शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं– जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको छ। जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परिक्षामार्फत कामदार आपूर्ति गर्न यसअघि प्रस्तावित ७ देशमा नेपाललाई पनि थप गरिएको हो।

कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसँग छलफल भइरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो। प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको छ।

यस बारेमा जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था एनएचकेले खबर सम्प्रेषण गरेको छ। यस नियम लागू भएसँगै नेपाली युवाका लागि जापान प्रमुख रोजगार गन्तव्य देशका रुपमा विकास हुने अनुमान गरिएको छ।

सोमबार जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो। एक हप्तापश्चात् मन्त्रालयले आवश्यक पक्रियामा छलफल गरी उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराइने बताइएको छ।

जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित हुनसके कामदार आपूर्ति गर्ने देशहरुसँग सम्झौता भई जापानमा काम गर्न जाने विदेशी कामदारका हकमा सहज हुने आँकलन गरिएको छ। नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ।

जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि जापान सरकारले सम्झौता हुने दुई देशबीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना पनि अघि सारेको छ।

प्राविधिक तथा सिप परिक्षाको तयारी सुरु

जापानको न्याय मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीहरुसहित जापानमा आउने विदेशी कामदारहरुलाई शान्त वातावरणमा बस्ने व्यवस्था मिलाउनका लागि तयारी पनि गरिरहेको बताइएको छ। जापान सरकारले विभिन्न देशमा श्रम सहयोग केन्द्र खोल्ने तयारी समेत गरिरहेको समाचारमा उल्लेख छ।

जापानले भियतनाम, फिलिपिन्ससहित केही एसियाली देशमा प्राविधिक तथा सिप परिक्षा लिने आन्तरिक तयारी पनि थालिसकेको छ। आगामी अप्रिल महिनाबाट अर्धदक्ष र दक्ष कामदारको रुपमा दुई वटा भिषा प्रक्रियाबाट जापान आन चाहने विदेशी कामदारले अनिवार्य भाषा र सिप परीक्षा दिनुपर्ने छ।

विभिन्न सरकारी सेवा, स्वास्थ्य सेवा, विपदका बेला दिइने सूचना, मोबाइल सेवा, सवारी चालक अनुमति पत्र लगायतका विदेशीहरुले प्रत्यक्ष सेवा लिन भाषागत समस्या भएका क्षेत्रहरुलाई समेत थप विस्तार र सुधार गरी विदेशी कामदारमैत्री बनाउने तयारी थालेको छ। प्रयोगकर्ताको सहज सेवाका लागि जापानी बाहेक अन्य भाषामा समेत यस्ता सेवा दिने तयारीमा जापान सरकार रहेको छ।

विद्यार्थीहरुका लागि काम गर्ने क्षेत्र फराकिलो हुने

जापान सरकारले अन्तर्राष्ट्रिय श्रम बजारबाट रोजगारीका लागि वर्षेनी ठूलो संख्यामा विदेशी श्रमिक भित्र्याउने घोषणा गरिसकेको छ।

जापानले कृषि, स्वास्थ्य, उद्योग, कियरगिभर र सुरक्षा गार्डमा विदेशी कामदार लिने जनाएको छ। हाल अध्ययनका लागि नेपाली विद्यार्थी भिसामा जापान गइरहेका छन्। ५६ हजारभन्दा धेरै विद्यार्थी अध्ययनका लागि जापान पुगेका वैदेशिक रोजगार शैक्षिक परामर्श केन्द्रको तंथ्याकमा उल्लेख छ।

जापानमै अध्ययन गरिरहेका विद्यार्थीहरुको हकमा जनवरीदेखि नै लागू हुनेगरी हाल बन्देज लगाइएका क्षेत्रहरुमा पनि रोजगारीका लागि अवसर प्रदान गरिने भएको छ। जसले स्कुलस्तरको अध्ययन सकेर पनि आफ्नै पढाइको क्षेत्रमा काम गर्न नपाउनेहरुका लागि पनि थप अवसर सिर्जना हुने अनुमान गरिएको छ। ***

तपाईको प्रतिक्रिया