अपार्टमेन्ट प्रहरीले घरेको, सुरक्षा धेरै रहेको भन्दै जानकारी दिइरहनुभएको थियो । दिदी उर्मिलाले ओभरस्टे गरेका कामदारलाई तर्साउन त्यसो गरिएको हुन सक्ने भनिरहनुभएको थियो,’ काठमाडौं, शंखमुलमा तिनै गोविन्दको मिहिनेतको कमाइले किनेको घरमा बसिरहेकी श्रीमती राधाले सुनाइन्, ‘पछि उहाँ पक्राउ पर्नुभयो । उहाँलाई सुरुमा ओभरस्टेको अभियोग र पछि एकाएक युवती हत्याको आरोप लाग्यो भनेपछि हामी छाँगाबाट खसेसरि भएका थियौं ।’ छोरामाथि आइलागेको बात सुनेर उमेरमा बुढ्यौली बेहोरिरहेका ६८ वर्षीय पिता जयप्रसाद मैनाली, आमा चन्द्रकलासँगै श्रीमती राधा र आफन्तजनहरू कति रुवाबासीमा डुबेका थिए भन्ने गोलाखर्कवासीलाई अझै सम्झना छ ।

रुवाबासीबीचमा आशा र खुसीका खबर पनि आइरहे । हिरासतमा रहेकै बेला सन् २००० को अपि्रलमा टोकियो जिल्ला अदालतका न्यायाधीश तोशीकाजु ओबुउचीले गोविन्दका पक्षमा एउटा निर्णय सुनाए, ‘गोविन्दले युवती हत्या गरेको कुनै प्रमाण पाउन सकिएन । यो अभियोग केवल एउटा संयोग र अनिणिर्त कुरा मात्रै हो ।’ हो, यो निर्णयपछि गोविन्द हिरासतमुक्त भए । गोविन्दका दाजु इन्द्र मैनालीका अनुसार त्यो मुक्तिपछि घर फिर्ने क्रममा आवश्यक ‘क्लियरेन्स’ र ट्राभल-डकुमेन्ट प्रक्रियामा अध्यागमन पुगेका बेला फेरि अर्को अभियोग लगाएर पक्राउ गरिएको थियो ।

त्यसपछि जापानमा रहेका गोविन्द मैनालीको सम्पूर्ण मुद्दालाई नजिकबाट हेर्नुपर्ने भएपछि र बालबच्चा पढाउने सुविधामा समेत २००३ देखि मैनाली परिवार काठमाडौं सरेको थियो । गोविन्दको परिवारमा अहिले ७७ वर्षीया आमा चन्द्रकला, ३८ वर्षीया श्रीमती राधा, २० वर्षीया छोरी मिथिला र १८ वर्षीया छोरी एलिसा एकसाथ छन् । उनका पिता जयप्रसादको ८६ वर्षको उमेरमा चार वर्षअघि निधन भइसकेको छ ।

नउठेको न्यायको आवाज

जिल्ला अदालतले गरेको निर्णय उल्टाएर फेरि सर्वोच्च र पुनरावेदनले गोविन्दलाई दोषी देखाउँदै कारागारमा राखेको अवस्थामा सन् २००३ देखि गोविन्दको न्याय र जीवनरक्षामा एउटा समिति बन्यो, ‘जस्टिस फर गोविन्द : इन्नोसेन्स एड्भोकेसी ग्रुप’ । यसमा तोयोहिसा आजुमा, जुन्को हासुमी, मिकिको क्याकुनो, राजन प्रधानाङ्ग, इमाइ क्यो हाइ, रिसा कुमानो र क्यु एन काइ (संस्था) को सक्रियता आजसम्मै उल्लेख्य रहिआएको छ ।

