शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – सार्बजनिक यातायातका क्रममा हुने यौनजन्य हिंसाबाट बच्न आरक्षणको ब्यवस्था हुनुपर्ने पक्षमा टोकियोका महिलाहरु उभिएका छन् । महिलाहरुका लागि आरक्षण सिटका सम्बन्धमा टिका टिप्पणी र आलोचना भईरहेको भए पनि जापानी महिलाहरु आरक्षणको पक्षमा उभिएका हुन् ।

थोमसन रायटर्स फाउण्डेशनले हालै गरेको सर्बेक्षणअनुसार उनीहरु आरक्षणको पक्षमा उभिएका हुन् । बिश्वका पाँच प्रमुख सहर टोकियो, लण्डन, न्यूयोर्क, मेक्सिको र कायरोका महिलाहरुबीच बिहीबारसम्म गरिएको सर्बेक्षणमा महिला आरक्षणको निकै आलोचना भईरहे पनि कतिपयले सार्बजनिक यातायातमा आधा जति सिट महिला तथा अशक्तहरुका लागि हुनुपर्ने धारणा आएको फाउण्डेशनले जनाएको छ ।

जापानको राजधानी टोकियाका अधिकांश महिलाहरुले भने सार्बजनिक यातायातमा सुरक्षा उनीहरुको लागि पहिलो चिन्ता हुने गरेको बताएका छन् । उनीहरुले आरक्षण सिट भएमा यौनजन्यहिंसाबाट निश्चिन्त भएर यात्रा गर्न सकिने मत जाहेर गरेका छन् । यद्यपि केहीले भने निर्वाधरुपमा सार्बजनिक यातायात गर्न सकिने आत्मबिश्वास ब्यक्त गरेका थिए । उनीहरुले आफुमा आत्मबिश्वास भएमा अरुबाट पीडित हुने भयको स्थिति नआउने राय पनि ब्यक्त गरे ।

मेक्सिको र कायरो सहरका महिलाहरु पनि जापानी महिलाहरुसंग समान धारणा राखेका छन् । उनीहरुले महिलाका लागि आरक्षण सिट भएमा निर्धक्कसंग सुरक्षित यात्रा गर्न सकिने बताएका छन् । तर लण्डन र न्यूयोर्कका ३० प्रतिशत भन्दा कम महिलाहरु मात्र आरक्षण सिटको पक्षमा देखिएका छन् । उनीहरुका लागि सुरक्षा भन्दा महंगो यातायात खर्च र समयको प्रेसर ठूलो चिन्ताको बिषय भएको बताए ।

टोकियोको शिबुयामा भेटिएकी २२ बर्षिय युनिभर्सिटी विद्यार्थी चिहिरो आसाहीले महिलाका लागि आरक्षण सिट भएको सार्बजनिक यातायातमा सुरक्षित महशुस गर्न सकिने बताईन् ।
टोकियो महानगरपालिकाले सार्बजनिक यातायातका क्रममा हुने यौनजन्यहिंसा रोक्न यथासंभवका प्रयासहरु गरिरहेको भए पनि गत वर्ष सन् २०१७ मा १७५० वटा उजुरी मध्य दुईतिहाई जति यात्राका क्रममा र स्टेशनमा भएका यौनजन्य हिंसासंग सम्बन्धित उजुरी रहेको महानगरिय प्रहरी स्रोतले जनाएको छ ।

टोकियो महानगरपालिकाका प्रवक्ताले महिला यात्रुबाहक मेट्रोमा उनीहरु शान्त दिमाखले यात्रा गर्न पाउने धारणा ब्यक्त गरेका छन् । तर यो खालको नीतिले भेदभाव एवं संकिर्णताको आभास दिलाउने अभ्यास भईरहेको टिप्पणी आईरहेको सर्बेक्षणले जनाएको छ ।

मनिलास्थित एशियन बिकास बैंकका निर्देशक समेत रहेका यातायात विज्ञ जेम्स लेदरले महिला यात्रुहरुका लागि यौनजन्य हिंसाबाट सुरक्षित यातायात सेवा प्रवाह गर्न संवेदनशील रुट र स्थानहरुमा थप मापदण्डसहित स्मार्ट सुरक्षा ब्यवस्था गरिनुपर्ने बताए ।

ट्रान्सपोर्ट फर लण्डनका नीति ब्यवस्थापक मन्दी म्याकग्रेगरले सामान्य विवाद रहे पनि लण्डनमा यातायातमा महिला आरक्षण बारे कुनै योजना नरहेको बताए ।

मेक्सिकोका युनिभर्सिटी विद्यार्थी ग्युदालिप दोमिनग्युज भन्छिन – ’यातायातमा महिला आरक्षण समस्याको समाधान होइन, प्रायः ब्यस्त समय र रातीको समयमा यसप्रकारका घटना बढि हुने हुँदा त्यस समयमा अरु पुरुषहरु पनि हुँदा थप सहज हुन्छ ।’

घना जनघनत्व रहेको जापानको राजधानी टोकियोमा बिहान कार्यालय जाने समय र फर्कने समयको सार्बजनिक यातायातमा हुने भिडमा प्रायः महिलामाथि यौनजन्य दूर्ब्यवहार हुने गरेको पाईन्छ । यसलाई जापानी भाषामा चिकान भनिन्छ । समयको चाप, कामको प्रेसर र शारिरीक थकानका कारण सबै पीडितहरुसंग उजुरी गर्ने झमेलातिर लाग्ने फुर्सद नहुने हुँदा कतिपय अवस्थामा यस्ता घटना बाहिर नआउने गरेको बताईन्छ।

यात्राका क्रममा महिलामाथि हुने यौनजन्य दूर्ब्यवहार (चिकान) पनि जापानको एउटा टाउको दुखाईको बिषय भएको छ । हुन त यो समस्या नेपाल लगायत बिकासोन्मुख मुलुकहरुमा पनि नभएका होइनन् । महिलामाथि यौनजन्य दूर्ब्यवहार भएको आरोपसहित पीडितले मौखिक उजुरी दिएमा सुरक्षा निकायले कडाभन्दा कडा ठाडो कार्बाही हुने जापानमा यसप्रकारका घटनामा यदाकदा नेपालीहरु पनि कार्बाहीमा परी देश निकाला भएको समाचार बेला बेलामा आउने गरेका छन् ।

सभ्य, सुसंस्कृत, शालिन र शिक्षित देशका जापानी महिलाहरु आफु जे चाहन्छन् अरुबाट पनि सोही बमोजिमको शिष्ट ब्यवहारको अपेक्षा गर्ने गरेको एक अध्ययनले देखाएको छ ।
बिश्वका अन्य प्रमुख सहरका महिलाहरुभन्दा टोकियोका जापानी महिलाहरुमा अझै सार्बजनिक यातायातमा यौनजन्य दूर्ब्यवहारको चिन्ता कायमै रहेको र उनीहरु सुरक्षित र निश्चिन्त यात्रा गर्न चाहेको सर्वेक्षणले देखाएको छ ।*** एजेन्सी

तपाईको प्रतिक्रिया