बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

मुम्बई –चर्चित पाकिस्तानी कलाकारलाई भारत प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ । प्रशासित कश्मिरको पुलवामा सैनिकमाथि भएको आत्मघाती हमलापछि पाकिस्तानी कलाकारलाई बलिउडमा काम गर्न रोक लगाउन माग गरिएको हो ।

आइतबार फेडेरेशन अफ वेस्ट इन्डिया सिने इम्प्लोइज् (Federation of Western India Cine Employees) , इन्डियन फिल्म एण्ड टेलिभिजन डाइरेक्टरस् एसोसियसन (Indian Flim & Television Director’s Association) (IFTDA) लगायत २४ फिल्म संघले र्‍यालीको आयोजना गरेर बलिउडमा पाकिस्तानी कलाकारलाई काम गर्न प्रतिबन्ध लगाउन माग गरेका थिए ।

भूषण कुमारको कम्पनी टि–सीरिजले यूट्युब च्यानलबाट सबै पाकिस्तानी गायकको गीत हटाएको छ । टि–सीरिजले १५ फेब्रवरीमा पाकिस्तानी गायक राहत फतेह अली खानले गाएको गीत ‘जिन्दगी’ लन्च गरेको थियो  । कम्पनीले अहिले यूट्युव च्यानलको साथसाथै अन्य सामाजिक सञ्जालमा भएको म्यूजिक भिडियो पनि हटाएको छ ।

पुलवामा भएको आतंकवादी हमलाको बलिउड कलाकार सलमान खान, शाहरुख खान, प्रियंका चोपडा, आलिया भट्ट, अमिर खान, विकी कौशल, शबाना आजमी तथा अन्यले सामाजिक सञ्जालमा कडा निन्दा गरेका थिए ।

यसैगरी, फिल्म अभिनेत्री शबाना आजमी र लेखक जावेद अख्तरले पुलवामा भएको हमलापछि कराची जाने योजना रद्ध गरेका छन् ।

तपाईको प्रतिक्रिया