एम्नेस्टी इन्टरनेसनल, इन्हुरेड, नेपाली टाइम्स (पत्रिका) र केही विदेशी समाचार संस्थाले गोविन्दको न्यायिक अधिकारको पक्षमा आवाज उठाए पनि राज्य तहमा यो कुरा चासोमा पर्न सकेन । गोविन्दका दाजु इन्द्रका अनुसार जापानमा रहेका तत्कालीन राजदूत केदारभक्त माथेमाले कूटनीतिक मर्यादाभित्रै पनि अनौपचारिक तवरमा समेत गोविन्दलाई घर फर्काउन र कानुनी लडाइँमा भरथेग गर्न दिएको साथ सधैं उत्तिकै उल्लेख्य रह्यो । तर त्यसपछि पनि न दूतावास न सरकारले आफ्नो नागरिकका लागि केही आवाज उठाउन सके । ‘भाइको डीएनए नतिजाको नयाँ खबर आएपछि दुई महिनाअघि परराष्ट्र मन्त्रालयमा सचिव डा. मदनकुमार भट्टराईलाई भेटेर न्यायिक लडाइँ र जीवनरक्षाका लागि आवेदन दिएका छौं, यसमा अरू पहल के भइरहेको छ, थाहा भएन,’ इन्द्र भन्छन् ।

यस बीचमा सन् २००१ पछि श्रीमती राधा नौ पटकसम्म श्रीमान् गोविन्द भेट्न जापान पुगेकी छन् भने सन् २००५ मा आमा चन्द्रकला, सन् २००७ मा दुई छोरी र दाजु इन्द्र पनि थुप्रैपटक टोकियो पुगेका छन् । यसपटक पनि यही सेप्टेम्बर १६ मा (भदौ ३०) मा श्रीमती राधा र दाजु इन्द्र टोकियोस्थित सरकारी वकिल (वादी) कार्यालय र टोकियो उच्च न्यायलयमा गोविन्दको मुद्दालाई ‘रिट्राइल’ गराउने माग लिएर जापान जाँदै छन् ।

गोविन्दको डीएनए परीक्षणमा नयाँ नतिजा आएपछि गत साउन २५ मा पक्षधर कानुनी समूहले सर्वोच्च अदालतमा नयाँ मुद्दा दायर गरेका थिए । त्यसपछि वादी र प्रतिवादीसहित अदालतले त्रिपक्षीय बैठक राखेर डीएनए प्रमाणबारेमा राय के छ भनी सरकारी वकिल पक्ष (वादी) लाई सोधिएको थियो । त्यसपछि वादी पक्षले गोविन्दको विपक्षमा कुनै नकारात्मक उजुरी नल्याएमा उच्च न्यायालयले कुनै पनि बेला उनलाई कारागारमुक्त गर्न सक्नेछ ।

नमिल्दा कुराहरू

शिबुया क्षेत्रको कासुया बिल्डिङको ४०१ नम्बर कोठामा ३९ वर्षीया यासुको वातानावे बस्थिन् जसको बलात्कारपछि हत्या र उनका साथमा रहेको ४० हजार येन (साढे ३ सय डलर) रुपैयाँ चोरी भएको अभियोग गोविन्दमाथि लगाइएको छ । कासुया बिल्डिङबाट १ सय मिटरको दूरीमा रहेको किज्यु-सो बिल्डिङको १०१ नम्बर कोठामा बस्थे गोविन्द । टोकियो इलेक्टि्रक पावर कम्पनीमा काम गर्ने वातानावे राम्रै जागिरमा रहेर पनि पेसेवर यौनकर्मीसमेत रहेको पछि थाहा भएको थियो । यी युवतीको हत्या भएको १० दिनपछि शव फेला पारिएको थियो ।

गोविन्दका दाजु इन्द्रका बुझाइमा १४ वर्षअघिको एउटा हत्या प्रकरण र अभियोगमा संकलन गरिएको कन्डोम, वीर्य र रौंको डीएनए नतिजा अहिले मात्रै बाहिर आएकामा सिधै अचम्म मान्नुपर्ने स्थिति छ । यो अभियोग लाग्नासाथ डीएनए परीक्षण हुनुपर्ने आवाज उठाउँदै आएकामा ढिलोगरी अपुष्ट शैलीमा परीक्षणको काम भएको छ । ‘राम्रो अध्यनअनुसन्धान नगरी र परीक्षणका आधार नकेलाई फैसला हुनु र एउटा व्यक्तिलाई आजीवन कारावाससम्मको सजाय सुनाइनु कानुन पद्धतिको ठूलो कमजोरी हो जस्तो लाग्छ,’ इन्द्र भन्छन् ।

