शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जापानमा रहेका नेपालीहरुलाई देशमा लगानी, सीप र प्रविधि भित्र्याउन आग्रह गरेका छन् । पाँचदिने औपचारिक भ्रमणमा रहेका मन्त्री ज्ञवालीले नेपाली दूतावासद्वारा आयोजित रात्री भोजमा आफ्नो भ्रमणको उद्देश्य बारे जानकारी समेत गराएका थिए ।

उहाँले नेपालको पछिल्लो राजनैतिक स्थायित्वले आर्थिक समृद्धिको ढोका खुल्दै गरेको र यही समयमा देशमा लगानी भित्र्याउन पर्नेमा जोड दिएका थिए । भ्रमणमा जापान सरकारका परराष्ट्र र कृषि मन्त्रीसँगको भेटघाटमा नेपालको रेल, सडक, उर्जा, कृषिमा आधुनिकीकरण लगायतका विषयमा सहयोगको लागि छलफल हुने बताउनुभयो ।

नेपाल र जापानबीचको विगतका सम्बन्ध र सहयोगको स्मरण गराउँदै मन्त्रीले आगामी दिनमा पनि सहयोग र सम्बन्धमा सुमधुरता रहिरहने कुरामा आफू आशावादी रहेको बताउनुभयो । जापानमा रहेका नेपालीहरुले देशमा लागानी भित्र्याउनको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै ज्ञवालीले नेपाल जापान सीधा हवाइ सेवा चाडै नै शुरु हुने कुराको जानकारी गराउँदै त्यसले नेपाल घुम्न जाने जापानी पर्यटकको संख्यामा बढोत्तरी आउनुका साथै जापानी लगानी नेपालमा भित्र्याउन प्रोत्साहन मिल्ने बताउनुभयो ।
विदेशी कामदार भित्र्याउने जापान सरकारको विधेयकको विषयमा जापान सरकारका प्रतिनिधीहरुसँगको भेटमा कस्तो सीप भएका र कति संख्यामा भित्र्याईने हो र नेपालबाट पठाउने विषयमा पनि छलफल गरिनेछ भन्नुभयो । त्यसो त मन्त्रीले छिट्टै नै स्वदेशमा रोजगारीको सिर्जना गरी विदेशमा कामदार नपठाउने नीति सरकारको रहेको पनि उल्लेख पार्नुभयो ।

कार्यक्रममा नेपाल जापान संसदिय समुहका सचिब तथा जापान संसदका सदस्य तादाहिको इतोले नेपाल-जापान सम्बन्ध निकै पुरानो र प्रगाढ रहेको उल्लेख गर्दै दुई देशबीच प्राकृतिक प्रकोपका समयमा हुने गरेका सहयोगले त्यसको पुष्टि गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा राजदूत प्रतिभा राणाले सहभागी सबैमा धन्यवाद ब्यक्त गर्दै दूतावास नेपालको हितका लागि काम गरिरहेको बताउनुभयो ।***

तपाईको प्रतिक्रिया