शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

नागोया – विश्वकै सबैभन्दा धेरै आत्महत्या दर भएको जापानमा नेपालीहरुको पनि आत्महत्या गर्ने क्रम बढेपछि सबैलाई चिन्तित बनाएको छ । जापानको मियाजाकीमा श्रीमान् संगै बस्दै आएकी सुत्केरी महिला आश्मा श्रेष्ठले गत १८ तारिख झुण्डिएर आत्महत्या गरिन् । नेपालको सिन्धुपाल्चोककी उनको एक महिनाको काखे छोरी पनि छिन् । विद्यार्थी भिसामा जापान आएकी उनले अर्को विद्यार्थी दिपक नेपालीसंग प्रेमबिबाह गरेकी थिइन् । त्यसपछि आश्मा डिपेण्डेन्ट भिषामा रहेकी थिईन् । के कारण उनले आत्महत्या गरिन् त ? अहिलेसम्म त्यसको कारण खुलिसकेको छैन । अन्तरजातिय बिबाहका कारण उनले आत्महत्या गरेकी हुन् त ? कहाँबाट प्रेसर थियो उनलाई ? काखे बालक छोडेर आत्महत्या गर्न बाध्य किन पर्‍यो ? के यो समस्याको समाधान हो त ? सबैलाई सोच्न बाध्य बनाएको छ ।

त्यस अघि मात्रै जापानकै नागोया सहरमा बागलुङका ३७ बर्षीय मधु आचार्यले पनि झुण्डिएर नै आत्महत्या गरेका थिए । श्रीमतीसंगै जापानमै बस्दै आएका उनीहरुका ५ बर्षीय छोरी नेपालमा छिन् । केहि महिना पहिला नागोयामा विद्यार्थी भिसामा आएका युवकले पनि झुण्डिएर नै आत्महत्या गरेका थिए । अध्ययनकै सिलसिलामा नै जापानको फुकुओकामा आएकी टिना गुरुङले पनि आत्महत्या गरेकी थिइन् । काठमाडौंका जोन लामाले टोकियोमा आफु बस्दैं आएको कोठामानै झुण्डिएर आत्महत्या गरेका थिए । टोकियोमानै बिद्यार्थीका रुपमा आएकी सानुकुमारी तामाङले पनि झुण्डिएरै आत्महत्या गरिन् । आफन्तको आग्रह अनि जापानमा रहेका नेपाली समुदायको पहलमा उनको शव नेपाल लगि अन्तिम संस्कार गरिएको थियो । खर्चिलो हुने हुदाँ धेरैले शव नेपाल लैजान सक्दैनन् ।
जापानमा आत्महत्या गर्नेहरु प्रायले डोरी लगाएरु झुण्डिएर गर्ने गरेको पाईएको र यसा गर्नेहरुमा धेरैजसो बिद्यार्थीहरु रहेको तथाङ्क छ । आत्महत्याका कारण बिश्वलाई नै टाउको दुखाईको बिषय बनेको अवस्थामा जापानका नेपाली समुदायलाई पनि नेपालीहरुको आत्महत्या गर्ने संख्या बढ्दै जाँदा चिन्ताको बिषय बनेको छ ।

बिश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष बिश्वमा १० लाख मानिसले आत्महत्या गर्ने गर्छन् । बिश्वको जनसंख्यालाई हेर्ने हो भने प्रत्येक ४० सेकेण्डमा एक ब्यक्तिले आत्महत्या गर्ने गरेको पाईन्छ । आत्महत्याको मुख्य कारण मानसिक समस्याले हुने एक अध्ययनले देखाएको छ । डा. कमल गौतमका अनुसार ९५ प्रतिशत आत्महत्या गर्ने मानिसहरु कुनै न कुनै प्रकारको मानसिक रोग हुने गरेको छ ।

जापानको सन्दर्भमा यहाँ सोचेझैं उपलब्धि र सन्तुष्टि धेरै कमलाई मात्र हासिल हुने गर्छ । जापान आउनु अघि हामीहरु ठूलो सपना बुनेर आएका हुन्छौं । सानोतिनो खर्चले जापान आईदैन । चर्को ऋण खोजेर जापान आएका धेरै छन् । भनेजस्तो नभएपछि पारिवारिक कलह पनि सुरु हुने, नैराश्यता उत्पन्न हुने र मानिसहरुले त्यसलाई सन्तुलितरुपले ब्यवस्थापन गर्न नसकेपछि आत्महत्या रोज्ने गरेको पाईन्छ । जस्तोसुकै समस्या आउँदा पनि धैर्यता अनि आत्मविश्वासका साथ डटेर अघि बढ्न सके यस्ता समस्याबाट पार पाउन सकिन्छ । तपाई हामी अनि हाम्रा निकटका व्यक्तिहरु पनि आत्महत्याको शिकार हुन सक्ने हुँदा सबै समयमै सचेत हुन जरुरी छ ।

जापानमा भयावहरुपमा बढ्दै गईरहेको नेपालीहरुको आत्महत्याको दरलाई न्यूनीकरण गर्न नेपाली राजदूतावास, सरोकारवला अन्य निकाय तथा संघसंस्था एवं मिडिया क्षेत्रकाबीच आवश्यक छलफल तथा अपेक्षित पहलकदमी हुन सकेको छैन । चाहे जुनसुकै प्रयोजनका लागि भए पनि कम्तीमा पनि नेपालबाट जापान आउनुअघि नेपालमै जापानको बारेमा यथेष्ट पूर्व जानकारी गराउने ब्यवस्था हुन सके धेरै हदसम्म नियन्त्रण हुने देखिन्छ । पूर्व जानकारीले मात्रै पनि मानिसहरुमा मानसिकरुपमा पूर्व तैयारी अवस्थामा रहन सक्ने र समस्यासंग जुध्नसक्ने आत्मबल प्रदान गर्ने हुँदा विशेष गरी नवागन्तुकहरुका लागि नेपालमा र जापानमा पनि यस्तो खालको सेवा आवश्यक देखिन्छ ।***

तपाईको प्रतिक्रिया