गोविन्दका बाल्यकालीन साथी एवं आफन्त पुण्य शिवकोटी पनि स्वभाव, आनीबानी र मिलनसार स्वभावका माझ हुर्किएको एउटा व्यक्तिको जेलजीवन सम्झना गर्न पनि नसकिने अनुभव सुनाइरहेका थिए । ‘गोविन्दमाथि लागेको व्यक्ति हत्याको अभियोग पत्याउन त के सुन्न पनि नसकिने प्रकृतिको छ,’ उनले थपे, ‘यो अन्यायको कुरालाई राज्य तहबाट उठाउनुपर्नेमा अहिलेसम्म निजी र व्यक्तिगत तहमा मात्रै सीमित छ ।’

श्रीमती राधा पनि एउटा निर्दोष नागरिकले १४ वर्षसम्म अनाहकमा पाएको हैरानी र सास्तीको कुनै मूल्य र लेखाजोखा नभएको बताउँछिन् । ‘माफी मिनाहा गरेर घर ल्याएको भए जमानामा ल्याइन्थ्यो होला । तर अब भने जसरी भए पनि क्षतिपूर्ति लिनुपर्छ, यसमा पहल हुनैपर्छ’, श्रीमती राधाले भनिन्, ‘बरु म बुढो होइन्जेलसम्म मुद्दा खेप्छु, तर क्षतिपूर्तिसहितको न्याय लिएर मात्रै फिर्छु भनेर उहाँले भन्नुभएको छ ।’ यसैबीच पत्रकार माइकल होफम्यानले जापान टाइम्समा हालै गरेको एउटा रिपोर्टिङमा अनुमानित ढंगमा क्षतिपूर्तिको कुरा उठाइएको छ । उनका अनुसार गोविन्दको निर्दोषिता ठहर भएमा र क्षतिपूर्ति प्रक्रियामा गएमा ठूलो अनुपातमा क्षतिपूर्ति रकम पाउनेछन् ।

अहिले जापानका अधिकांश मिडियामा गोविन्दको कानुनी अधिकार र कमजोर अनुसन्धान संयन्त्रका बारेमा दिनहुँजसो चर्चा हुने गरेको छ । जापानको लोकपि्रय योमुरी दैनिकले हालैको आफ्नो सम्पादकीयमा लेखेको छ, ‘डीएनए परीक्षणका नतिजाहरूले विगतमा भएका प्रहरी अनुसन्धान र जाँचपड्ताललाई उल्टाएपछि अब सर्वोच्च अदालतले गोविन्द मैनालीको केसमा स्पष्ट धारणा बनाउनैपर्ने हुन्छ ।’

जेलमा के गर्छन् गोविन्द ?

बितेका १४ वर्षको हिरासत र कारागार जीवनमा गोविन्दले केकति चिठीपत्र श्रीमती, छोरीहरूलाई पठाए भन्ने अनुमान संख्यामा गन्न गाह्रो छ । सन् २००४ यता भने उनी नियमित डायरी लेखिरहेका छन्, भरिएका जेल डायरीहरू तिथिमितिसहित घरमा श्रीमती राधालाई पठाइरहेका छन् । श्रीमती राधाका अनुसार लेखपढको समयसँगै कागजको झोला बनाउने, कभर बनाउने काममा पनि लागिपरेका हुन्छन् गोविन्द ।

‘उहाँले भागवत गीताको पुनव्र्याख्या गर्दै पुस्तक लेख्नुभएको छ । भगवान् कृष्ण, जिसस, बुद्ध सबैलाई आफू निर्दोष रहेको भन्दै असंख्य पृष्ठहरूमा सत्यको सधैं जित हुने आशा जनाउनुभएको छ,’ श्रीमती राधाले सुनाइन् । दैनिकी र डायरीका पानाहरूमा एउटा पर्खालभित्रको जिन्दगीका भोगाइ, अनुभव र हररात हुने ऐठन र सपनाको वृतान्त लेखिएको छ ।

यसभन्दा अघि बढेर डायरीमा जापानी, अंग्रेजी र नेपाली भाषामा एकसाथ मनका गुम्फनहरू पनि कोरिएको छ । अझ रमाइलो त के छ भने नेपालबाट निस्केका अधिकांश चलेका वा नाम सुनिएका पुस्तकहरू गोविन्द जेलभित्र पढिरहेका छन् । अनि पढिसकेका पुस्तक फेरि काठमाडौं घरमा फिर्ता पठाउँछन् उनी । ‘जीवन : काँडा कि फूल’, ‘घनचक्कर’, ‘जेल जर्नल’, ‘पल्पसा क्याफे’, ‘राधा’, ‘दुर्भिक्ष’, ‘तीन घुम्ती’, ‘निर्वासन’, ‘सोच’, ‘लक्ष्मी निबन्ध संग्रह’, ‘ह्यारी पोर्टर’ (नेपाली अनुवाद), ‘आखेट’ लगायतका दर्जनौं पुस्तक गोविन्दले पढिसकेका रहेछन् ।

डायरीका पानाहरु

  • १५, १६, १७ तारिक पनि कागजको झोला बनाउने काम भयो । १८ तारिक बिहान १० बजेतिर एक्कासि काम बन्द गर भनेर जेलरले अर्डर गर्‍यो । दिउँसोको १ बजेतिर आठ तलाबाट भुइँतलामा सबै सामान ल्याई आफूले राख्ने सामान (लुगा, किताब इत्यादि) राखेर अरु बाँकी हुलाकमार्फत आजुमाजीको ठेगानामा श्रीमती राधालाई पठाएँ । त्यसपछि सम्पूर्ण आफ्ना लुगा फुकालेर जेलको युनिर्फम लगाएर कपाल खौराएँ र उही पुरानो कोठा ४४ नम्बरमा ल्याएर थुनेँ । र, भोलिपल्ट जेल सार्ने कुरा जेलरले सुनायो । जेल सार्ने हुँदा मनमा कुरा खेलेर निद्रा लागेन । योकोहामा जेल लाने कुरा जेलरले सुनायो । योकोहामा जेल पहिलेदेखि एकदमै कडा छ भन्ने कुरा साथीहरु र वकिलबाट सुनेको थिएँ । त्यहाँ चैं जानु नपरोस् भनेर जेलरलाई भनेँ । (१५, १६, १७, १८, १९ जनवरी, २००४, कोसुगे जेल)
  • मैले यहाँ जापानबाट फर्केपछि एउटा यस्तो योजना बनाएको छु, उद्देश्य छ एउटा सुन्दर घर बनाएको छु । मेरा छोरीहरुलाई राम्रो बोर्डिङ स्कुल पठाई राम्रो शिक्षा दिने अनि एउटा मोटरसाइकल र एउटा कार किनेर आफ्नो परिवारसँग सुन्दर एवं रमणीय ठाउँहरु डुल्नघुम्न जाने र घरमा मीठो-नमीठो खानेकुरा खाई खुसीले जिन्दगी बिताउने र मेरा बाबुआमाको उमेर धेरै भइसकेकाले धार्मिक तीर्थस्थलको दर्शन गर्न लैजाने र दुःखी गरिबमाथि जहिले पनि सेवाको भावना राख्ने इच्छा छ ।
  • साह्रै मीठो निन्द्रा लाग्यो, पटक-पटक बिउँझिए तापनि । हिजो जेलरले कम्प्युटर सिक्न इच्छा भएकाले आज अनुरोध गर्नु भनेको थियो । बिहान अनुरोध गरेँ, यद्यपि छानिन्छु या छानिन्नँ, उनीहरुको हातको कुरा हो । अंग्रेजी लिपिमा सिक्न पाइन्छ, पाइँदैन, थाहा छैन । जेलर (बुचो) लाई सोधेको थाहा छैन भन्यो । जापानी लिपि (भाषा) मा त सिक्न गाह्रो हुन्छ । पातलो डसना लगेर, नयाँ बाक्लो जाडोमा बिछ्याउने डसना दियो । आज एक डल्लो साबुन मागेँ । दिनको खानामा राइस, मासको ड्राइ कर्टी, माछा (बोइल्ड गरेर नुन छर्किएको), मिसोन्दोफु सुप थियो । पिंध र मुखमा गत्ता भरेँ, करिब २०० वटा झोलामा । ३ बजे मैदानमा लग्यो । ५ राउन्ड दौडिएँ । डिपअप ५० पटक गरेँ । कर्नरमा बसेर एकछिन अखबार हेरेँ । मैदानबाट फर्केर बढार्न लगायो । मैले चिसो बढेकाले खुट्टा धोइनँ, बढी चिसोमा देबे्रे खुट्टाको घुँडामुनि राति दुखिरहन्छ । (१६ नोभेम्बर, २००४, योकोहामा जेल)
  • आज छुट्टी । गए महिनादेखि महिनामा दुई दिन विशेष बिदा दिन थालेको छ । तर यस छुट्टीमा बिहानदेखि साँझ टिभी, रेडियो हेर्न-सुन्न पाइँदैन । दिउँसो सुत्न पनि दिँदैन । दुईपटक रेडियो व्यायाम गर्न दिन्छ । पत्रपत्रिका पढ्न दिन्छ । साँझ ५ बजेदेखि ९ बजेसम्म टिभी हेर्न दिन्छ । यस्तो छुट्टीभन्दा काम नै ठीक हुन्छ । कोठामा पत्रिका मात्रै पढेर, सुत्न नपाई (जाडामा) समय कटाउन गाह्रो हुन्छ । एउटा हिमाल पत्रिका पढेर सिध्याएँ । बिहान चिकन रोस्ट, मिसोसुप, राइस थियो । दिउँसो ओदेङ राइस, वाकामेसुप थियो भने बेलुका पाइड चिकन, राइस मिसोसुप आदि थियो । चिकन एकदम मीठो लाग्यो । (१७ नोभेम्बर, २००४, योकोहामा जेल)
  • राति निन्द्रा राम्रै लागे पनि सपना कहिल्यै राम्रो देखिनँ । गाउँको एउटा दोकान घरमा राखेको दराज-सोकेसमा लास सुताएको रहेछ, ओढ्नेले छोपेर । दोकानभरि पाकेको केरा झुन्ड्याएका रहेछन् । नजिकै क्यामराबाट फोटो खिचिँदै थियो । म हाफ-पेन्ट लगाएर खाली खुट्टा ओहोरदोहोर गर्दोरहेछु । दिउँसोबाट सहन नसक्ने गरी देब्रे कोख दुखिरहेको छ । दिनको खाना आज मीठो थियो । तोङकाचु (सुँगुरको मासु जापानी तरिकाले पाइड गरेको), सलाद दुई प्रकारको, पेन्च (काँक्रो, अनारस, क्याबेज) र क्याबेजको थियो । तोङकाचु हत्केलोजत्रो पिस थियो । (२२ नोभेम्बर, २००४, योकोहामा जेल)
  • त्यसै तनाव भएर राति निन्द्रा लागेन । त्यसैले बिहानबाट तनाव कम गर्ने औषधि (फुवान्जी) सेवन गर्न थालेँ । आमा र श्रीमती राधा जापान आउन्जेल खानुपर्‍यो । निन्याउरो, अस्वस्थ अनुहार देखाएमा आमा, राधेले चिन्ता गर्ने भएकाले त्यतिन्जेलसम्म औषधि खाएर तनावरहित भएर प्रस्तुत हुनुपर्‍यो । आठ नम्बरमा नुहाउने पालि भएकाले ३:३० मा काम बन्द गरेँ । पत्रपत्रिका नभएकाले एकछिन जापानी भाषा (शब्द ज्ञान) सिकेँ । करिब १ सय वटा कागज टेप लगाई पट्याएर झोला बनाएँ । (१५ फेब्रुवरी, २००५ योकोहामा जेल)
  • हिजो कोठा र ट्वाइलेट सफा गरेँ । अकारण डर, चिन्ता हुन्छ, त्यसैले सुत्दा विभिन्न कुरा मनमा खेलेर निद्रै लाग्दैन । आज दिउँसो दुई बजे एक घन्टा टीबीएस टिभीमा भारतको कलकत्ता, अलाहबाद, इलाहाबाद, राजस्थान, कलकत्ता, गंगानदी र त्यसको उद्गमस्थल, हिन्दु धर्म-संस्कृति, रहनसहन देखाएको थियो । बढी चैं हिन्दुहरूले गंगातटमा पूजापाठ गरेको देखाएको थियो । एकछिन भए पनि नेपालको झझल्को लाग्यो । (१२-१३ फेब्रुवरी, २००५ योकोहामा जेल)

 

छोरालाई देखेँ, छुन पाइनँ

चन्द्रकला मैनाली, आमा

म छोरालाई भेट्न जापान गएकी थिएँ । जेलमा मलाई लगेका थिए । मलाई देख्नेबित्तिकै उसका आँखा आँसुले भरिएर आए । ‘आमा म निर्दोष छु, एकदिन भगवान्ले देख्नेछन्’ भन्यो । सिसाको पर्खालमा छोरालाई देखेँ, उसको बोली सुनेँ । तर छुन पाइनँ ।

म उसलाई सम्झेर दिनरात रून्छु । ‘छोरो आउँछ’ भन्दाभन्दै बा पनि ८६ वर्षको उमेरमा बित्नुभयो । उसका बुबाले भने छोरो भेट्न जापान जान मान्नुभएको थिएन । उहाँ पनि बित्नु अघिसम्म मेरो छोरो निर्दोष छ भनिरहनुभएको थियो ।

भलाई भन्नुस् त बाबु, यो संसारले ‘गोविन्दले हत्या गरेको कुरा सत्य होइन रहेछ’ भनिरहेको छ । अब पनि जापान सरकारले उसलाई छोडिदिँदैन होला त ?

 

अब त आँखामा आँसु सकियो

राधा मैनाली, श्रीमती

२ वर्ष र छ महिनाका छोरीहरु मेरा काखमा छाडेर उहाँ जापान जानुभएको हो । यिनलाई हुर्काउन र बढाउनमा बेहोरेको सास्ती म भन्न सक्दिनँ । सुरूमा रोएरै म अन्तरवार्ता दिन्थेँ, अरुसँग कुराकानी गर्थेँ । अब भने आँसु सकिएजस्तो लाग्छ । उहाँ नहुँदाको मनग्गे पीडा भोगिसकेकी छु । आर्थिक स्थितिले होइन, मानसिक पीडा डरलाग्दो रहृ्यो । तर अहिले भने पाकिसकेकी छु ।

हो, म पनि एकल महिलाका रुपमा बस्नुपर्‍यो । तर सधैंभरि मलाई घरपरिवारको सहयोग रहृ्यो, सासूससुराको साथ रहृ्यो । म गाउँमा महिला स्वयंसेविका, जिल्ला वन कार्यालयमा पनि व्यस्त रहेँ । टेन्सनका बेलामा सामाजिक कामहरुमा बढी घुलमिल गरेँ । मेरो २१ वर्षे उमेरदेखि एक्लै संघर्षमा रहेकी मसँग घरपरिवारको साथ थिएन भने के हुन्थ्यो होला ?

मैले अमेरिकी राष्ट्रपति विल क्लिन्टनको मोनिका-काण्ड सुनेकी छु । तर मेरो आत्मबल एकदमै भिन्न छ सधैंभर । उहाँ निर्दोष हुनुहुन्छ भन्ने जहिल्यै मलाई लाग्यो र लाग्छ । उहाँसँग मेरो प्रेमविवाह भएको हो । यसकारण पनि म मेरा श्रीमान्का पक्षमा उभिन सक्छु ।

मेरा श्रीमानको १४ वर्ष लामो जीवन खेर गएजस्तो भएको छ । अब के गर्ने ? उहाँ मलाई निर्धक्क भएर घरव्यवहार चलाएर बस भन्नुहुन्छ । हो, म प्रतीक्षामै बसेकी छु । आर्थिक दुःख केही कुरामा छैन । जग्गाजमिन जति पनि छ, सम्पत्ति छ ।

स्रोतः देवेन्द्र भट्टराई/कान्तिपुर

तपाईको प्रतिक्रिया